+
+

फिल्म कुरिरहेका प्रदीप

विजय सुवेदी ‘आवाज’ विजय सुवेदी ‘आवाज’
२०७८ मंसिर १ गते १७:४८

१ मंसिर, काठमाडौं । लामो दाह्री जुँगा र कपाल पालेका अभिनेता प्रदीप बाँस्तोलालाई हिजोआज चकलेटी देखिने रहर छैन । उनी कुनै समय चकलेटी शैलीमा हिँड्थे । गायन कला समेत राम्रो भएका प्रदीपको अभिनयलाई पनि दर्शकले उस्तै मन पराएका थिए ।

चकलेटी अनुहारका प्रदीपको त्यसबेला युवती फ्यानहरु निक्कै थिए । तर, अहिले उनको सोच बदलिएको छ । उनलाई अब केटा फ्यान बढाउने रहर छ । यसैले उनी आफूलाई फरक गेटअपमा प्रस्तुत गरिरहेको बताउँछन् ।

चलचित्र ‘अधकट्टी’मा काम गर्दा प्रदीपलाई दर्शकले ‘कोकाकोला फिगर’ गीतको हिरो भनेर चिन्थे । त्यसबेला उनीभित्र जोश र जाँगरको मुहानै थियो भन्दा फरक पर्दैन । उत्साहको त कुरै नगरौं । चलचित्रको गीत हिट भयो, प्रदीप प्रचारमा पछि परे ।

प्रदीप विगतका ती दिन अहिले सम्झिन चाहँदैनन् । भन्छन्, ‘मैले आफूलाई जे हुँ सोही देखाउन खोजें, गल्ती यहाँ नै भयो होला ।’

चलचित्र नगरी कामसँगै हल्लाको क्षेत्र हो । यहाँ चर्चाबाट अलग रहने हो भने हराएको मानिन्छ । भलै, जति नै राम्रो काम गर्ने चलचित्रकर्मी नै किन नहुन्, उसले चर्चामा आफूलाई राखिरहनुपर्छ । झन् अहिले त भाइरलको जमाना छ । कुनै न कुनै फन्डाको वरिपरि नरमाउने हो भने कैयौं प्रतिभा पर्दा पछाडि नै रहन्छन् ।

प्रदीपको मनमा आज पनि ‘अधकट्टी’मा काम गर्दाको समयमा दन्किएको उर्जा छ । तर, उनी यसलाई अब फरक तरिकाले खर्चन चाहन्छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘मलाई थाहा छ, मभित्र काम गर्न सक्ने शक्ति छ । तर, मैले आफूलाई केही वर्ष कता–कता डोर्‍याएँ थाहा छैन । नयाँ थिएँ, धेरै कुरा त बुझ्नै सकिनँ । यो क्षेत्रको बारेमा बुझ्न झण्डै एक दशक लाग्यो ।’

प्रदीपले हिजोआज आफ्नो सोचाइ परिवर्तन गरेका छन् । आफूभित्र रहेको प्रतिभा र काम गर्न सक्छु भन्ने जोश यसै खेर गयो भने आफूले आफूलाई नै माफी दिन नसकिने उनी बताउँछन् । अब काममा नै केन्द्रित हुने सोचका साथ आफू अगाडि बढेको उनले सुनाए ।

प्रदीपलाई मनभित्र सल्किएको अभिनयको ज्वालाले पोलिरहेको छ । ‘अहिले म आफैंभित्र जलिरहेको छु । मभित्र अभिनयको ज्वाला यसरी दन्किएको छ कि, यसलाई आम दर्शकले देख्ने गरी खर्च गर्न मन छ । मभित्र गर्न सक्छु भन्ने भोक जागेको छ,’ उनी भन्छन् ।

प्रदीपको जीवनमा दुईवटा पाटा थिए । एउटा गीत राम्रो गाउन सक्ने क्षमता थियो भने अर्को अभिनय । तर, दुईवटा डुङ्गामा खुट्टा हाल्दा राम्रोसँग पारी तर्न नसकेको उनलाई लागेको छ । भनौं, बीचमै उनी अड्किए । कुनै समय प्रदीप यसलाई स्टन्ट गरेको भन्थे । तर, आज उनले बल्ल बुझेका छन् कि, यो स्टन्ट थिएन लहड मात्रै थियो । प्रदीप गायनलाई अब कुनै कुनामा थन्काएर अभिनयमा मात्र लाग्ने सोचका साथ अगाडि बढेका छन् ।

दुई वर्ष लामो लकडाउनको समयमा उनी आफ्नै युट्युब च्यानलमा मस्त रहे । तर, युट्युब उनको रहर हो, करिअर होइन । करिअर त उनले एक दशकदेखि अभिनयमा खोजिरहेका छन् ।

प्रदीपले चलचित्र ‘शुभ लभ’मा पनि काम गरे । यो चलचित्रमा भने उनले खलपात्रको भूमिका निभाएका थिए । जतिले चलचित्र हेरे, उनको कामको प्रशंसा गरे । प्रदीप अगाडि भन्छन्, ‘मलाई पर्दामा नायक नै बनेर उत्रिन मन छैन । म कलाकार बन्न चाहन्छु, जसमा मेरो अभिनय देखियोस् ।’

प्रदीप खलपात्रको रुपमा जम्ने सोच पनि अगाडि सार्छन् । अहिले खलपात्रलाई हेर्ने दृष्टिकोण बदलिएको छ । पहिले–पहिले खलपात्र भन्ने बित्तिकै लामा कपाल पालेका र डरलाग्दा हुन्थे । तर, अहिले चलचित्रमा चकलेटी हिरोहरु पनि खलनायकको भूमिका निर्वाह गरिरहेका छन् । शायद, उनको फेरिएको गेटअप यसतर्फकै संकेत हुनसक्छ ।

केही समयअघि एक निर्देशकले उनलाई भनेका थिए, ‘बलिउडमा भएको भए तिमीलाई अगाडि उभ्याउँदा मात्र पनि तिमी हिरो हौं भनेर सहजै चिन्थे । तर, नेपालमा त्यस्तो छैन ।’ प्रदीपलाई ती निर्देशकको कुराले बिझाएको छ । साँच्चिकै, उनलाई चलचित्र क्षेत्र र दर्शकले चिन्न नसकेकै हुन् त ?

प्रदीप आफैंलाई अहिलेसम्म दुईवटा चलचित्रमा मात्र काम गरेको भन्दा अचम्म लाग्छ । अचम्म त उनलाई भन्दा अझ बढी उनलाई भेट्नेहरुलाई लाग्छ । ‘यति राम्रो व्यक्तिले जम्मा दुईवटा चलचित्रमा मात्र काम गरेको भन्दा धेरैले पत्याउनुहुन्न, तर वास्तविकता त यही नै हो,’ उनले सुनाए ।

विगतलाई सम्झिएर पश्चातापमा रुमल्लिने समय आफूसँग नभएको उनले बताए । अब उनलाई आफू बदलिनु छ र आफ्नो भाग्य बदल्नु छ । यसैले त प्रदीप आफ्नो अभिनय क्षमता देखाउन सक्ने चलचित्रको पर्खाइमा छन् ।

अनलाइनखबरसँगको कुराकानी बिट मार्ने क्रममा प्रदीपले भने, ‘मलाई मनभित्र उब्जिएको जोश यत्तिकै खेर जान दिन मन छैन । मलाई कलाकारको रुपमा दर्शकको मन जित्नु छ ।’

लेखकको बारेमा
विजय सुवेदी ‘आवाज’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?