News Summary
Generated by OK AI. Editorially reviewed.- शाहरुख खानका पुर्खाहरू पाकिस्तानको पेशावर शहरका विभिन्न मोहल्लासँग जोडिएका छन् र उनका पिता मीर ताज मोहम्मद सन् १९२८ मा त्यहाँ जन्मिएका थिए।
- शाहरुख खानले टेलिभिजन सिरियल 'फौजी' बाट राष्ट्रिय प्रसिद्धि पाए र त्यसका लागि कडा परीक्षा पनि दिएका थिए।
- शाहरुख खानको पहिलो राष्ट्रिय पहिचान फिल्म 'दिलवाले दुल्हनिया ले जाएंगे' हो जसले सन् २००१ मा लगातार एक हलमा 'शोले'को रेकर्ड तोड्यो।
भारतका मान्छेहरू फिल्मका लागि पागल छन् भन्ने गरिन्छ । यो देशमा वार्षिक करिब १५०० देखि २००० फिल्महरू बन्ने गर्छन् । यति धेरै फिल्म बन्ने देशमा करिब ३० हजार स्क्रिनमा डेढ करोड मानिसले दैनिक फिल्म हेर्ने पनि बताइन्छ ।
अवश्य पनि उनीहरूले फरक-फरक कलाकारका फरक-फरक फिल्म हेर्छन् । उनीहरू सबैलाई एकै ठाउँमा ल्याउँदा एउटा भने ‘कमन’ कुरा निस्किन्छ । शाहरुख खान ।
उनको लोकप्रियताको अवस्था यस्तो छ कि मुम्बईमा मानिसहरू उनको बंगलालाई त्यसरी हेर्न जान्छन्, मानौँ त्यो कुनै पर्यटकीय स्थल हो । कहिलेकाहीँ शाहरुख खान बंगलाको टेरेसमा आएर आफ्ना प्रशंसकहरूलाई हात हल्लाएर उनीहरूको मन जित्छन् ।
पुर्खौली थलो पाकिस्तानको पेशावर
शाहरुख खानका पुर्खाहरू खोज्दा हामी पाकिस्तानको पेशावर नामक शहरसँग जोडिन पुग्छौं । यसबारे प्रसिद्ध फिल्म पत्रकार अनुपमा चोपडाले लेखेको शाहरुख खानको जीवनी ‘किङ्ग अफ बलिउड शाहरुख खान’ मा उल्लेख गरिएको छ।
उक्त पुस्तक अनुसार पेशावरमा एउटा टोल छ, ढाकी नाल बन्दी । त्यहाँ एउटा घर छ । त्यहाँ कुनै समय पृथ्वीराज कपुर बस्ने गर्थे । त्यहाँबाट पाँच मिनेटको दूरीमा अर्को टोल छ । डुमा गली, त्यहीँको एउटा घरमा दिलीप कुमारको जन्म भएको थियो ।
अनि ती दुवै घरको ‘वाकिङ डिस्टेन्स’ मा मोहल्ला शाहवाली कत्लको एउटा साँगुरो गल्लीको घर नम्बर ११४७ मा सन् १९२८ मा शाहरुख खानका पिता मीर ताज मोहम्मदको जन्मेका थिए ।
सन् १९४२ मा ‘भारत छोडो आन्दोलन सुरु भइसकेको थियो । जसले गर्दा करिब ६० हजार मानिसहरू गिरफ्तारीमा परिसकेका थिए । त्यो गिरफ्तारीमा मीर र उनका भाइ गामा पनि थिए ।
त्यस क्षेत्रको राजनीतिक अशान्तिले पढाइलाई प्रभावित गर्न सक्छ भन्ने देखेर मीरका परिवारले सन् १९४६ मा उनलाई दिल्ली पठाइदिएका थिए ।
सन् १९४७ मा भारत-पाकिस्तान विभाजन हुँदा मीर ताज मोहम्मद दिल्लीमा थिए, तर उनको भन्नका लागि आफ्नो कुनै देश थिएन । किनकि राजनीतिक गतिविधिका कारण उनलाई पेशावर जान प्रतिबन्ध लगाइएको थियो ।
१५ वर्षको उमेरमा पिता गुमाए
स्वतन्त्र भारतमा मीर ताज मोहम्मदले देशको पहिलो शिक्षामन्त्री मौलाना आजादविरुद्ध १९५२ मा चुनाव लडे, तर त्यसमा उनको हार भयो ।
स्वतन्त्रताको १३ वर्षपछि उनको भेट हैदराबाद निवासी फातिमासँग भयो । निकै मिहिनेतपछि मात्र उनले फातिमासँग विवाह गरे । त्यसपछि, शाहरुखको जन्म २ नोभेम्बर, १९६५ मा भयो ।
उनको दिल्लीको तलवार नर्सिङ होममा जन्म भएको थियो । उनी मीर र फातिमाका दोस्रो सन्तान थिए । त्यो समय उनीहरू दिल्लीको राजेन्द्र नगर क्षेत्रमा बस्ने गर्थे।
मोहर बसुले शाहरुखको जीवनी ‘लिजेन्ड, आइकन, स्टार शाहरुख खान’ मा शाहरुखका पिता उनलाई ‘यार’ भनेर बोलाउने गर्थे भनेर लेखेका छन् । साथै उनको बाल्यकाल ‘एङ्ग्री योङ म्यान’ अमिताभ बच्चनको समयमा बितेको र त्यस समय उनी अमिताभ बच्चनको ठूलो फ्यान भएको समेत लेखेका छन् ।
त्यसताका उनी आफ्नी साथी अमृता सिंहसँग अमिताभ बच्चनका फिल्म हेर्न जाने गर्थे । अनि पैसा बचाउन हलको सबैभन्दा अगाडि बस्ने गर्थे ।
शाहरुख, उनकी दिदी शहनाज र अमृता एउटै स्कुलमा पढ्ने गर्थे । अमृताले शाहरुखलाई पौडी खेल्न सिकाउने भरपूर कोसिस गरिन्, तर सकिनन् । अमृताले भने सन् १९८३ मा आएको ‘बेताब’ फिल्मबाट आफ्नो करियरको सुरुवात गरिन्।
शाहरुख मात्र १५ वर्षको हुँदा क्यान्सर रोगका कारण उनका बुबाको निधन भएको थियो ।
स्कुलका बदमासीहरू
अभिभावकले सन् १९७२ मा शाहरुखलाई दिल्लीको सेन्ट कोलम्बस स्कुलमा भर्ना गरिदिएका थिए । स्कुलमा नङ सफा राख्नु पर्ने र कपाल छोटो पार्नुपर्ने नियम थियो ।
यदि कोही केटाले लामो कपाल पालेको छ भने उनीहरूलाई नजिकैको कपाल काट्ने पसलमा पठाइन्थ्यो । त्यो सजाय पाउनेमा अक्सर शाहरुख परिरहन्थे ।
११औं कक्षामा भने उनले एक दिन छारे रोग लागेको झैं नाटक गरे । किनकि उनलाई कक्षामा बस्न अल्छी लागेको थियो । त्यस दिनबारे शिवनाथ झाले आफ्नो किताब ‘शाहरुख खान हिज इनक्रेडिबल जर्नी फ्रम चाइल्डहुड टु सुपरस्टारडम’ मा लेखेका छन् ।
जस अनुसार त्यस दिन शाहरुख भुइँमा लडे र उनको मुखबाट फिँज निस्कन थाल्यो । त्यसपछि अरु विद्यार्थीहरूले छालाको जुत्ता सुँघाएर मात्र शाहरुखको होस आउने बताए । शिक्षकले पनि पत्याए । जब शिक्षकले आफ्नो जुत्ता फुकालेर विद्यार्थीहरूलाई दिए, शाहरुखलाई डाक्टरकहाँ देखाउने बहाना बनाएर ती विद्यार्थीहरू कक्षा बाहिर निस्किए । उनीहरू दिनभर स्कुल बाहिर बरालिइरहे । यता एउटा जुत्ता नहुँदा शिक्षकले पूरै दिनभर खाली खुट्टा नै रहनुपर्यो ।
ब्यारी जोनको छत्रछायामा अभिनय
शाहरुखलाई अभिनयको धेरै नै सौख थियो । उनी दिल्लीको रामलीला कमिटी ‘राम चन्द्र छाबडा’ को रामलीलामा अभिनय गर्ने गर्थे।
शाहरुखले डेभिड लेटरम्यानको टिभी कार्यक्रम ‘माइ नेक्स्ट गेस्ट’मा बताए अनुसार रामलीलामा उनको भूमिका निकै सानो हुन्थ्यो । जस्तो: हनुमानले ‘सियापति रामचन्द्र की…’ भन्दा जय… भन्ने भूमिका शाहरुखको हुन्थ्यो ।
शाहरुखलाई सबैभन्दा पहिले दिल्लीका एक नाट्यकर्मी र थिएटर आर्ट ग्रुपका संस्थापक ब्यारी जोनले उनी फिल्ममा हुनुपर्छ भनेर बताएका थिए । शाहरुखले समेत उनको एक नाटक ‘एनी गेट यौर गन’ मा काम गरेका थिए ।
शाहरुख त्यस जमानामा पनि आफ्नो अभिनयले मानिसहरूको ध्यान तान्ने गर्थे । उनको अभिनय प्राकृतिक हुन्थ्यो । तर, पनि त्यो समयमा उनी अभिनयको ‘क ख ग’ नै सिक्दै थिए ।
टिएजीका निर्देशक सञ्जय रोयका अनुसार सायद शाहरुख त्यस समयका सबैभन्दा राम्रा अभिनेता थिएनन्, तर पनि उनीमा एक स्टार बन्ने लक्षणहरू थिए । त्यसबेला उनको व्यक्तित्वमा एक जन्मजात ऊर्जा देख्न पाइन्थ्यो ।
शाहरुखले सबैभन्दा पहिले एउटा सर्ट फिल्म ‘इन विच एनी गिभ्स इट दोज वन’ मा काम गरेका थिए । जसलाई प्रदीप कृष्णले निर्देशित गरेका थिए । त्यसमा प्रसिद्ध लेखिका अरुन्धती रोय हिरोइनका रूपमा थिइन् ।
तर, त्यस फिल्ममा शाहरुखका मात्र चार दृश्य थिए । अनि उनको पात्रलाई कुनै नाम दिइएको थिएन । त्यस जमानामा शाहरुख दिल्लीको हंसराज कलेजमा अर्थशास्त्र पढिरहेका थिए, तर ब्यारी जोन पढाइका साथसाथै उनलाई अभिनयका कला पनि सिकाउँदै थिए ।
‘फौजी’ सिरियलबाट मिल्यो राष्ट्रिय पहिचान
शाहरुखलाई पहिलो पटक राष्ट्रिय प्रसिद्धि मिलेको भने टेलिभिजन सिरियल ‘फौजी’ बाट हो ।
त्यससमय शाहरुख अर्को एउटा सिरियल ‘दिल दरिया’ मा पनि काम गरिरहेका थिए । र, त्यसको लन्च ब्रेकको समयमा ‘फौजी’ को सुटिङ गर्ने गर्थे ।
मोहर बसुका अनुसार फौजीको अडिसनका क्रममा शाहरुखको निकै कडा परीक्षा लिइएको थियो । बिहान सबेरै निद्राबाट उठाएर उनलाई डेढ माइलसम्म दौडाइएको थियो ।
त्यसलगत्तै उनलाई एउटा बक्सिङ गराइएको थियो । त्यसक्रममा शाहरुखले आफ्नो अनुशासनबाट सबैको ध्यान तानेका थिए ।
अनि सुरुमा शाहरुखलाई एउटा सानो भूमिकाका लागि छानिएको थियो । मुख्य भूमिकामा भने सिरियलका निर्माता कर्नल राज कपुरका छोरा थिए ।
‘फौजी’की लेखिका तथा अभिनेत्री अमीना शेरवानीका अनुसार ‘फौजी’ को एक एपिसोड बनाउन दुई लाख रुपैयाँ लाग्थ्यो, जुन त्यस जमानामा ठूलो रकम हुने गर्थ्यो ।
शेरवानीले द प्रिन्टलाई दिएको अन्तर्वार्ता अनुसार सेनाले हामीलाई सुटिङका लागि स्टेन गन र अन्य उपकरण दिनुपर्थ्यो । तर, सेनाले उनीहरूलाई छुन समेत दिएका थिएनन् ।
त्यसको साटो उनीहरूले जसोतसो बन्दोबस्त गरेका थिए । यद्यपि त्यो समयमा शाहरुखलाई कपाल काट्नका लागि राजी गराउनु उनीहरूका लागि चुनौति थियो । लामो रस्साकस्सी पछि मात्र उनले त्यो प्रस्ताव मानेका थिए ।
बाहिरी भेषभूषा र रूपको बेवास्ता
अभिनयमै राम्रो काम भनेर मुम्बई गएको बखत शाहरुख खानको ‘जिम-टोन्ड बडी’ थिएन । ‘चमत्कार’ फिल्ममा शाहरुखका निर्देशक रहेका राजीव मेहराले एक अन्तर्वार्तामा भने अनुसार ती दिनहरूमा शाहरुख आफ्नो लुकमा कुनै ध्यान दिँदैनथे । ती दिनहरूमा उनीसँग कपालका लागि जेल किन्ने पैसा समेत हुँदैनथ्यो।
त्यसैले उनी आफ्नो कपाल क्यामलिन गम र पानीले टाँस्ने गर्थे । रातमा अबेर मात्र सुत्दा उनको आँखाको वरिपरि खाडल बसिरहेको हुन्थ्यो ।
निर्माता जीपी सिप्पीका अनुसार ती दिनहरूमा शाहरुखको कपाल सुख्खा र रुखो हुन्थ्यो । उनी फिल्मी हिरो जस्तो कत्ति पनि देखिँदैनथे । आमिर र सलमानजस्तो उनको छालाको रङ पनि गोरो थिएन ।
त्यस्तो समयमा कुनै पनि टेलिभिजन स्टारले फिल्ममा सफल इन्ट्री मार्न सकेका थिएनन् । तर, शाहरुख खानको हकमा टेलिभिजन बायोडाटा उनका लागि वरदान साबित भयो । अव्यवस्थित व्यक्तित्वका बाबजुद पनि उनीकहाँ धमाधम फिल्मका अफरहरू आउन थाले ।
गौरी छिब्बरसँग विवाह
१८ वर्षको हुँदा शाहरुख खानले गौरी छिब्बरसँग पहिलो भेट गरेका थिए। तर, त्यसबेला गौरी मात्र १४ वर्षकी थिइन् ।
गौरी सम्पन्न परिवारकी थिइन् । शाहरुख भने उनको हिस्ट्रीको नोट्स बनाउन मद्दत गर्थे । अनि, उनले गौरीलाई ड्राइभिङ समेत सिकाएका थिए ।
तर, उनीहरू विवाह गर्ने सन्दर्भमा गौरीका आमा-बुबाले सुरुमा विरोध गरेका थिए । भलै त्यो कुरामा शाहरुखले उनीहरूलाई मनाउन सफल भए । त्यसपछि मात्रै दुवैको हिन्दु रीति-रिवाजअनुसार र कोर्ट म्यारिज दुवै तरिकाले विवाह भएको थियो ।
मोहर बसुका अनुसार विवाहको समयअघि त शाहरुख गौरीका परिवारको प्रिय बनिसकेका थिए ।
‘दिलवाले दुल्हनिया ले जाएंगे’ ले बनायो स्टार
बलिउडमा शाहरुखको पहिलो इन्ट्री ‘दीवाना’ थियो । तर, उनलाई राष्ट्रिय पहिचान दिलाएको फिल्म भने ‘दिलवाले दुल्हनिया ले जाएंगे’ हो । सन् २००१ मा यो फिल्मले एउटा हलमा लगातार चलिरहने ‘शोले’को समेत रेकर्ड तोडिदियो । ‘शोले’ लगातार पाँच वर्षसम्म चलेको थियो ।
त्यसबीचमा शाहरुखका धेरै ब्लकबस्टर फिल्महरू आए । उनका दुई सन्तान जन्मिए । फिल्मका निर्देशक आदित्य चोपडाको विवाह भयो । सम्बन्धविच्छेद पनि भयो । फिल्मी नायिका काजोलको पनि विवाह भयो । उनकी एक छोरी पनि भइन् । उनी तीन वर्षका लागि फिल्मबाट रिटायर भइन् । पछि पर्दामा फर्केर पनि आइन् । तर, ‘दिलवाले दुल्हनिया ले जाएंगे’ लगातार एउटा हलमा चलिरह्यो ।
महिलाहरूमाझ लोकप्रियता
सन् १९९७ मा आएको शाहरुखको फिल्म ‘दिल तो पागल है’ पनि जबरदस्त हिट भयो । त्यससमयमा शाहरुखले आफ्ना भूमिकाहरू र व्यक्तित्वबाट महिलाहरू बीचमा छुट्टै पहिचान बनाइरहेका थिए । शाहरुखलाई आफ्नी श्रीमतीको जमिन छोइरहेको लुगाको छेउ समात्न कुनै अप्ठ्यारो हुन्थेन ।
जस्तो व्यवहार उनको सोच पनि उस्तै थियो । उनी महिलाहरूलाई पुरुषहरूको ‘अब्जेक्ट अफ डिजायर’ (इच्छाको वस्तु) को दृष्टिले हेर्दैन थिए ।उनलाई महिलाहरूको सम्मान गर्न पनि राम्रै आउँथ्यो । उनको त्यसबानीबारे धेरै बलिउड अभिनेत्रीहरूले खुलेरै प्रशंसा गर्ने गरेका छन् ।
बीबीसीबाट
प्रतिक्रिया 4