+
+

देउवाले पौडेललाई भने : चार घण्टा छलफल गरे पनि कन्भिन्स हुन्न 

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते २३:३२

३० कात्तिक, काठमाडौं । सत्ता गठबन्धनका पाँच दल सम्मिलित समन्वय समितिको पहिलो बैठक मंगलबार बस्यो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित पाचै दलका शीर्ष नेताहरु सहभागी थिए ।

बैठकका सदस्यहरुले सर्वाेच्च अदालतमा जारी गतिरोधका बारेमा कुरा उठाउँदा शीर्ष नेताहरु भने मौन रहे । प्रधानमन्त्री देउवाले त अहिले अदालतका बिषयमा राजनीतिक नेतृत्व बोल्ने बेला नै नभएकाले त्यस विषयमा कुरा  गर्न नहुने बताए । तर केही नेताहरुले  अब निकास निकाल्नुपर्ने भन्ने विज्ञप्ति त सार्वजनिक गर्नै पर्ने बताएपछि देउवाले कडा भाषा नलेख्न आग्रह गरे ।

‘सुरुमा त प्रधानमन्त्रीज्यूले अदालतबारे कुरै नगरौँ भन्नुभएको थियो,’ बैठकमा सहभागी एक नेताले भने, ‘केही नेताले यथास्थितिमा त राख्न हुन्न, केही त भन्नै पर्यो भनेपछि निकास निस्किनेमा हामी आशावादी छौँ भनौँ न भन्नुभयो ।’

अदालतमा आन्दोलन चलेको तेस्रो साता पुगेपछि मौनता तोडेको सत्तारुढ गठबन्धनले दुई बुँदे वक्तव्यको दोस्रो बुँदामा सर्वाेच्चमा जारी आन्दोलनबारे धारणा राखेको छ । ‘सर्वाेच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोध प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको महत्वपूर्ण अंगको रुपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरि यथासिघ्र निकास हुनुपर्छ भन्ने हाम्रो धारणा छ र सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुनेछ भन्ने हामी आशा गर्दछौं ।’

न्यायालयको विषयमा वक्तव्य निकाल्ने सहमति भएपछि समन्वय समितिका संयोजक पौडेलले सरकारले सबै काम ठोस रुपमा गर्नुपर्ने र राष्ट्रिय राजनीतिमा एकमत हुनुपर्ने भन्दै थप एजेण्डा प्रस्तुत गर्न खोजेका थिए ।

तर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले पार्टीको महाधिवेशन अघि कुनै पनि कुरा गर्न आफू तयार नरहेको बताएका छन् । ‘महाधिवेशनअघि मलाई अप्ठ्यारो पार्ने कुरै ननिकाल्नुस्, तीनचार घण्टा छलफल गरेर समय वर्वाद गरे पनि म तपाईंको कुरामा कन्भिन्स हुन्न रामचन्द्रजी ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?