+
+

बढ्न थाल्यो गोलभेँडा र प्याजको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते २१:०२

१७ कात्तिक, काठमाडौं । गत भदौ ३० गते औसत ७ रुपैयाँ प्रतिकलो थोक मूल्य रहेको सानो गोलभेडाको भाउ कात्तिक १५ गते ८५ रुपैयाँ पुग्यो । त्यतिबेला १२ रुपैयाँ रहेको टनेलको गोलभेडाको मूल्य पनि कात्तिक १५ गतेसम्म आइपुग्दा ८५ रुपैयाँ नै पुगेको छ ।

भदौ ३० गते नै ४१ रुपैयाँ थोक मूल्यमा खरिद बिक्री भएको सुकेको प्याजको मूल्य कात्तिक १५ गतेसम्म आइपुग्दा ६१ रुपैयाँ पुगेको छ । यो अवधिमा सानो गोलभेडाको मूल्य किलोमा ७८ रुपैयाँले बढ्यो भने टनेल गोलभेडाँको मूल्य ७३ रुपैयाँले ।

यस्तै सुकेको प्याजको मूल्य किलोमा २१ रुपैयाँ वृद्धि भयो । थोक बजारमै अश्वाभाविक रुपमा बढेको गोलभेडा र प्याजको भाउ खुद्रा बजारमा कम्तीमा १५ देखि २० प्रतिशतले बढेर खरीद बिक्री हुने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

होलसेलमै ८५ रुपैयाँ पर्ने गोलभेडाको खुद्रा मूल्य एक सय रुपैयाँ भन्दा बढी हुने विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । ‘अहिले थोक मूल्यअनुसार गोलभेडा र सुकेको प्याजको मूल्य क्रमश एक सय रुपैयाँ भन्दा माथि र ९० रुपैयाँ हाराहारी हुने अनुमान गरिन्छ,’ उनले भने ।

किन बढ्दैछ गोलभेडा र प्याजको भाउ ?

नेपालमा टनेलमा उत्पादन हुने गोलभेडाको उत्पादन कम हुँदै गएपछि बजार मूल्य पनि बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बुझाइ छ ।

असार र साउनमा अधिक उत्पादनका कारण ८ रुपैयाँमा पनि नबिकेको गोलभेडाको माग अहिले पनि उस्तै रहेको र बजारमा उत्पादन भने निकै कम रहेको बजार विकास समितिका सूचना अधिकारी श्रेष्ठ बताउँछन् ।

जेठको अन्तिमबाट बजार आउन थालेको स्वदेशी गोलभेँडाले लामो समय राम्रो बजार नपाएको उनको भनाइ छ । ‘चाडपर्व सुरु भएपछि माग उचालियो, उत्पादन घट्दै गयो,’ उनले थपे ‘यहीबेला बेला भारतबाट पनि अभावकै कारण गोलभेँडा आयात भएको छैन,असीमित माग, सीमित उत्पादन र भारतीय गोलभेडा काठमाडौं नआउँदा उपभोक्ता मूल्य गोलभेडामा बढेको हो ।’

यस्तै प्याजको मूल्य बढ्नुमा भारतीय बजार नै प्रमुख कारण भएको कालीमाटी फलफूल विकास समितिले जनाएको छ । नेपालको प्याज बजारमा स्वदेशी उत्पादनको हिस्सा शून्य जस्तै रहेको विकास समितिले जनाएको छ ।

हरेक वर्ष भारतीय बजारबाट आयात हुने भएकाले प्याजको मूल्य भारतमा उपलब्धतासंग गाँसिएको सूचना अधिकारी श्रेष्ठको बुझाइ छ । भारतमा अधिक उत्पादन भए घट्ने र कम उत्पादन भए मूल्य बढ्ने अवस्थाले नेपाली बजारमा मूल्य निर्धारण भइरहेको छ ।

वर्षायममा उत्पादन हुने मौसमी तरकारी निख्रिदै गएको र नयाँ तरकारी बजारमा नआइसकेकाले सबैखाले तरकारीको मूल्यमा केही चाप परेको विकास समितिले जनाएको छ । बजारमा अहिले दैनिक करिब ५ लाख किलो हरियो तरकारी भित्रिएको पनि विकास समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?