+
+

‘सभापतिको स्वाभाविक उम्मेदवार हुँ, इफ बट केही हुन्न’

प्रकाशमानलाई प्रश्न : पौडेल समूहबाट अलग हुनुभएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते २०:१९

२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा संस्थापन इतर समूहका सभापतिका आकांक्षीद्वय रामचन्द्र पौडेल र प्रकाशमान सिंह टाढिएका छन् ।

पछिल्लो समय वरिष्ठ नेता पौडेलले बोलाएको बैठकमा समेत नगएका पूर्वमहामन्त्री सिंह कुनै हालतमा सभापति लड्ने अडानमा छन् ।

यद्यपि आफूलाई सभापतिका रुपमा अगाडि सार्दा टिम बनाउन तयार रहेको उनी बताउँछन् । हालै मात्र भारतको समेत भ्रमण गरेका सिंहसँग पौडेल समूहमा देखिएको असन्तुष्टि लगायतका विषयमा अनलाइनखबरकर्मी खगेन्द्र भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :

महाधिवेशनमा साझा उम्मेदवार दिन्छौं भन्नुहुन्थ्यो, धेरै उम्मेदवार हुने देखियो त ?

सहमतिका लागि पटकपटक बसिरहेका छौं । सबैको चाहना पार्टी सभापतिमै भएको थाहै छ । उम्मेदवारी दावी गरिरहेका सबैले आफू नै उत्तम भनिरहनुभएको छ । तर, कार्यकर्ताले मूल्यांकन गर्दा विगतमा जिम्मेवारीमा रहेर कसले कस्तो काम गर्‍यो भन्ने कुरा आउँछ ।

अहिले नाम कहलिएकामध्ये वरिष्ठता र पदीय जिम्मेवारीका हिसाबले मेरो दाबी स्वाभाविक हो । म नेविसंघको जिल्ला सभापति, पार्टीको जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री भइसकेको छु ।

पार्टी विभाजन हुँदा शेरबहादुरजीको नेतृत्वमा उपसभापति थिएँ । पार्टी एकतापछि गिरिजाबाबु सभापति छँदा उपसभापति थिएँ, सुशील कोइरालाको पालामा महामन्त्रीमा निर्वाचित भएँ । विभिन्न पदमा बसेकाले मसँग धेरै अनुभव छ ।

कांग्रेसलाई संस्थागत गर्नुपर्नेमा जेजस्ता कमजोरी भए, त्यसलाई सुधार्दै सबैलाई एकतावद्ध बनाएर लैजान सक्छु भनेर मैले भनिरहेको छु ।

पछिल्लो समय त तपाईंहरुको समूहभित्र संवाद नै हुन छोडेजस्तो देखिन्छ, किन ?

सम्वाद पूर्ण रुपमा टुटेको होइन । लामो दौडको धावकले कतिबेला छिटो दौडिन्छ, कति बेला विस्तारै । समझदारी गर्दा तलमाथि भइरहन्छ ।

संवाद गर्दा पनि उम्मेदवारी दर्ता हुने दिन वा एक–दुई दिन अघिसम्म टुंगो होला जस्तो लाग्दैन । सबै आफैं बलियो ठान्छन् । मनोनयनको समय आएपछि सबैले आ–आफ्नो लेखाजोखा गर्ला । त्यसपछि समझदारीमा आउँछन् । अहिले एक–दुई बसाईमै सहमति जुट्न सजिलो हुन्न ।

संवाद नै नगर्ने अवस्था आउनुमा तपाईंको चित्त दुखाइ के मा हो ?

राजनीतिमा चित्त दुखाइ भन्ने हुँदैन, तर राजनीतिक न्याय हुनुपर्‍यो नि । समूह चलाउँदा पनि राजनीतिक न्याय हुनुपर्छ । सबैलाई समान रुपमा नलैजाँदा समस्या त आउँछ नि । अहिले हामीहरुभित्र भएको यही हो ।

कहाँनिर त्यस्तो भयो ?

मन्त्रिमण्डल विस्तारमा त्यही देखियो । मन्त्रिमण्डल विस्तारमा न्याय नभएको अनुभव मैले गरेँ ।

तपाईं, केही दिनअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको बैठकमा पनि जानुभएको थिएन ।

अब पौडेल समूहबाट अलग हुनुभएको हो ?

म कांग्रेसलाई संस्थागत, विधिसम्मत, शुद्ध र सुदृढ पार्ने अभियानमा छु । यो अभियानमा साथ दिने सबै एक ठाउँमा उभिनुहुन्छ । मन मिल्नेहरुसँग संवाद हुन्छ । आ–आफ्नै पारा भयो भने आफ्नै बाटोमा जान्छन् ।

पहिला चाहिँ मन मिलेको थियो पौडेलसँग ?

१३ औं महाधिवेशनपछि यहीँ (चाक्सीबारीस्थित प्रकाशमान निवास) हाम्रो बैठक बसेको थियो ।

अब यसरी पार्टी चल्दैन । पार्टी सञ्चालन गर्न अहिलेको नेतृत्व असफल भयो । अब नेतृत्व परिवर्तन आवश्यक छ भन्नेहरु हामी एक ठाउँमा उभिएका हौं । त्यहीँबाट हामी निरन्तर छलफलमा थियौं ।

अहिले महाधिवेशन नजिकिएसँगै सबै आ–आफ्नै अडानमा रहेपछि मिल्न त गाह्रो भइहाल्छ नि । मिल्दै मिलेन भने उपयुक्त टीम दिऊँ भन्नेमा छु । अझै समय छ । सबैले ‘रियलाइजेसन’ गर्नुपर्‍यो, एक भएर अगाडि जाने हो भने टीम मिलाऔं । को सभापति ? को उपसभापति ? को महामन्त्री ?

संसदीय दलको नेता को बन्ने ? आदि जिम्मेवारीमा भागवण्डा गरौं । ठीक मान्छेलाई ठीक जिम्मेवारी दिऔं भन्नेमा छु ।

अब चाहिँ (पौडेल समूहमा) जिम्मेवारी बाँडफाँट सही हुन्न, आफ्नो क्षमता, अनुभव अनुसार जिम्मेवारी पाइँदैन भन्ने निश्कर्षमा पुग्नुभएको हो ?

समाज र देशलाई न्याय दिने हो भने सुरुवात कांग्रेस भित्रबाटै हुनुपर्‍यो । अनावश्यक रुपमा कार्यकर्तालाई दुःख दिनुभएन, पार्टीभित्र सबैले न्यायको अनुभव गर्न पाउनुपर्‍यो ।

विधि र प्रक्रियाअनुसार पार्टी सञ्चालन हुनुपर्छ । उम्मेदवार चयनदेखि पार्टीमा भूमिका दिने कुरामा पार्टीमा सबैलाई न्याय हुनैपर्छ । त्यसपछि मात्रै पार्टीले अरुलाई न्याय दिनसक्छ ।

तपाईंकै शब्दमा भन्दा ‘राजनीतिक न्याय नहुने देखिए’ एक्लै भने पनि अगाडि बढ्ने ?

मेरो चाहना सबैलाई मिलाएर टीम बनाएर जाउँ भन्ने हो । राजनीति हो, सोचे अनुसार हुन्छ भन्ने मात्र छैन । हाम्रो समूहमा सभापतिका लागि म नेचुरल उम्मेदवार हो । मैले छोड्ने कुरै हुँदैन । १३ औं महाधिवेशनमै सभापति र महामन्त्री पद त्यागिसकेको छु । अब मैले छोड्नुपर्ने केही छैन ।

समूहबाट एउटै टिम बनाउने र जिम्मेवारी बाँडफाँट गर्ने कुरा हुँदा फरक भूमिका प्रस्तावित हुन पनि सक्छ नि ?

म सभापति भएर अरुलाई मिलाउनेमा छु । तर म सभापतिको उम्मेदवार हुने कुरामा इफ, बट केही हुन्न । आफूलाई पार्टीलाई संस्थागत र बलियो बनाउन सक्छु भन्ने छ, अवसर पायो भने काम गरेर देखाउँछु पनि ।

तपाईं सभापतिको उम्मेदवार हुँदा अरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने केही प्रस्ताव पनि छ ?

अहिले सार्वजनिक गर्ने बेला भएको छैन, मेरो मनमा त छ नि ।

महाधिवेशनमा सभापति लड्ने तयारी गर्दैगर्दा भर्खर सुटुक्क दिल्ली पनि पुग्नुभयो नि ?

कात्तिक २४ गते लौहपुरुष गणेशमान सिंहको १०७ औं जन्मजयन्ती थियो । बर्दिया कांग्रेसले उहाँको पूर्णकदको शालिक निर्माण गरेर राखेको थियो । जिल्ला सभापति सञ्जय गौतमजीले उद्घाटनका लागि बोलाउनुभएकाले बर्दिया गएको थिएँ । त्यहीबेला साथीहरुले दिल्ली बोलाउनुभयो ।

सुशील कोइरालाले पार्टी सभापतिको हैसियतले महामन्त्रीका रुपमा मलाई पनि दिल्ली भ्रमणमा लैजानुभएको थियो । त्यसपछि म भारत टेकेको थिइनँ । हाम्रो गणेशमान फाउण्डेसन छ, साथीहरुले भारतमा पनि फाउण्डेसन स्थापना गर्ने भन्नुभएको थियो । बर्दियामा भएको बेला फेरि खबर आयो । म त्यहाँबाट दिल्ली गएँ, साथीभाइ र शुभेच्छुकसँग भेटघाट भयो ।

राजनीतिक भेटघाट पनि भयो होला नि ?

राजनीतिक व्यक्ति भएको राजनीतिक भेटघाट हुनु स्वाभाविक हो, तर यो मेरो निजी भ्रमण थियो ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?