+
+

‘क्रिस ४’ बाट सुपरहिरोको रोलमा फर्किंदै ऋतिक रोशन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २० गते १६:४९

काठमाडौं । बलिउडको लोकप्रिय सुपरहिरो पात्र ‘क्रिस’ पर्दामा फर्किने भएको छ । फ्रेन्चाइजको पछिल्लो श्रृंखला ‘क्रिस ३’ सन् २०१३ मा रिलिज भएको थियो । विगत ११ वर्षदेखि ‘क्रिस ४’ बारे निरन्तर चर्चा भइरहेको छ । फ्यान पनि यसको प्रतीक्षामा छन् ।

यसैबीच, चौथो सिक्वेलको निर्देशकबारे चर्चा बलिउडमा गर्माएको छ । ‘वार’, ‘पठान’ र ‘फाइटर’जस्ता फिल्म बनाएका सिद्धार्थ आनन्दले निर्देशन गर्नसक्ने चर्चा छ ।

योसँगै ऋतिकका बुवा र ‘क्रिस फ्रेन्चाइज’का निर्माता राकेश रोशनले ‘क्रिस ४’ निर्देशन नगर्ने भन्ने चर्चा पनि सुरु भएको छ । ऋतिकले सन् २०२१ मा जन्मदिनमा फ्यानलाई फिल्मबारे संकेत दिएका थिए ।

त्यतिबेला राकेश रोशनको स्वास्थ्यका कारण चौथो सिक्वेल बन्नमा ढिलाइ भइरहेको जनाइएको थियो । तर अब सिद्धार्थ आनन्दले यी अनिश्चितताको अन्त्य गरेका छन् ।

उनले ‘क्रिस ४’ मा काम भइरहेको पुष्टि गरे । ऋतिकसँग ‘फाइटर’, ‘वार’ र ‘ब्याङ ब्याङ’मा काम गरिसकेका निर्देशकले एक पोस्टको जवाफमा यो कुरा उल्लेख गरेका छन् ।

एक फ्यानले ‘क्रिस’ फर्किन लागेको हो भनेर सोधेका थिए । सिद्धार्थले जवाफ दिएका छन्, ‘हो । उहाँ आउँदै हुनुहुन्छ ।’

सिद्धार्थले यो कुरा पुष्टि गरेपछि उनले ‘क्रिस ४’ को निर्देशकमा राकेश रोशनलाई रिप्लेस गर्ने कि नगर्ने चर्चा सुरु भएको छ । यदि यो सत्य साबित भयो भने यो ऋतिक र सिद्धार्थको चौथो फिल्म हुनेछ ।

यसअघि ‘वार २’ को छायांकनसँगै ऋतिकले ‘क्रिस ४’ को तयारी पनि थालेका छन् । चौथो श्रृंखलामा यो सुपरहिरोले अन्तरीक्षको यात्रा गर्ने बुझिएको छ । प्रि–प्रोडक्सन कार्य सन् २०२४ मा पूरा हुने भएपनि सन् २०२५ मा छायांकन सुरु हुने बताइएको छ ।

सन् २००३ मा रिलिज भएको फिल्म ‘कोई मिल गया’बाट ‘क्रिस फ्रेन्चाइज’को सुरुवात भएको थियो । सन् २००६ मा फिल्म ‘क्रिस’ रिलिज भयो । यसमा ऋतिक रोशनसँग प्रियंका चोपडा मुख्य भूमिकामा थिइन् ।

सन् २०१३ मा ‘क्रिस ३’ रिलिज भएको थियो, जसमा ऋतिक र प्रियंकासँगै कंगना रनौत र विवेक ओबराय पनि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?