+
+

माओवादी केन्द्रका नेता पुनको स्वास्थ्यमा प्रारम्भिक सुधार

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते ११:०८

१३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ । पुनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको बताएकी हुन् ।

गत शुक्रबार थाइल्याण्डको बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटलमा लगेर सोही दिनबाट पुनको उपचार सुरु गरिएको थियो । पुन जण्डिससँग सम्बन्धित एकप्रकारको दुर्लभ रोगबाट पीडित छन् । चीनमा उनको उपचार गर्न तीन दर्जन भन्दा बढी चिकित्सक र नर्सको टोली खटिएका छन् ।

पछिल्लो परीक्षण अनुसार नेता पुनलाई सताएको विश्वमै विरलै देखिने जण्डिस -बिलरुविन)को मात्रा समेत घटेर १८ मा झरेको छ । यसअघि बैंककमा छँदा बिलरुविनको मात्रा २२ थियो । बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने बान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्या सुधार भएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाईंले भने, ‘आज मात्रै मेरो भिडियो कल भएको थियो, उहाँको हिजोदेखि शरीर चिलाएको छैन रे । खान थाल्नु भएको छ, सबैसँग कुरा गर्न थाल्नुभयो । अध्यक्ष प्रचण्डसँग पनि हिजो बेलुका भिडियो कल गर्नुभयो । बैंककबाट चीन उड्दा शरीर सुन्निएर ७२ केजी थियो अहिले घटेर ६७ केजीमा झरेको छ । दिसामा रगत जाने समस्या थियो, त्यो पनि बन्द भएको छ रे ।’ चिकित्सकले अहिलेकै गतीमा स्वास्थ्यमा सुधार हुँदै गए पुन निको भएर छिट्टै नेपाल र्फकने बताएको पनि चापागाईंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?