
१२ मंसिर, काठमाडौं । बलिउडमा यतिबेला सेलिब्रेटीहरुको विवाहको सिजन चलिरहेको छ । केही दिनअघि मात्रै अभिनेता राजकुमार रावले आफ्नी प्रेमिका पत्रलेखासँग विवाह गरे भने सुपरस्टार जोडी कट्रिना कैफ र विक्की कौशल पनि आगामी डिसेम्बरमा विवाह बन्धनमा बाँधिदैछन् ।
कट्रिना र विक्कीले डिसेम्बर ९ मा जयपुरको एक रिसोर्टमा विवाह गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो सूचीमा अब टेलिभिजनकी ‘नागिन’ भनेर चिनिने अभिनेत्री मौनी राय पनि थपिएकी छन् । मौनी आगामी जनवरीमा आफ्ना प्रेमी सुरज नाम्बियारसँग विवाह बन्धनमा बाँधिन गइरहेको उनकी बहिनीले खुलासा गरेकी छन् ।
लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका मौनी र सुरजले जनवरी २७ मा विवाह गर्ने बताइएको छ । दुवै वैवाहिक समारोहका आकर्षक स्थान खोजिरहेको समाचारमा जनाइएको छ । मौनीकी बहिनीका अनुसार विवाह इटली वा दुबईमध्ये एक स्थानमा हुनेछ ।
मौनीका प्रेमी सुरज बैंकर हुन् । उनी दुबईमा बस्ने गर्दछन् । मौनी कस्तुरी, नागिन, नागिन २, टशन ए इश्क, जूनून, ऐसी नफरत तो कैसा इश्क, झलक दिखला जा, एक था राजा एक थी रानी लगायतका सिरियलमा अभिनय गरेकी छन् । उनी ‘नागिन’बाट सर्वाधिक चर्चामा आएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4