काठमाडौं । माओत्से गुरुङको फिल्म ‘पेन्सन पट्टा’ शुक्रबारदेखि प्रदर्शनको चौंथो हप्तामा प्रवेश गरेको छ । निर्माताले दिएको जानकारीअनुसार, फिल्मले हालसम्म ८ करोड ५० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
चौंथो सातामा प्रवेश गरेको अवसरमा फिल्मले ‘मीट एन्ड ग्रीट’ कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा निर्माता र कलाकारले फिल्मको सफलता, दर्शकको प्रतिक्रिया र निर्माण अनुभवबारे सञ्चारकर्मीसँग कुराकानी गरेका थिए ।
कार्यक्रममा निर्देशक, अभिनेता तथा निर्माता गुरुङले ‘पेन्सन पट्टा’को सफलताले आफूहरूको मिहेनतलाई प्रमाणित गरेको बताए । दुःख र मेहनत गरेर निर्माण गरिएको फिल्मलाई दर्शकले माया र साथ दिँदा आफूहरू उत्साहित भएको उनको भनाइ थियो ।
चौंथो सातासम्म पनि दर्शकको साथ पाइरहनु फिल्मको लागि ठूलो उपलब्धि भएको गुरुङको भनाइ थियो ।
‘स्टारडमभन्दा कथा बलियो हुन्छ’ : दयाहाङ राई
कार्यक्रममा अभिनेता दयाहाङ राईलाई फिल्म चलाउन कलाकारको स्टारडम महत्वपूर्ण हुन्छ कि कथा भन्ने प्रश्न गरिएको थियो । जवाफमा उनले स्टारडमभन्दा कथा नै बलियो हुने बताए ।
उनका अनुसार कलाकारलाई स्टार बनाउने आधारसमेत कथा नै हो । ‘कथाले नै कलाकारलाई स्टार बनाउने भएकाले अन्ततः कथा नै बलियो हुन्छ । कथा बलियो भएपछि फिल्म चल्छ । स्टारडमले फिल्मलाई केही हदसम्म सपोर्ट गर्ने मात्र हो,’ दयाहाङले भने ।
कलाकारको लोकप्रियतासँगै फिल्मको कथा र प्रस्तुतिले दर्शकलाई हलसम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको धारणा थियो । ‘पेन्सन पट्टा’ २६ भदौदेखि प्रदर्शन तयारीमा थियो ।
प्रतिक्रिया 4