+
+

राष्ट्र बैंकले किन दियो ब्याजदरबारे नयाँ निर्देशन ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १८:५६

२९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार साँझ ब्याजदर सम्बन्धी नयाँ व्यवस्था गर्दै एकीकृत निर्देशन, २०७८ जारी गर्‍यो । बैंकहरुले निक्षेप बढाउन आकर्षक ब्याजदर घोषणा गरेपछि ब्याजदर घटबढमा निश्चित क्याप लगाइदिएको एक महिना बित्न नपाउँदै अर्को निर्देशन जारी भएको हो ।

किन त ? राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल भन्छन्,’बैंकहरुबीच स्वस्थ प्रतिष्पर्धाको वातावरण होस् भनेर नयाँ निर्देशन जारी गरेका हौं ।’

अहिले बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव छ । सोचे जस्तो निक्षेप नआउदा बैंकहरु समस्यामा छन् । केही बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ९० प्रतिशत भन्दा बढी छ र केही बैंकहरु भने अझै कम्फरटेवल जोनमा छन् ।

प्रवक्ता ढकाल भन्छन्, ‘कम्फरटेवल जोनमा भएकालाई धेरै सहज हुने र समस्यामा परेकाहरु थप समस्या नहोस भनेर औसत ब्याजदरको व्यवस्था गरेका हौं ।’

राष्ट्र बैंकको नयाँ व्यवस्थाले गरेको यो व्यवस्थाले बैंकहरुको निक्षेपमा भइरहेको तानातान रोकिने बैंकर मनोज ज्ञवाली बताउँछन्

नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुले बोलकबोलबाट मुद्दती निक्षेप नवीकरण गर्दा ०.१ प्रतिशतमात्रै ब्याज बढाउन पाउने भएका छन् । आफैसँग रहेको निक्षेपलाई पूनःबोलकबोल गरी नवीकरण गर्नु परेमा प्रकाशित ब्याजदरमा ०.१ प्रतिशत बिन्दू सम्म थप गरी निक्षेप संकलन गर्न सकिने व्यवस्था गरेको छ ।

आफूसँग रहेको निक्षेप अर्को बैंकले तान्ने खतरा देखेमा बैंकहरुले बोलकवोलमा पनि आकर्षक ब्याजदर तोक्ने गरेका थिए । बैंकहरुले धेरै ब्याजदर बढाउने गरेको भन्दै राष्ट्र बैंकले कडाइ गरेको हो ।

राष्ट्र बैंकको यो व्यवस्थाले गरेको यो व्यवस्थाले बैंकहरुको निक्षेपमा भइरहेको तानातान रोकिने बैंकर मनोज ज्ञवाली बताउँछन् । संस्थागत मुद्दति निक्षेपहरु अर्को बैंकमा नगएर सोही बैंकमा नवीकरण हुने ज्ञवालीले बताए ।

‘बोलकबोलको निक्षेप जुन बैंकसंग छ त्यहि त्यही बैंक मै नवीकरण हुने अवस्थालाई देखिन्छ, यसले गर्दा बैकहरुको निक्षेप तानातान भएर सीडी रेसिओ नै नाघ्ने अबस्थामा अली सहजता हुनेछ’ ज्ञवाली भन्छन्, ‘बैंकहरुले एउटै प्रकारको निक्षेप मा पनी मागेमा ०.५ प्रतिशत थप्ने नत्र कम दरमा नै निक्षेप लगिदिने काम बन्द भएको छ ।’

यो निर्देशनले बैंकहरुले आफूखुसी ब्याजदर तोक्न नपाउने र सबै बैंकहरुको संस्थागत निक्षेप ९.०५ प्रतिशतको हाराहारी हुने देखिन्छ । व्यक्तिगत निक्षेप भने १०.०५ प्रतिशत हाराहारी हुने उनले बताए । यो निर्देशनले सीडी रेसिओलाई कुनै सहजता भने प्रदान नगर्ने र यसले ब्याजदर निर्धारणको मार्गचित्रमात्रै दिएको उनले बताए । सीडी रेसिओको सहजताका लागि अर्को निर्देशनको अपेक्षा बैंकहरुले गरेका छन् ।

औसत तथा न्यूनतम ब्याजदर (कल निक्षेप बाहेक) को औसतमा बढीमा दश प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था गरेको छ । यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतममध्ये एक दर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्ने राष्ट्र बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Joint Initiative