+
+

भलिबल प्रशिक्षकमा नेदरल्याण्ड्सका हान अबिङ आउने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १८:३३
फाइल तस्वीर

२५ कात्तिक, काठमाडौं। नेपालको राष्ट्रिय भलिबल टिमको प्रशिक्षणका लागि विदेशी प्रशिक्षक हान अबिङ आउने भएका छन् ।

आगामी डिसेम्बरमा बंगलादेशमा हुने सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको लागि हान नेपाल आउन लागेका हुन् ।

नेपाल भलिबल संघको बिहीबार बसेको कार्यसमिति बैठकले नेदरल्याण्ड्सका हान अबिङलाई ल्याउने निर्णय गरेको संघकी उपाध्यक्ष निरोज मास्केले बताइन् । हानले यस अघि पनि नेपाल आइसकेका छन् ।

‘हान अबिङ प्रशिक्षकको रुपमा आउने छन् । उनले पुरुष टिमलाई प्रशिक्षण दिनेछन् ।’ मास्केले भनिन् ।

यसअघि नेपालमै भएको पुरुष सेन्ट्रल जोनमा हानले नेपाली पुरुष टिमलाई प्रशिक्षण दिएका थिए ।

उपाध्यक्ष मास्केले महिला टिमको प्रशिक्षकमा जगदिश भट्ट नै रहने बताइन् ।

नेपाली टिमलाई प्रशिक्षण दिन हान मंसिर २ गते नेपाल आइपुग्ने उपाध्यक्ष उनले जानकारी दिइन् ।

विदेशी प्रशिक्षकको लागि खर्च भलिबलको अन्तर्राष्ट्रिय संस्था एफआईभिबीले नै सहयोग गर्दै आएको छ र यस पटक पनि त्यो सहयोगले निरन्तरता पाउने छ ।

‘हामीलाई एफआईभिबीले नै प्रशिक्षकको लागि स्पोन्सर गरिदिन्छ । तलब र आउने जाने खर्च उनीहरुले बेहोर्छन् । हामीले यता खाने बस्ने खर्च बेहोर्छौँ ।’ केही दिनअघि संघका कार्यवाहक उपाध्यक्ष याम बहादुर गुरुङले बताएका थिए ।

यसअघि पनि एफआईभीबीकै सहयोगमा नेदरल्याण्ड्सका प्रशिक्षकहरु नेपाल आएर विभिन्न प्रतियोगितामा नेपाललाई प्रशिक्षण गराइसकेका छन् ।

२०७४ सालमा नेदरल्याण्ड्सका म्यान भान विजल आएका थिए । उनको प्रशिक्षणमा नेपालले बंगलादेशसंग मैत्रीपूर्ण खेल खेलेको थियो ।

यस्तै इन्डोनेसियामा भएको एसियन गेम्समा पुरुष टोलीको प्रशिक्षणका लागि लेस्ले डे जोङ आएका थिए । साथै जोङ १३औं सागमा पनि पुरुष टोलीको प्रशिक्षकका रुपमा आएका थिए । नेपालको पुरुष र महिला टिमले बंगलादेशमा डिसेम्बर २१ देखि २९ सम्म हुने सेन्ट्रल जोन खेल्दैछ ।

त्यसका लागि यही कात्तिक २८ गतेदेखि महिला टिमको प्रशिक्षण सुरु गर्ने संघले जनाएको छ । साथै पुरुष ६मको प्रशिक्षण भने हान आएपछि सुरु गरिनेछ ।

संघकी उपाध्यक्ष मास्केले हान आएपछि पुरुष टिमका लागि क्लब च्याम्पियनसिपबाट छनोट भएका २० खेलाडी र प्रदेशबाट २-२ खेलाडी छनोट गरी २ दिन प्रशिक्षण गराएर सेलेक्सन गरिने बताइन् ।

महिला तर्फ भने यसअघि एसियन च्याम्पियनसिपका लागि छनोट भएका खेलाडीलाई नै निरन्तरता दिने र त्यसमा नेपाल पुलिस क्लबका तीन खेलाडी थपिने उनले जानकारी दिइन् । एसियन च्याम्पियनसिपका लागि अन्तिम चरणमा १८ खेलाडी प्रशिक्षणमा थिए जसमध्ये रिया कुँवर चोटका कारण टिम बाहिर छिन् ।

यस्तै पुलिसको आन्तरिक तालिमका कारण यसअघि प्रशिक्षणमा आउन नपाएका तीन खेलाडी पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङलाई पनि समेटेर २० खेलाडीलाई प्रशिक्षण दिने मास्केले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?