+
+

म्युजिक भिडियोको टिजर सार्वजनिक गर्ने क्रम बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १७:२१

३० कात्तिक, काठमाडौं । सोमबार ‘राजा रानी’बोलको गीतको टिजर युट्युबमा सार्वजनिक गरिएको छ । शान्तिश्री परियार र बाबुकृष्ण परियारको स्वर, सुनिल क्षेत्री र गीता ढुंगानाको अभिनय रहेको गीतको पूरा भिडियो भने शुक्रबार सार्वजनिक हुँदैछ । भिडियोलाई सुनिल क्षेत्रीले निर्देशन गरेका छन् ।

सोमबार नै सेलो गीत ‘डम्फुमा सेलो’को टिजर युट्युबमा सार्वजनिक गरिएको छ । मिङ्स लामाको स्वर रहेको गीतको टिजरमा विजय लामा, पल शाह र सुमी मोक्तानको अभिनय देखिन्छ । युवराज वाइबाको निर्देशन रहेको यो गीतको पूरा भिडियो भने केही दिनमा सार्वजनिक गर्ने जनाइएको छ ।

दुई दिनअघि प्रमोद खरेलको स्वर तथा विक्रम बुढाथोकी, प्रनिशा गुरुङ, नयन सिंहको अभिनय रहेको ‘घोषणा’ गीतको टिजर सार्वजनिक गरिएको छ । विक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियो बुधबार सार्वजनिक हुँदैछ ।

अञ्जु पन्त र शिव परियारको स्वर, पल शाह र कविता रायको अभिनय रहेको ‘हेरेर तिमीलाई’को पनि केही दिन अगाडि टिजर सार्वजनिक गरिएको थियो । काजिश श्रेष्ठको निर्देशन रहेको यस गीतको पूरा भिडियो सार्वजनिक भइसकेको छ । यी केही उदाहरण हुन् । पछिल्लो समय चलचित्रको जस्तै म्युजिक भिडियोको पनि टिजर सार्वजनिक गर्ने प्रचलन बढेको छ ।

किन बढ्यो टिजर सार्वजनिक गर्ने क्रम ?

केही वर्ष अगाडिसम्म टेलिभिजनमा म्युजिक भिडियोको प्रोमो बजाउने चलन थियो । त्यतिबेला म्युजिक भिडियोको पोष्टर ल्याइँदैनथ्यो । विस्तारै चलचित्रको जस्तै म्युजिक भिडियोको पनि पोष्टर सार्वजनिक गर्ने क्रम शुरु भयो । अहिले अधिकांश म्युजिक भिडियोको पोष्टर सार्वजनिक गरिन्छ ।

टेलिभिजनमा प्रोमो बजाउने प्रचलन हटेसँगै फाट्टफुट्ट रुपमा म्युजिक भिडियोको टिजर सार्वजनिक हुन्थे । तर, कोरोना महामारीयता म्युजिक भिडियोको टिजर सार्वजनिक गर्ने क्रम ह्वात्तै बढेको भिडियो निर्देशकहरु बताउँछन् ।

निर्देशक काजिश श्रेष्ठ म्युजिक भिडियो निर्माण टिमको रहरका कारण टिजर सार्वजनिक हुने गरेको बताउँछन् । अहिले म्युजिक भिडियोमा महंगो लगानी गरी आकर्षक लोकेसनमा खिच्न लगानीकर्ताहरु इच्छुक हुने र पोष्टर, टिजर सार्वजनिक गरेपछि मात्रै भिडियो सार्वजनिक गर्ने उनीहरुको योजना हुने गरेको उनले बताए ।

यद्यपि, यसो हुनुको पछाडि देखासिकी पनि कारण रहेको श्रेष्ठको भनाइ छ । अलिकति मेहनत गरिएका र अपेक्षा गरिएका गीतको टिजर सार्वजनिक हुने गरेको उनले बताए । ‘मेहनत गरिएको भिडियोका मुख्य–मुख्य दृश्य देखाउँदा पूरा भिडियो हेरिदिन्छन् कि भन्ने आश र टिजरमा यति राम्रो कुरा छ, भिडियो कस्तो होला भन्ने दर्शकमा उत्सुकता हुन्छ होला भनेर टिजर सार्वजनिक गर्ने गरिन्छ,’ उनले भने । हरेक भिडियोको पोष्टर भने अहिले अनिवार्यजस्तै बनेको उनले बताए ।

निर्देशक शिव विक पनि पोष्टर हुँदै अहिले टिजर सार्वजनिक गर्ने प्रचलन बढेको बताउँछन् । उनले कोरोना महामारीका कारण चलचित्र क्षेत्र ठप्प हुँदा म्युजिक भिडियोमा टिजर सार्वजनिक हुने क्रम बढेको बताए ।

भिडियोबारे केही जानकारी दिन टिजर सार्वजनिक गर्ने गरिएपनि टिजरअनुसार भिडियो आफूले नपाएको विकले बताए । आफ्ना केही भिडियोको टिजर सार्वजनिक गरिएको भएपनि ५ मिनेटको म्युजिक भिडियोमा टिजर सार्वजनिक गर्नु त्यति आवश्यक नरहेको आफूलाई लाग्ने उनको भनाइ छ ।

उनले अगाडि भने, ‘टिजर बनाउनुपर्छ जस्तो मलाई लाग्दैन । कसैले बनाइदेऊ भन्दा बनाउनै पर्‍यो ।’ उनी पनि अहिले चलचित्र नहुँदा म्युजिक भिडियोलाई बढी प्रमोसन गरिएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?