+
+

ए डिभिजन लिग : चर्चामा प्रशिक्षकको ‘टु-पीस’देखि खेलाडीको हेयरस्टाइलसम्म

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ मंसिर ७ गते ११:४३

७ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७८ को पहिलो चरण अर्थात म्याच विक वानका खेलहरु सकिएका छन् । १४ क्लब सहभागी लिगमा पहिलो चरणमा ७ खेल भए । पहिलो चरणका खेलमा खेलाडीका हेयरस्टाइलदेखि प्रशिक्षकका ‘टु-पीस’ चर्चामा रहे ।

फ्लड लाइटमा खेलाइएको उदघाटन खेलमा फ्रेण्ड्स क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए । सात खेलमध्ये चार खेलको स्पष्ट नतिजा आउँदा तीन खेल बराबरीमा सकिए । त्यसमा पनि दुई खेल एक/एकको बराबरी र एक खेल गोलरहित बराबरीमा सकियो । ब्रिगेड ब्वाइज युनियन र एपीएफ फुटबल क्लबबीचको खेलमा कुल पाँच गोल भयो । एउटा खेलमा मात्र गोल भएन । पहिलो चरणमा कुल १६ गोल हुँदा १४ खेलाडीले गोल गरे ।

यसपटक एन्फाले टिकट दर १०० रुपैयाँ मात्रै राखेर दर्शकलाई आकर्षित गर्ने प्रयास गरेको थियो । यसबाट केही मात्रामा भए पनि दर्शकको संख्या बढेको देखियो । विशेषगरी थ्री स्टार र च्यासल युथ क्लबबीचको खेल हेर्ने दर्शकको उपस्थिति राम्रै थियो ।

उल्लेख गर्नलायक केही क्षणहरु यस्ता थिए –

पहिलो खेलमै रातो कार्ड

सिजनको पहिलो खेलमै रेफ्रीले रातो कार्ड देखाए । फ्रेण्ड्स र सातदोबाटो युथ क्लबबीचको खेलमा फ्रेण्ड्सका विदेशी खेलाडी गार्सियाले रातो कार्ड पाएका थिए । रोनेल एन्टोनी पउलले खेलको ७६ औं मिनेटमा रातो (दोहोरो पहेंलो) कार्ड पाएका थिए । उनले पहिलो पहेंलो कार्ड ६१औं मिनेटमा पाएका थिए ।

एक खेलाडी कम भए पनि फ्रेण्ड्सले सातदोबाटोलाई गोल गर्न भने दिएन । लिगको उदघाटन खेल नै गोलरहित बराबरीमा सकिएको थियो । रेलिगेसनबाट बच्ने लक्ष्य रहेको फ्रेण्ड्स अनि पहिलो पटक ए डिभिजन लिग खेलेको फ्रेण्ड्स ले एक/एक अंक जोड्दै लिग सुरुआत गरेको छ ।

नयाँ प्रशिक्षकको नयाँ रणनीति

नेपालमा पछिल्लो समय एएफसी ए लाइसेन्स गर्ने प्रशिक्षकको संख्या बढ्दो छ । लिग अघि मात्रै विष्णु गुरुङ, बालगोपाल साहुखल, राकेश श्रेष्ठ र मनिष तिमल्सिनाले ए लाइसेन्स प्राप्त गरेका थिए ।

त्यसमध्ये बालगोपालले यसअघि नै च्यासल युथ क्लबमा प्रशिक्षण गरिसकेका थिए । विष्णु गुरुङले भने ‘ए’ लाइसेन्स पाएपछि लिगमा प्रशिक्षकको रुपमा डेब्यु गरे ।

उनले आफूले खेलेकै क्लब संकटाबाट प्रशिक्षणमा डेब्यु गरे । यही खेलमा हिमालयन शेर्पा क्लबका युगल किशोर राईले पनि प्रशिक्षकको रुपमा ए डिभिजन लिगमा डेब्यु गरे । संकटा र शेर्पाले एक/एकको बराबरी खेल्दै अंक बाँड्दा दुई नयाँ प्रशिक्षक ए डिभिजन लिगमा देखिए । नयाँ प्रशिक्षकको नयाँ रणनीति नै देखियो । दुवै टिमले राम्रो खेल प्रदर्शन गरेका थिए ।

यस्तै विभागीय टोली एपीएफ फुटबल क्लबका प्रशिक्षक कुमार थापाले पनि ए डिभिजनमा प्रशिक्षकको रुपमा डेब्यु गरे । मनाङ मर्स्याङ्दीबाट खेल्दै ३ उपाधि जितेका उनले करियरको उत्तरार्द्धमा एपीएफबाट पनि खेले ।

राष्ट्रिय महिला टिमको प्रशिक्षक रहिसकेका थापाले ए डिभिजनमा प्रशिक्षकको रुपमा डेब्यु गर्दा सुखद नतिजा भने आएन । एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३-२ ले पराजित भयो ।

डिफेण्डरको ३ गोल, विकासको पेनाल्टी मिस

लिगको दोस्रो दिन ललितपुरका दुई क्लब थ्री स्टार र च्यासलबीच प्रतिस्पर्धा भयो । थ्री स्टारले ३-० ले जितेको उक्त खेलमा तीन डिफेण्डरले गोल गरे । निशान खड्का, राफायल रिम र अनन्त तामाङको गोलमा थ्री स्टारले ३ अंक जोड्दै सुखद सुरुवात गर्‍यो । अर्कोतर्फ इटलीबाट ए डिभिजन लिग खेल्न आएका च्यासलका युवा फरवार्ड विकास मेराग्लिया भने पेनाल्टीमै चुके

अनन्त तामाङले विकासलाई फाउल गरेपछि प्राप्त पेनाल्टी विकास आफैंले प्रहार गरेका थिए । तर उनको प्रहार थ्री स्टारका क्यामरुनी गोलकिपर प्रिसोजले बचाए । यस लिगमा कुनै पनि टोलीले पाएको यो पहिलो पेनाल्टी थियो र पेनाल्टी ‘सेभ’ भएको पनि पहिलो नै रह्यो ।

दिनेश चम्किएको दिन

तेस्रो दिनको खेलमा दुई दिनेश चम्किए । दिनेश राईको दुई गोलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्‍यो ।

दिनेशले दुई पटक ब्रिगेडलाई अग्रता दिलाएका थिए । एपीएफका लागि आशिष लामा र विके तामाङले बराबरी गोल फर्काएका थिए । तर इन्जुरी टाइममा सुरज गुरुङले गोल गर्दै ब्रिगेडलाई जित दिलाएका थिए ।

अर्को खेलमा दिनेश राजवंशीको गोलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई १-० ले हरायो । अन्जन विष्ट, ओलावाले आफिज जस्ता खेलाडी रहेको मनाङलाई जित दिलाउन डिफेण्डर राजवंशीले दोस्रो हाफमा गोल गरेका थिए ।

चर्चा कपालको

आइतबार मनाङ मर्स्याङ्दी कप्तान अन्जन विष्ट फरक हेयर स्टाइलमा देखिए । उनले कपाल सिल्भर कलरले रंगाएका थिए । जावालखेल विरुद्ध पहिलो खेलमा मनाङ १-० ले विजयी हुँदा डिफेण्डर दिनेश राजवंशीले गोल गरे । फरवार्ड अन्जनले गोल त गर्न सकेनन् तर उनको हेयर स्टाइलले राम्रै चर्चा पायो ।

यस्तै सोमबार साविक विजेता मछिन्द्रले एनआरटी विरुद्ध खेल्दा अधिकांश खेलाडीले कपाल सिल्भर कलरमै रंगाएका थिए । अजरवैजानी खेलाडी नुर्लान नोभ्रुजोले कपाल रंगाएर नेपाल आएका थिए । टिमका अन्य नेपाली खेलाडीले भने सिल्भर कलरमा कपाल रंगाएका थिए । गोलकर्ता सुनिल बलसहित अभिषेक रिजाल तथा दुई विदेशी खेलाडी आन्द्रेश निया र करिम ओमालजा बाहेक मैदान उत्रेका अन्य १० खेलाडीले कपाल रंगाएका थिए ।

विभागीय डर्बी बराबर

विभागीय टोली मैदानमा उत्रँदा प्रतिष्ठाको लडाइँ पनि हुन्छ । लिगको पहिलो चरणमै दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भयो । सोमबार भएको खेल १-१ को बराबरीमा सकियो । साविक उपविजेता आर्मी यसपटक च्याम्पियन बन्ने लक्ष्यसहित लिग खेल्दैछ । तर आर्मीले पहिलो गोल व्यहोर्यो । पुलिसका सन्तोष हेमरुनले पहिले गोल गर्दै अग्रता दिलाएका थिए । तर आर्मीका विवेक बस्नेतले बराबरी गोल फर्काउँदै सम्भावित हारबाट जोगाए ।

५८ औं मिनेटमा दिनेश हेन्जनको स्थानमा मैदान प्रवेश गरेका विवेकले त्यसको तीन मिनेटपछि नै गोल गरेका थिए ।

टु पिसमा प्रशिक्षक

नेपाली प्रशिक्षकहरु प्राय टचलाइनमा रहँदा स्पोर्टी लुक्समा हुन्छन् । ट्रयाक लगाएर बस्छन् । तर ए डिभिजन लिगमा प्रशिक्षक ‘टु पिस’ अर्थात कोर्ट पाइन्ट लगाएर खेलाडीलाई निर्देशन दिइरहेका थिए । यसो गर्नेमा संकटा क्लबका प्रशिक्षक विष्णु गुरुङ र एपीएफका प्रशिक्षक कुमार थापा थिए ।

दुवैले प्रशिक्षकको रुपमा ए डिभिजन लिगमा डेब्यु गरे । त्यो पनि आफैंले खेलेको क्लबमार्फत । पहिलो खेलमा दुवै प्रशिक्षकले जित हात पार्न त सकेनन् तर उनीहरुले लगाएको टु पिसको चर्चा भने भयो ।

पहिलो चरणको खेलको नतिजा र गोलकर्ता

फ्रेण्ड्स ०-० सातदोबाटो

हिमालयन शेर्पा १ (त्रिदेव गुरुङ)-१ संकटा -लक्ष्मण रुचाल)

च्यासल ०-३ थ्री स्टार (निशान खड्का, अनन्त तामाङ, राफायल रिम)

ब्रिगेड ३ (दिनेश राई-२ गोल, सुरज गुरुङ)-२ एपीएफ (आशिष लामा, विके तामाङ)

जावलाखेल ०-१ मनाङ (दिनेश राजवंशी)

पुलिस १ (सन्तोष हेमरुन)-१ आर्मी (विवेक बस्नेत)

मछिन्द्र २ (सुनिल बल/२ गोल)-१ एनआरटी (एरिक विष्ट)

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?