+
+

ट्रम्पका पूर्व सहयोगी ब्याननमाथि २ अभियोग लगाइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते १३:३२

२७ कात्तिक, काठमाडौं । अमेरिकाको न्याय मन्त्रालयले डोनाल्ड ट्रम्पका पूर्व सहयोगी स्टिभ ब्याननमाथि २ वटा अभियोग लगाएको छ ।

न्याय मन्त्रालयले जनवरी ६ मा क्यापिटल हिलमा भएको हिंसा छानबिन गरेको हाउस अफ रिप्रेजेन्टेटिभको एक प्यानलले उपस्थित हुन भन्दै जारी गरेको आदेश नमानेर कंग्रेसको अपहेलना गरेको र कागजात पेश गर्न अस्वीकार गरेको भन्दै ब्याननमाथि २ वटा अभियोग लगाएको हो ।

दुबै अभियोग पुष्टि भएमा ब्याननले हरेक अभियोगका लागि कम्तिमा ३० दिन जेल बस्नुपर्ने र उनलाई १ वर्षसम्म काराबास सजाय हुने अलजजिराले जनाएको छ । तर उनी अदालतसमक्ष उपस्थित हुने मिति प्रस्ट भइसकेको छैन ।

शुक्रबार २ वटा अभियोग लगाइएका ब्यानन कन्जर्भेटिभ मिडिया वृत्तका महत्वपूर्ण व्यक्ति हुन् । यसअघि ब्रेइटबार्ट न्युज वेभसाइटको नेतृत्व गरेका उनले ट्रम्पका पालामा ह्वाइटहाउसको प्रमुख रणनीतिज्ञको रुपमा काम गरेका थिए ।

सन् २०१६ को चुनावी अभियानमा महत्वपूर्ण भूमिका खेलेका ब्याननले पछिल्ला अभियोगसहित २ वर्षमा २ पटक फौजदारी अभियोग सामना गरिसकेका छन् ।

यसअघि ब्याननमाथि २०२० मा अमेरिका-मेक्सिको सीमानामा पर्खाल लगाउने ट्रम्पको परियोजनामा सहयोग गरेका दातालाई धोका दिएको अभियोग लागेको थियो । तर उक्त अभियोगका सम्बन्धमा मुद्दा दर्ता हुनुपूर्व नै ट्रम्पले ब्याननलाई माफी दिएका थिए ।

संसदीय प्यानलले जनवरी ६ मा क्यापिटल हिलमाथि भएको आक्रमणबारे बुझ्न भन्दै ट्रम्पका अन्य सहयोगीले समेत कागजात र बयान पेश गर्नुपर्ने बताएको छ ।

हालसम्म संसदीय प्यानलले सरकारी अधिकारी, सामाजिक सञ्जाल प्रयोगकर्ता र कानुन पालना गराउने निकायका गरी १५० भन्दा बढी व्यक्तिसँग सोधपुछ गरिसकेको छ । तर ब्यानन लगायतका ट्रम्पका सहयोगीले बयान दिन अस्वीकार गरिरहेका छन् ।

वाशिङ्टन डीसीमा जनवरी ६ गते ट्रम्पले आफ्ना हजारौं समर्थकसामु चर्को भाषण गर्दै समर्थकलाई क्यापिटल हिलतर्फ बढ्न भनेका थिए । लगत्तै उनका समर्थकले राष्ट्रपतीय निर्वाचनमा बाइडेनको जीत प्रमाणीकरण भइरहेका बेला उक्त भवनमा हमला गरेका थिए ।

उक्त घटनापछि समर्थकलाई क्यापिटल हिलमाथि हमला गर्न उक्साएको भन्दै ट्रम्पलाई महाअभियोग लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?