+
+

जीवनको मूल्य बुझाउने विद्यार्थीका कला

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ मंसिर ६ गते १८:३७

६ मंसिर, काठमाडौं । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा काठमाडौं विश्वविद्यालयमा स्नातक तहको ललितकला (फाइनआर्टस्) विषय अध्ययनरत विद्यार्थीहरूको कला प्रदर्शनी भइरहेको छ । ६ दिने प्रदर्शनीको अन्तिम दिन सोमबार विद्यार्थीका कला हेर्न कला पारखी युवा र कलाकारहरू पुगे ।

स्नातक तहको अन्तिम वर्षमा अध्ययन गरिरहेका २६ जना विद्यार्थीहरूको यो कला प्रदर्शनी विविधताले भरिएको छ । कला भन्नेबित्तिकै कूचीले क्यानभासमा बनाएको चित्र मात्र बुझ्ने परिपाटीलाई नाघेर यहाँ इन्स्टलेसन आर्ट, डिजिटल भिडियो, इलस्ट्रेसन आर्टजस्ता विधाका कला राखिएका छन् ।

कोही विद्यार्थीले काठको ढोका नै राखेर इन्स्टलेसन आर्ट प्रस्तुत गरेका छन् भने कोहीले पेन्सिल आर्ट, कोहीले महिनावारीसम्बन्धी भिडियो, कोहीले किताब राख्ने र्‍याकमा किताब सजाएर कला प्रस्तुत गरेका छन् ।

प्रदर्शनीमा सुजाता खड्काले हिन्दु महिलाहरूको योनीलाई मात्र स्त्रीत्व देख्ने परिपाटीमाथि प्रश्न गर्दै योनीको चित्र बनाएकी छन् । ती चित्रलाई तीन दर्जन फ्रेममा राखेर भित्तामा झुण्डाइएको छ । जसले परम्परागत धारणामाथि बलियो प्रश्न गरेको छ ।

‘अघिल्ला वर्षमा लकडाउनका कारण काठमाडौं विश्वविद्यालयका विद्यार्थीले सिर्जना गरेको कला भर्चुअल रुपमा मात्र प्रदर्शनी,’ खड्काले भनिन्, ‘यो वर्ष हामीले प्रत्यक्ष रुपमा प्रदर्शनी गर्न पाएका छौं । यसले गर्दा अवलोकन गर्नेहरूबाट प्रत्यक्ष प्रतिक्रिया पाइरहेका छौं ।’

कलाकार सञ्जु थापा मगरले आफू गाउँमा हुर्किएको र शहरमा पढ्न बस्दा गाउँको याद धेरै आइरहने कुरालाई लिएर चित्र बनाएकी छन् । उनी भन्छिन्, ‘राजधानी बस्दा पनि मलाई गाउँको रमाइला चाडपर्व, मेला र दैनिकी याद आइरहन्छ । तिनै यादगार कुराहरुलाई मैले आफ्ना चित्रमा समेट्न खोजेको छु ।’

कलालाई जुनसुकै माध्यमबाट पनि देखाउन सकिन्छ भन्ने सोचका यी युवा कलाकारले आफूले बनाएको प्रत्येक कलाको पुस्तक समेत तयार पारेका छन् । साथै प्रत्येक कलाकारले छुट्टाछुट्टै पुस्तक तयार पारेर आफूले बनाएको कलाको फोटो र धारणा उल्लेख गरेका छन् । आफ्नो धारणा लेखेर प्रदर्शनीस्थलको भित्तामा टाँसेका छन् ।

जसले गर्दा प्रदर्शनी हेर्नेहरूले युवा कलाकारको परिचय र कलाचेत प्रष्ट बुझ्ने अवसर पाएका छन् ।

छेवाङ गुर्मे लामाले भने हिमाली क्षेत्र नुब्री उपत्यकाको गाउँमा गलैंचा तथा लुगा बुन्न प्रयोग हुने तानलाई कलाको रुप दिएका छन् । उनले धागोसहितको तान राखेर त्यसको छेउमा डिजिटल डिस्प्लेबाट तान बुनिरहेको भिडियो पनि राखेका छन् ।

रिचेन सिंहले बालबालिकाको मनोविज्ञानलाई केन्द्रमा प्रकृतिसम्बन्धी पोस्टर र पुस्तिका तयार पारेकी छन् । अधिकांश सर्जकले बालसाहित्य मात्र कलम चलाएको तर बालबालिकालाई शिक्षाप्रद हुने कला सिर्जना गर्न नसकेका कारण आफूले चित्रसहितको पुस्तिका तयार पारेको सिंहले बताइन् ।

अधिकांश कलाकार २० देखि २५ वर्ष उमेरका छन् । उनीहरूको कला अवलोकन गर्न पुगेकी कलाकार एरिना ताम्राकारले पनि युवाहरूलाई उत्प्रेरणा दिन आफूलाई मन परेका कलाको तस्वीर सामाजिक सञ्जालमा राखेकी छन् ।

‘आजका युवाहरूको कला नै भोलिको नेपाली कलाको आधार हो,’ एरिनाले भनिन्, ‘विविधताले भरिएका यी कला अवलोकनपछि भोलिको नेपाली कला अन्तर्राष्ट्रिय स्तरको र व्यावसायिक बन्ने विश्वास लिएको छु ।’

कलाकार जुपिटर प्रधान पनि युवा कलाकारले जीवन र अस्तित्वको खोजलाई केन्द्र बनाएर कला सिर्जना गरेको बताउँछन् । उनी भन्छन्, ‘विद्यार्थीहरूले महामारीका कारण आफ्नो सेरोफेरोमा पाइने कच्चा पदार्थलाई नै आधार बनाएर सिर्जना गरेका छन् । साथै महामारीको संकट भएकाले जीवनको मूल्यबोध गरिएका सिर्जनामा उनीहरूको विशेष रुचि देखिन्छ ।

विद्यार्थीहरूको यो प्रदर्शनीको नाम ‘अन/कन्फाइन्ड’ दिइएको छ । औपचारिक अध्ययनपछि व्यावसायिक कलाकारितामा सक्रिय हुन खोजिरहेका यी युवा कलाकारको प्रदर्शनी विश्वविद्यालयले प्राक्टिकल परीक्षाको दर्जामा समेत राख्ने गर्छ ।

आशिष श्रेष्ठ, अनुशा गुरुङ, सुमित डंगोल, सोफिया महर्जन, सुजाता खड्का, निलिमा महर्जन, ऐश्वर्या शाक्य, सञ्जु थापा मगर, रियाज नरसिंह थापा, सुजान श्रेष्ठ र कृपा तुलाधरले स्टुडियो आर्टतर्फका कला प्रदर्शनीमा राखेका छन् । ग्राफिक कम्युनिकेसनतर्फ ठिन्ले लामा, छेवाङ लामा, अमन महर्जन, मिली महर्जन, कृति प्रजापति, सरोज श्रेष्ठ, रिचेन सिंह, स्पृहा श्रेष्ठ, अशोक श्रेष्ठ, मञ्जिल रिजाल, निजा महर्जन, स्वर्णिम बज्राचार्य, सुलभ थापा, जोनसन लिम्बू र आर्शिया श्रेष्ठका कला राखिएका छन् ।

तस्वीर : शंकर गिरी

लेखकको बारेमा
निर्भीकजंग रायमाझी

साहित्यमा रुची राख्ने रायमाझी साहित्य र कला बिषयमा रिर्पोटिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?