+
+

१०७ दिनदेखि सानेपामा रौतहटका कांग्रेस नेता-कार्यकर्ताको अनसन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २० गते १६:२१

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा झण्डै चार महीनादेखि अनसन जारी छ । धाँधलीपूर्ण रुपमा क्रियाशील सदस्यता सूची केन्द्रमा पठाइएको भन्दै रौतहटका कांग्रेस नेता-कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसनमा बसेका हुन् । उनीहरु १०७ दिनदेखि अनसनमा छन् । रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र-१ मा क्रियाशील सदस्यता विवाद सुल्झिएको छैन ।

शनिबार तिहारका दिन १२ जना नेता कार्यकर्ता अनसनमा रहेको रौतहट कांग्रेसका कोषाध्यक्ष राम श्रेष्ठ साहले जानकारी दिए । साहसहित महासमिति सदस्य डा. देवचन्द्र मिश्र, पूर्व स्वास्थ्यराज्यमन्त्री ब्रजकिशोर सिंह, महाधिवेशन प्रतिनिधि उदय यावदलगायत अनसनमा छन् ।

कांग्रेसले विवादकै कारण रसुवा र रौतहट जिल्लाको क्रियाशील सदस्यता नामावली अझै सार्वजनिक गरेको छैन । बाँकी जिल्लामा अधिवेशन प्रक्रिया अगाडि बढिसकेको छ ।

कांग्रेस रौतहट जिल्ला कोषाध्यक्ष साहले विधानसम्मत क्रियाशील सदस्यता वितरण नभएसम्म अनसन नरोकिने बताए । ‘जबसम्म हाम्रो माग सम्बोधन हुँदैन, तबसम्म अनसन रोक्दैनौं,’ उनले अनलाइनखबरसँग भने, ‘पार्टीले बनाएको विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र परिपत्र अनुसार क्रियाशील सदस्यता वितरण हुनुपर्छ । हाम्रो माग यत्ति हो ।’

जिल्ला पार्टी सभापतिले मनोमानी रुपमा क्रियाशील सदस्यता वितरण गर्नुका साथै पूराना नेताहरुकै सदस्यता नविकरण नगरिएको कोषाध्यक्ष साहको भनाइ छ । ‘मेरै क्रियाशील सदस्यता नवीकरण गरिएको छैन । महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरूको पनि नवीकरण गरिएन, तर आफ्ना मान्छेहरुलाई विधानविपरीत क्रियाशील वितरण गर्ने काम भयो,’ उनले भने, ‘२१६ जनाको फर्जी नविकरण गरिएको छ । विजयकुमार गच्छदारको पार्टीबाट समायोजन भएको नामावलीभन्दा फरक व्यक्तिलाई क्रियाशील सदस्यता वितरण गरिएको छ । यो त हामीलाई स्वीकार्य हुन सक्दैन ।’

उनले आफूहरूको माग सम्बोधन नभए महाधिवेशन बहिष्कार गर्ने चेतावनी दिए । कांग्रेसले मंसिर २४-२७ सम्म १४ औं महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ । कांग्रेस वडा अधिवेशन नभएका जिल्लामा कात्तिक २७ देखि अधिवेशन प्रक्रिया सुरु गर्ने जनाएको छ ।

क्रियाशील सदस्यता विवाद कायमै रहेकाले रौतहट र रसुवाको अधिवेशन प्रक्रिया अन्यौलमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?