१२ मंसिर, काठमाडौं । आठ महिनाअघि सार्वजनिक लोकदोहोरी गीत ‘चौका दाउ’ले स्रोता–दर्शकबाट राम्रो माया पायो । शान्तिश्री परियार र बाबुकृष्ण परियारको स्वर, सुनिल क्षेत्री र गीता ढुंगानाको अभिनय रहेको गीतको भिडियोले युट्युबमा ३ करोड १३ लाख बढी भ्युज पाइसकेको छ ।
विजय चन्द दर्पणको शब्द रहेको गीतमा बाबुकृष्ण परियारको संगीत, सुनिल परियारको संगीत संयोजन थियो । सुनिल क्षेत्रीको कोरियोग्राफी तथा निर्देशनमा सो गीतको भिडियो तयार भएको थियो ।
सोही टिमले दुई दिनअघि नयाँ गीतको भिडियो सार्वजनिक गरेको छ । गीतको बोल छ, ‘राजा रानी’ । गीतमा विजय चन्द दर्पणकै शब्द, बाबुकृष्ण परियारको संगीत, बाबुकृष्ण र शान्तिश्री परियारकै स्वर छ । सुनिलकै कोरियोग्राफी तथा निर्देशनमा बनेको भिडियोमा सुनिल र गीताकै अभिनय छ । यो गीतको भिडियोलाई निर्माण टिमले सात दिन लगाएर खिचेको हो । म्युजिक भिडियोमा सात दिन लगाएर खिचिएको सम्भवतः यो नै पहिलो हो ।
भिडियोका कोरियोग्राफर, निर्देशक एवं मोडल समेत रहेका सुनिल क्षेत्रीले केही नयाँ गर्ने आफूहरुको प्रयासस्वरुप सात दिन लगाएर भिडियो खिचिएको बताए । उनले भने, ‘भिडियोका लागि ७ दिन आवश्यक छ÷छैन भन्दापनि हामीले आफ्नो पहिचान बनाउने हिसाबले केही नयाँ गर्न खोजिएको हो ।’
चितवनको जलवीरे झरना, कर्णाली चिसापानी, कर्णाली पुल, दाङ, जनकपुर लगायतका स्थानमा भिडियो छायाँकन गरिएको छ । निर्देशक क्षेत्रीले भिडियोका लागि एकदमै मेहनत गरिएको बताए ।
भिडियोका लागि ७ लाख रुपैयाँ बढी खर्च भएको उनको भनाइ छ । भिडियोले यत्तिको महंगो लगानी उठाउला त ? निर्देशक क्षेत्री भन्छन्, ‘चौका दाउले लगानीको चार गुणा उठायो । सोही टिमको भिडियो भएकाले दर्शक–स्रोतालाई केही नयाँ देखाउँ भनेर प्रयास गरेका हौं । काम राम्रो गरेका छौं । अहिले भ्युज सुस्त भएपनि विस्तारै बढ्दै गएर लगानी पनि उठ्ला ।’
गीत पनि राम्रो र आकर्षक दृश्यमा खिचिएको भिडियोले पनि दर्शकको ध्यान तान्न सक्ने देखिन्छ । तर, भिडियोले अपेक्षित भ्युज भने पाउन सकेको छैन । केही दिनअघि टिजर सार्वजनिक गरिएपनि भिडियोले स्रोता–दर्शकको ध्यान त्यति तान्न सकेको छैन । दुई दिनमा (आइतबार दिउँसोसम्म) भिडियोले १ लाख समेत भ्युज पाएको छैन ।
प्रतिक्रिया 4