+
+

मणिपुरमा विद्रोहीले थापेको धरापमा परी कर्नेलसहित ७ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते १७:३६
मणिपुरमा मारिएका सैनिक कर्नेल र उनकी पत्नी । तस्वीर : एनडीटीभी

२७ कात्तिक, काठमाडौं । भारतको मणिपुरमा विद्रोहीले थापेको धरापमा परी उच्च सैनिक अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

म्यानमारसँग सीमा जोडिएको मणिपुरको चुराचन्दपुर जिल्लामा थापिएको धरापमा परी सेनाका कर्नेल, उनकी श्रीमती, छोरा र अन्य ४ सैनिक जवान गरी ७ जनाको मृत्यु भएको भारतीय समाचार माध्यमले जनाएका छन् । शनिबार बिहान विद्रोहीले थापेको धरापमा सुरक्षाकर्मी चढेको गाडी परेको स्रोतलाई उदृत गर्दै समाचारमा लेखिएको छ ।

धरापमा परी ४६ आसाम राइफल्सका कमान्डिङ अफिसर कर्नेल विप्लब त्रिपाठीसहित ७ जना मारिएका हुन् । फरवार्ड क्याम्प गएर फर्किने क्रममा त्रिपाठी चढेको गाडी शनिबार बिहान १० बजेतिर चुराचन्दपुरको एक दुर्गम गाउँमा धरापमा परेको हो ।

हालसम्म उक्त घटनाको कुनै समूहले जिम्मा लिएका छैनन् । तर मणिपुरमा सक्रिय जनमुक्ति सेनाले धराप थापेको हुन सक्ने समाचारमा उल्लेख गरिएको छ ।

यसैबीच, भारतीय रक्षामन्त्री राजनाथ सिंहले घटनाको निन्दा गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । हमलाकारीलाई चाँडै नै खोजेर सजाय दिइने सिंहको भनाइ छ । त्यस्तै, मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले जवाफी कारबाही सुरु गरेर हमलाकारीलाई खोज्ने काम भइरहेको जानकारी गराएका छन् ।

मणिपुरसहित भारतका उत्तर-पूर्वी राज्यमा थप स्वायत्तता वा छुट्टै राज्य माग्दै आएका विभिन्न सशस्त्र समूह सक्रिय छन् । यसअघि सन् २०१५ मा सेनामाथि मणिपुरका विद्रोहीले हमला गर्दा २० सैनिकको मृत्यु भएको थियो ।

भारत सरकारले चीन, म्यानमार,  बंगलादेश र भुटानसँगको सीमा क्षेत्रमा दशकौंदेखि सेना परिचालन गर्दै आएको छ । अर्धसैन्य बलको रुपमा रहेको आसाम राइफल्सलाई समेत उत्तर-पूर्वी राज्यमा सेनाको कमाण्डअन्तर्गत परिचालन गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?