+
+

लक्ष्मीपूजाको दिन कहाँ-कहाँ बाल्ने बत्ती ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते ११:५७

लक्ष्मीपूजा उज्यालोको पर्व हो । औंसीको रातमा घरभरि झिलिमिली बनाएर माता लक्ष्मीको विशेष पूजा गरिन्छ । कतिपय घरमा लक्ष्मी मातासँगै भगवान् गणेशको पनि पूजा गरिन्छ । लक्ष्मीपूजाको राति माता लक्ष्मीले धर्तीको भ्रमण गर्छिन् भन्ने धार्मिक मान्यता छ । जसका कारण लक्ष्मीपूजाको राति मानिसहरूले आफ्नो घरको मुख्य ढोका खुल्लै राख्नुपर्छ भन्ने मान्यता छ । ताकि माता लक्ष्मी उनीहरुको घरमा प्रवेश गरेर सधैंका लागि उनीहरुकै घरमा विराजमान हुन् ।

पूजाका साथै लक्ष्मीपूजाको राति दियो बाल्नु पनि शुभ मानिन्छ । तर कहाँ-कहाँ बत्ती बाल्ने भन्ने कुरा धेरैको चासोको विषय हो ।

कहाँ-कहाँ बाल्ने बत्ती ?

सामान्यतया घरको सबैतिर उज्यालो हुनेगरी बत्ती बाल्ने चलन छ । तर सामान्यतया निम्न ठाउँमा पूजा बत्ती बाल्ने चलन छ ।

पीपलको मुनि

लक्ष्मीपूजाको राति गणेश-लक्ष्मीको पूजा गर्नुभन्दा पहिला पीपलको रुखको मुनि एउटा दियो बाल्नुपर्छ । दियो बालेपछि तपाईंले पछाडि फर्केर हेर्नुहुँदैन । लक्ष्मीपूजाको राति यसो गरेमा जीवनमा धनसँग सम्बन्धित समस्याहरुलाई सामना गर्नै पर्दैन भन्ने धार्मिक विश्वास छ ।

कुनै सुनसान स्थानमा

यदि तपाईंको घरको नजिक कुनै सुनसान स्थान छ भने लक्ष्मीपूजाको राति उक्त स्थानमा दियो बाल्नुपर्छ । त्यसो गर्नाले तपाईंको घरको सुख-शान्ति र रौनक सधैं बनिरहन्छ भन्ने धार्मिक विश्वास छ ।

घरको पूजा कोठामा

आफ्नो घरको पूजा कोठा अर्थात् मन्दिरमा पनि दियो बाल्नुपर्छ । उक्त दियो लक्ष्मीपूजाको रातभरि निभ्नु हुँदैन भन्ने मान्यता छ ।

चौबाटोमा

घर नजिकै चौबाटोमा पनि लक्ष्मीपूजाको राति दियो बालिदिनुपर्छ । यसो गर्नाले जीवनमा पैसासँग सम्बन्धित समस्याहरु हल हुन्छन् भन्ने जनविश्वास छ  । चौबाटोमा चार मुख भएको दियो बाल्नुपर्छ । यसो गर्नाले तपाईंले चारैतिरबाट राम्रा खबरहरू सुन्न पाउने धार्मिक विश्वास छ ।

बेलको रुखमुनि

लक्ष्मीपूजाको साँझ बेलको रुखमुनि दियो बाल्नाले भगवान् शिवको कृपा तपाईंमाथि पर्नेछ भनिन्छ । महादेवको कृपाले तपाईंको जीवनका सबै समस्या चाँडै समाधान हुने विश्वास गरिन्छ ।

घरको मुख्य ढोकामा

लक्ष्मीपूजाको दिन घरको मुख्य ढोकाको दुवैतर्फ दियो बाल्नुपर्छ । यसो गर्नाले घरमा प्रवेश गर्ने नकारात्मक ऊर्जाको प्रभाव कम हुने धार्मिक विश्वास छ ।

घर नजिकैको मन्दिरमा

घरको नजिकै कुनै मन्दिर छ भने त्यहाँ पनि लक्ष्मीपूजाको राति दियो बालेर आउनुपर्छ । यसो गर्नाले तपाईंले एकै साथ धेरै देवी-देवताहरूको आशीर्वाद पाइने धार्मिक विश्वास छ ।

घरको आँगन

आफ्नो घरको आँगनमा पनि दियो बाल्नुपर्छ । यदि घरको आँगनमा तुलसीको मठ छ भने त्यसको नजिकै दियो बाल्नुपर्छ । उक्त दियो पनि रातभरि बल्नुपर्छ भन्ने धार्मिक मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?