+
+

मनोरञ्जन र एक्सनले भरिएको ‘सूर्यवंशी’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १९ गते १७:४०

१९ कात्तिक, काठमाडौं । करिब दुई वर्षयता सुस्ताएको मनोरञ्जन दुनियाँलाई चलायमान बनाउने अपेक्षाका साथ शुक्रबारबाट विश्व बजारमा बलिउड चलचित्र ‘सूर्यवंशी’ रिलिज भएको छ ।

निर्देशक रोहित सेट्टी र उनको टिमले दुई वर्षदेखि यो चलचित्रलाई हलमा रिलिजका लागि प्रतीक्षा गरेको थियो । चलचित्रलाई हलमा हेर्दै गर्दा रोहितले लिएको निर्णय सही लाग्छ । किनकि, ‘सूर्यवंशी’ जस्तो चलचित्रलाई हलमा हेर्नुको मज्जा नै बेग्लै छ ।

भारतका विभिन्न स्थानमा आतंकवादी हमलापछि पर्दामा ‘सूर्यवंशी’ अर्थात् अक्षय कुमारको इन्ट्री हुन्छ । यसपछि अक्षय भारतका विभिन्न राज्यसँगै मुम्बईमा आतंकवादी हमलालाई रोक्न लागिपर्छन् । प्रहरीको सेवामा काम गर्दै जाँदा कैयौं पटक उनले आफ्नो ज्यानको बाजी लगाएका छन् भने कैयौं पटक आफ्नो परिवारसँग टाढा बसेका छन् ।

आफूसँग काम गरेका साथीहरुलाई उनले गुमाएका छन् । तर, पनि उनी मुम्बईका विभिन्न ६ स्थानमा आतंकवादीहरुले गर्न लागेको हमलालाई रोक्न सफल हुन्छन् । यसमा उनलाई ‘सिंघम’ अर्थात् अजय देवगण र ‘सिम्बा’ अर्थात् रणवीर सिंहले साथ दिएका छन् । चलचित्रको कथा साधारण छ । तर, यसलाई जुन तरिकाले पर्दामा रोेहितले प्रस्तुत गरेका छन् त्यो बेजोड लाग्छ ।

यो स्टारहरुले भरिएको एक्सन चलचित्र हो । जसलाई रोहित सेट्टीले उनकै स्टाइलमा बुनेका छन् । चलचित्रभित्र प्रस्तुत गरिएका केही एक्सनका दृश्यहरु बेजोड छन् । चलचित्रमा समावेश गरिएको हेलिकप्टरमा एक्सनको दृश्य, मुम्बईका विभिन्न ६ स्थानमा राखिएको बमलाई निष्क्रिय गर्नका लागि प्रयोग गरिएका हेलिकप्टरको दृश्य गज्जब लाग्छ ।

यी बाहेक चलचित्रको अन्तिम ३० मिनेटमा अजय, अक्षय र रणवीरको केमेष्ट्रीले दर्शकमा छुट्टै उत्साह पैदा गर्छ । यही चलचित्रबाट रोहित र अजयले ‘सिंघम ३’ पनि चाँडै दर्शकमाझ आउने संकेत दिएका छन् । नायिका कट्रिना कैफ पर्दामा कम देखिन्छिन् । रविना टण्डन र अक्षय कुमारले नृृत्य गरेको ‘टिप टिप वर्षा पानी’ बोेलको रिमेकमा कट्रिनाले आकर्षक नृत्य गरेकी छन् ।

अक्षय कुमारको नाम बिर्सने बानीले दर्शकलाई हसाउँछ । रणवीर सिंहको इन्ट्रीसँगै उनको ‘सिम्बा’ शैलीले एक्सन हेरिरहेका दर्शकलाई फ्रेस गराउँछ ।

यति मात्र होइन, चलचित्रले विश्वमा एउटै धर्म हुने हो भने मानिस-मानिसबीच युद्ध नै हुँदैनथ्यो भन्ने सन्देश प्रवाह गरेको छ । गणेशको मन्दिर उठाउन नसकेका पुजारीलाई सहयोग गर्न मुस्लिम धर्मावलम्बीहरु मन्दिरभित्रै प्रवेश गरेको दृश्यले दर्शकलाई भावुक बनाउँछ ।

समग्रमा ‘सूर्यवंशी’ एउटा ठूलो स्केलको एक्सन चलचित्र हो । जसलाई रोहित सेट्टीले धमाकेदार शैलीमा बुनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?