
९ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै पेशाकर्मीहरुले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म पैदल हिँडेर विरोध प्रदर्शन गरेका छन् ।
नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यालय, रामशाहपथबाट सुरु भएको बालुवाटार न्याय मार्च भद्रकाली, शहीदगेट, सुन्धारा, हुदै बालुवाटार पुगेको थियो ।
विरोध र्यालीमा नेपाल बार एशोसिएसनका साथै बृहत नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल इन्जिनियर्स एशोसिएसनलगायतका पेशाकर्मी संघसंगठनहरु सहभागी थिए । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) को सहभागितामा भएको विरोध र्यालीमा नागरिक समाजले पनि ऐक्यवद्धता जनाएको थियो ।
नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरु न्याय खोज्न सर्वोच्च अदालतदेखि बालुवाटारसम्म आइपुगेको बताए । उनले अन्याय र विचौलियाको पोषकको रुपमा प्रधानन्यायाधीश जबरा सर्वोच्चमा बसिरहेको भन्दै आफूहरुले उनलाई नमान्ने बताए । ‘हामीले उनलाई प्रधानन्यायाधीश मान्दैनौं । हामी अर्को प्रधानन्यायाधीशको खोजीमा छौं’ उनले भने।
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरा संलग्न इजलासका आदेश र फैसलाहरु संकलन गरेर अध्ययन गर्ने काम भइरहेको पनि बताए । उनले आफूहरुले न्यायपालिकाको शुद्धिकरणका लागि यो आन्दोल गरेको पनि बताए ।
प्रतिक्रिया 4