
बलिउड अभिनेता शाहरुख खानलाई महिलाहरुले धेरै नै प्रेम गर्छन् । संसारभर उनका लाखौं महिला फ्यानहरु छन्, जो आफ्नो जीवनमा जोडिने युवा शाहरुख जस्तै होस् भन्ने चाहन्छन् ।
आखिर महिलाहरु शाहरुखलाई यति धेरै किन मन पराउँछन् होला ? बीबीसी हिन्दीले सामाजिक सञ्जालमा यही प्रश्न गर्दै महिला फ्यानहरुको मत लिएको छ ।
शाहरुख खानलाई महिलाहरुले मन पराउने विविध कारण छन् । शाहरुख महिलाहरुलाई उच्च सम्मान गर्छन् । कतिपय महिला शाहरुखको खुलेर बोल्ने बानीलाई मन पराउँछन् । नाम र दामको विषयमा आफ्नो यात्रालाई लिएर स्पष्ट बोल्ने शाहरुखको बानीलाई उनीहरु मन पराउँछन् ।
लेखिका शरण्या भट्टाचार्यले जब शाहरुखको विषयमा दर्जनौं महिला समर्थकहरुलाई यो प्रश्न सोधेकी थिइन्, जसमा अधिकांशले शाहरुखले चलचित्रमा देखाएको प्रेमलाई मन पराएका छन् ।
यो सूचीमा हिन्दु, मुस्लिम र इसाई महिलाहरु पनि छन् । शाहरुख ९० को दशकमा दर्शकमाझ आएका थिए । यो यस्तो एक समय थियो, जतिबेला एकपछि अर्को आर्थिक सुधारका कारण भारतलाई विश्वमाझ नयाँ परिचय दिएको थियो ।
महिलाहरु विभिन्न समस्याबाट पीडित थिए । उनीहरुलाई चलचित्रको पर्दामा देखिने शाहरुख मन पथ्र्यो । विशेषगरी अधिकांश महिलाहरु पर्दामा देखिने शाहरुख जस्तो आफूहरुको छोरा, श्रीमान् र प्रेमी किन देखिँदैनन् भनेर प्रश्न गर्थे ।
शाहरुखको नायिकाप्रतिको समर्पणले के कुराको पुष्टि गर्छ भने उनी महिलाहरुको विषयमा बढी चिन्ता गर्छन् र उनको कुरा सुन्छन् ।
शाहरुखको कैयौं भूमिकाको आफ्नै पहिचान छ । जहाँ नायक आफ्नो भाग्यलाई लिएर चिन्तित देखिन्छन् । यी भूमिकाको विशेषता के छ भने उसले महिलालाई आफ्नो आदर्श साथी मान्छ ।
चलचित्रको पर्दामा देखिने शाहरुखको भूमिकामा उनी रोइरहेका हुन्थे । किनकि, बलिउडमा नायकहरु रोएको कमै मात्र देख्न पाइन्छ । यसको मतलब यो हो कि, शाहरुख कहिल्यै पनि पर्दामा आफ्नो भावनालाई लुकाउँदैनन् । साथै, उनले नायिकाको भावनामा कहिले पनि खेलवाड गरेनन् ।
एक गार्मेन्टमा काम गर्ने मुस्लिम महिलाले भनेकी छन्, ‘साँच्चै, मेरो श्रीमान् पनि मलाई त्यही तरिकाले छुने वा सोही तरिकाले कुरा गर्ने होस्, जसरी शाहरुखले काजोलको साथमा ‘कभी खुशी कभी गम’मा गरेका छन् । तर, मलाई थाहा छ कि त्यस्तो कहिल्यै पनि हुँदैन । मेरो श्रीमानको हात र मुड यति कठोर छ कि, मैले उनीबाट सो कुराको अपेक्षा गर्नु बेकार छ ।’
आफ्नो वैवाहिक जीवनबाट बेखुसी रहेकी एक महिलाले आफ्नो छोरालाई असल मान्छे बनाउन चाहन्थिन् । उनी आफ्नो छोरा श्रीमतीलाई असाध्यै माया गर्ने र छोराको साथमा रहँदा उसकी श्रीमतीले सुरक्षाको महसुस गर्न सक्ने खालको बनाउन चाहन्थिन् । चलचित्रको पर्दामा शाहरुखले नायिकाहरुलाई देखाएको व्यवहारबाट उनी प्रभावित थिइन् ।
‘दिलवाले दुल्हनियाँ ले जायंगे’ शाहरुखको करिअरकै सबैभन्दा हिट चलचित्र हो । यो चलचित्रमा शाहरुखले खाना बनाउँदै गरेको, महिलाको साथमा घरको काम गरेको देख्न सकिन्छ । यही दृश्यले महिलाहरुको मन छोएको छ ।
शाहरुखसँग विवाह गर्ने सपना पनि थुप्रै महिलाले देखेका छन् । शाहरुख बलिउडकै धनी नायक भएको कारणले उनीहरु यो सपना देखिरहेका छैनन् । शाहरुखले अरुको भावनालाई सम्झिने कोशिश गर्ने भएकाले महिलाहरुले यो सपना देखेका हुन् । शाहरुखको फ्यानको सूचीमा हरेक वर्गका महिला छन् । कैयौं महिलाहरुले पैसाको अभावमा शाहरुखको चलचित्र हेर्न पाएका छैनन् । तर, उनका चलचित्रका गीतहरुले नै उनीहरुलाई शाहरुखको फ्यान बनाएको छ ।
शरण्या भन्छिन्, ‘महिलाहरुले मस्ती गर्न सकुन् भन्ने सोचाइ यो समाजका लागि मुस्किल नै छ । किनकि, कुनै महिलाले गीत मन परेकै कारण कुनै कलाकारलाई मन पराएको अवस्थामा पनि उनीहरुमाथि विभिन्न खालको टिप्पणी गरिन्छ ।’
शाहरुखको चलचित्र हेर्न कसैको रोकटोक नहोस् भन्ने पनि महिलाहरु चाहन्छन् । तर, एक महिलाले आफ्नो हुनेवाला श्रीमान् शाहरुखको फ्यान नभएकै कारण बिहे नै नगरी घरबाट भागेको कथा समेत सुनाएकी छन् । कतिपय महिलाले शाहरुखको अन्तर्वार्ता हेरेर अंग्रेजी सिकेको पनि उल्लेख गरेका छन् ।
शाहरुख खान बलिउडका लागि एक स्तम्भ बनेका छन् । बलिउडमा उनको प्रवेश भएपछिको समय र आजको समयमा धेरै परिवर्तन आएको छ ।
बीबीसी हिन्दीबाट
प्रतिक्रिया 4