+
+

कांग्रेस अधिवेशन : बुढो पार्टीमा तरुण प्रतिनिधि

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ मंसिर ६ गते २०:१०

६ मंसिर, काठमाडौं । सोलुखुम्बुकी पूजा फुयाल २१ वर्षकी मात्र भइन् । नेपाल विद्यार्थी संघमा क्याम्पस तहको राजनीतिमा रहेकी पूजा १४ औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन् ।

पार्टीको केन्द्रीय सभापतिदेखि सिंगो कार्यसमिति चयनका लागि मतदाता रहेको महाधिवेशन प्रतिनिधि आउन युवाहरूका लागि सहज छैन, कांग्रेसमा । तर उनी पार्टीको क्षेत्रीय प्रतिनिधिमा पनि सर्वाधिक मत ल्याएर विजयी भइन् भने सबैले रोक्न खोज्दाखोज्दै महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा मात्रै गरिनन्, ४०३ मत ल्याएर निर्वाचित भइन् ।

‘मलाई त वडाबाटै माथि आउन नदिन धेरै प्रत्यत्न भए । तिमी सानै छौं, यो पटक दाइ-दिदीहरूलाई छोडिदेउ, पछि तिमीहरू नै त हो पार्टी चलाउने भनेर फकाउन खोज्नुभयो, तर मैले मानिनँ,’ उनले अनलाइनखबरसँग अधिवेशनको अनुभव साटिन् ।

पूजा फुयाल

सोलुखुम्बुको नेचा-सल्यान गाउँपालिका-३ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित हुँदै जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी पूजाले अब पार्टीको नेतृत्व चयनमा प्रत्यक्ष मतदान गर्नेछिन् ।

‘हामी पार्टी नेतृत्व भएन, काम गर्न सकेन भनेर बाहिर बसेर आलोचना मात्रै गर्छाैं तर नेतृत्व चयनमा हाम्रो (युवा) सहभागिता हुँदैन,’ उनले भनिन्, ‘मैले चाहेको नेतृत्व कस्तो हो, अब म त्यस्तो नेतृत्वलाई मत दिन्छु । त्यहि भएर पनि मैले महाधिवेशन प्रतिनिधिसम्म पुग्ने अठोट वडा अधिवेशनदेखि नै लिएकी हुँ ।’ अहिलेसम्म महाधिवेशन प्रतिनिधि छनौट भएकाहरूमध्ये पूजा कान्छी प्रतिनिधि भएको दाबीछ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४-२६ सम्म काठमाडौंमा हुँदैछ । अहिले विभिन्न जिल्लामा अधिवेशनहरू धमाधम भइरहेका छन् । सात तहको अधिवेशन हुने कांग्रेसमा विभिन्न तहमा युवाहरूको सहभागिता बढ्दै गएको देखिन्छ । पार्टीमा लामो समयदेखि सक्रिय पुराना पुस्तालाई युवाहरूले चुनौती दिइरहेका छन् ।

विकल राई ।

खोटाङका विकल राई पनि महाधिवेशन प्रतिनिधिका उम्मेदवार हुन् । वडाबाट क्षेत्रीय प्रतिनिधि जितेका २१ वर्षका राई पार्टी राजनीतिमा युवाको बढ्दो उपस्थितिले कांग्रेस पुस्तान्तरणको बाटोमा रहेको संकेत गरेको बताउँछन् ।

‘पार्टीमा लामो समयदेखि क्रियाशील मान्छेहरू धेरै हुनुहुन्छ । नयाँ पुस्तालाई पार्टीमा नपत्याएको अवस्था देखियो । पुस्तान्तरणको कुरा गर्नुहुन्छ तर व्यवहारमा देखिएन,’ उनले भने, ‘अहिले हतार नगर भन्नुहुन्छ । तर पनि हामी युवाहरूले अब कुरेर बस्ने होइन । तल्लो तहमा नेतृत्वमा पुस्तारन्तरणको माग बढी छ । विस्तारै पार्टीमा पुस्तान्तरण हुन्छ भन्ने संकेत पनि हो यो ।’

उनी कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका सदस्य हुन् । पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व स्वीकार गर्न कठिनाइ भइरहेको उनको बुझाइ छ । ‘नयाँपुस्ताको नेतृत्वलाई स्वीकार गर्नुभन्दा बरु पुरानैलाई नेता मान्ने प्रवृत्ति बढी छ । यसमा परिवर्तन ल्याउन पनि राजनीतिमा युवा सहभागिता बढ्नु जरुरी हुन्छ,’ राईको भनाइ छ ।

कांग्रेसमा १४ औं नयाँ पुस्ताको आकर्षण बढेको देखिन्छ । पहिलो पटक पार्टी सदस्यता लिएकाहरू नै नेतृत्वको प्रतिस्पर्धामा देखिएका छन् । बुढापाकाको पार्टी भनेर चिनिने कांग्रेसमा नयाँ पुस्ताको प्रवेश उत्साहजनक देखिन्छ । यसैको उदाहरण हुन्, बागलुङकी उषा सापकोटा । उमेरले उनी १८ वर्षकी भइन् । १२ कक्षाको परीक्षा दिएर बसेकी उनी वडाअधिवेशन हुँदै अहिले प्रदेश प्रतिनिधि निर्वाचित भएकी छन् ।

‘युवाहरूका लागि प्रेरणा बन्नुपर्छ भन्ने सोचेर म राजनीतिमा आएकी हुँ, मैले राजनीतिमा प्रत्यक्ष सहभागिता जनाएकै अहिले हो,’ उषाले राजनीतिमा आउनुको कारण खुलाइन्, ‘म राजनीति र पार्टीलाई सँगसँगै लैजान्छु । युवाहरूलाई राजनीति बुझ्न र नेतृत्व गर्नका लागि भूमिका खेल्छु । अब युवाहरूले गुनासो गरेर बस्ने होइन, आफैं सुधारका लागि लाग्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

उषा सापकोटा ।

प्रदेश कार्यसमितिमा उम्मेदवार बन्न क्रियाशील सदस्यता लिएको दश वर्ष हुनुपर्ने विधानको व्यवस्था छ । त्यसैले पहिलो पटक क्रियाशील सदस्यता लिएकी उषा मतदाता भएर प्रदेश कमिटी चयनमा सहभागी हुनेछिन् ।

बागलुङको काठेखोला गाउँपालिका-५ कि उषा प्रदेश सभा निर्वाचन क्षेत्र (क)बाट प्रदेश प्रतिनिधिमा निर्वाचित भएकी हुन् । उनी जस्तै पार्टी राजनीतिमा सक्रिय युवाहरूको संख्या कांग्रेसमा पछिल्लो पटक उत्साहजनक देखिएको छ ।

सुशान्त आचार्य

साढे ८ लाख बढी क्रियाशील सदस्य रहेको कांग्रेसमा १८ देखि ४० वर्ष उमेर समूहका ३३ प्रतिशत छन् । १८ देखि २४ वर्ष उमेर समूहका क्रियाशील सदस्यता संख्या झण्डै पचास हजार छ । जहाँ ७५ वर्षभन्दा माथि उमेरका क्रियाशील सदस्य १२ हजारको हाराहारीमा छ । यसले पनि बुढापाकाको पार्टी भनेर चिनिने कांग्रेसमा अब नयाँ पुस्ताको आकर्षण बढेको संकेत गर्छ ।

‘राजनीति समाजका हरेक क्षेत्रसँग जोडिन्छ । राजनीति खराब हो भन्छौं तर राजनीतिमा हामी संलग्न हुँदैनौं । म मात्रै होइन, मेरा अरु साथीहरूलाई पनि राजनीतिमा आउन म त प्रेरित गर्छु,’ काठमाडौं क्षेत्र नं. ७ बाट बागमती प्रदेश प्रतिनिधि निर्वाचित भएका २२ वर्षीय सुशान्त आचार्य भन्छन् ।

कांग्रेसका स्वर्गीय नेता नविन्द्रराज जोशीलाई आफ्नो राजनीतिक प्रेरक ठान्ने आचार्य युवाको राजनीतिमा हस्तक्षेपकारी भूमिका आवश्यक रहेको बताउँछन् ।

काठमाडौं क्षेत्र नं. ७ बाटै १८ वर्षका सुल्तान मियाँ पनि प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् । अब आचार्य र मिया दुबैले कांग्रेसको बागमती प्रदेश कमिटी चयनमा मतदान गर्न पाउनेछन् ।

एलिजा ढकाल

नेपाल विद्यार्थी संघकी पूर्वकेन्द्रीय सदस्य एलिजा ढकालले भ्रातृसंस्थाहरू निस्क्रिय भएकाले युवाहरू पार्टी राजनीतिमा सक्रिय भएको बताइन् । ‘युवाहरू जोडिने भनेको कि नेविसंघमा हो कि तरुण दल । तर यी दुवै संगठन लामो समयदेखि निस्क्रिय छन्,’ उनले भनिन्, ‘भ्रातृसंस्था चलायमान नहुँदा युवाहरू र नयाँ पुस्ता पार्टीको मूलधारकै राजनीतिमा बढी आकषिर्त भएको हो ।’ उनी पनि यसपटक तनहुँबाट सर्वाधिक मत ल्याएर प्रदेश प्रतिनिधि निर्वाचित भएकी हुन् ।

‘क्षेत्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि भनेको भोटिङ राइट्स हो नि पार्टीभित्र । नेताहरू चयन गर्ने प्रक्रियामा युवाहरूले आफ्नो सहभागिता पनि खोजेका हुन्,’ युवा नेता ढकाल थप्छिन्, ‘आफ्नो नेतृत्व आफैं छान्ने प्रक्रियामा युवाहरूको हस्तक्षेप पनि हो । सिधै पार्टीसँग जोडिने माध्यम बन्यो महाधिवेशन ।’

युवाहरूमूलधारको राजनीतिमा सक्रिय हुँदा त्यसले पार्टीलाई पनि गतिशील बनाउन भूमिका खेल्ने ढकालको दावी छ । ‘अब कांग्रेस बुढापाकाको होइन, तन्नेरीहरूको बन्यो । पार्टीमा परम्परावादी सोच र विचारमाथिको विद्रोह हो यो,’ उनको दावी छ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४-२६ सम्म काठमाडौंमा हुँदैछ । युवाहरूको क्रियाशील सदस्यता संख्यामा वृद्धि र विभिन्न तहका अधिवेशनमा युवाको हस्तक्षेपकारी भूमिकाले केन्द्रीय कार्यसमिति चयनमा कति प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी छ ।

लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?