+
+
Shares

बलिउडमा युद्धका फिल्मको लहर : सर्जिकल स्ट्राइकपछि ‘अप्रेसन सिन्दूर’ आउने

अहिलेको समयमा युद्धमा आधारित फिल्मको क्रेज कति बढिरहेको छ भन्ने कुरा यसैबाट थाहा हुन्छ कि झन्डै तीन दशकपछि ‘बोर्डर’ को दोस्रो भाग बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १७:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउडमा युद्धको कथामा आधारित फिल्महरूको क्रेज बढ्दै गएको छ र आगामी वर्षहरूमा 'अप्रेसन सिन्दूर' लगायत थुप्रै नयाँ फिल्महरू आउनेछन्।
  • सन् १९७१ को भारत-पाक युद्धलाई केन्द्रमा राखेर बनाइएका फिल्महरू जस्तै 'पिप्पा', 'स्काई फोर्स' र 'सैम बहादुर' ले बलिउडमा युद्धकथाको लोकप्रियता देखाएका छन्।
  • सन् २०२६ मा 'बोर्डर २', 'ब्याटल अफ गलवान', 'लभ एण्ड वार', 'फौजी' र 'अपरेसन सफेद सागर' जस्ता युद्धमा आधारित फिल्महरू र वेब सिरिज रिलिज हुने तयारीमा छन्।

मुम्बई । बलिउडमा युद्धको कथामा आधारित फिल्मको इतिहास पुरानो छ । सन् १९६२, १९७१ र १९९९ का युद्धदेखि लिएर हालैका सर्जिकल स्ट्राइक र एयर स्ट्राइकका कथा पर्दामा आइसकेका छन् । यतिबेला फिल्म निर्माता ‘अप्रेसन सिन्दूर’ को कथालाई ठूलो पर्दामा उतार्ने तयारीमा छन् ।

सिनेमाको संसारमा देशभक्ति झल्काउने फिल्म सधैं विशेष मानिन्छन् । चाहे त्यो पुरानो समयका चर्चित फिल्म ‘हकीकत’ र ‘बोर्डर’ हुन् वा कोरोना महामारीभन्दा केही समयअघि हिट भएको ‘उरी : द सर्जिकल स्ट्राइक’ नै किन नहोस्, सेनाको वर्दी लगाएर देशका लागि लड्ने वीर योद्धालाई पर्दामा देख्दा दर्शक सधैं उत्साहित हुने गर्छन् ।

बीचका केही वर्षमा यस्ता फिल्मको क्रेज अलि घटेको थियो । तर सन् २०१६ मा भारतीय सेनाले पाकिस्तानमा छिरेर आतंकवादी क्याम्प ध्वस्त पारेको घटनामा आधारित फिल्म ‘उरी : द सर्जिकल स्ट्राइक’ ले बक्स अफिसमा तहल्का मच्चायो । यसको सफलताले के प्रमाणित गरिदियो भने, दर्शक अझै पनि यस्ता वीरगाथा हेर्न रुचाउँछन् । विशेषगरी कोभिडपछि, वर्दी लगाएका रियल हिरोको कथालाई फिल्ममा उतार्ने चलनले फेरि निकै गति लिएको छ ।

त्यस्तै, बालाकोट एयरस्ट्राइक जस्ता भारतीय सेनाका साहसिक अभियानले पनि फिल्मकर्मीलाई सेनासँग जोडिएका रोमाञ्चक कथा पर्दामा ल्याउने राम्रो मौका दिएका छन् । विशेषगरी, गत वर्ष भएको ‘अप्रेसन सिन्दूर’ पछि धेरै फिल्म निर्माताले यो विषयमा विभिन्न फिल्मका टाइटल दर्ता गराएका छन् । अब आउने केही वर्षमा हामीले यसै विषयमा आधारित धेरै फिल्म र वेब सिरिज देख्न पाउनेछौँ ।

पछिल्ला केही वर्षमा रिलिज भएका देशभक्तिपूर्ण फिल्मको कुरा गर्ने हो भने, सन् २०२४ मा आएको ऋतिक रोशनको फिल्म ‘फाइटर’ र तेलुगुबाट हिन्दीमा डब भएको ‘मिसन भ्यालेन्टाइन’ दुवैमा भारतीय वायुसेनाले पाकिस्तानमा छिरेर गरेको बालाकोट एयरस्ट्राइकको कथा देखाइएको थियो ।

यद्यपि, जब युद्धमा आधारित फिल्मको कुरा आउँछ, बलिउड निर्माता सन् १९७१ को भारत-पाक युद्धलाई पर्दामा देखाउन सबैभन्दा बढी रुचाउँछन् । उदाहरणका लागि, सन् २०२३ मा आएको ‘पिप्पा’ र सन् २०२५ मा रिलिज भएको ‘स्काई फोर्स’ दुवैमा सन् १९७१ को युद्धकै कथा देखाइएको थियो ।

त्यस्तै, सन् २०२३ मा आएको ‘सैम बहादुर’ भारतका पहिलो फिल्ड मार्शल सैम मानेकशाको जीवनीमा आधारित थियो, जसमा सन् १९७१ को युद्धलाई मुख्य रूपमा प्रस्तुत गरिएको थियो । अर्कोतिर, गत वर्ष रिलिज भएको ‘१२० बहादुर’ मा भने सन् १९६२ को भारत-चीन युद्धमा भारतीय सेनाले देखाएको बहादुरीलाई देखाइएको छ ।

यस वर्षका ’वार’ फिल्म :

बोर्डर २- धेरै समयको पर्खाइपछि आउन लागेको यो फिल्म ‘बोर्डर’ को सिक्वेल हो ।

ब्याटल अफ गलवान- भारत र चीनबीच गलवान उपत्यकामा भएको झडपको कथा यसमा देख्न पाइनेछ ।

लभ एण्ड वार- सञ्जयलीला भन्सालीको यो फिल्ममा युद्धको पृष्ठभूमिमा एउटा प्रेमकथा बुनिएको छ ।

फौजी- सेनाको जीवन र उनीहरूको संघर्षमा आधारित यो फिल्म पनि निकै चर्चामा छ ।

अपरेसन सफेद सागर- सन् १९९९ को कारगिल युद्धमा भारतीय वायुसेनाले चलाएको विशेष अभियानको कथा यस फिल्ममा समेटिएको छ ।

सिनेमाको पर्दामा यो वर्ष अर्थात् सन् २०२६ को सुरुवात सन् १९७१ को युद्धमा परमवीर चक्र पाउने सेकेन्ड लेफ्टिनेन्ट अरुण खेत्रपालको बायोपिक (जीवनीमा आधारित फिल्म) बाट भएको छ । त्यस्तै, गणतन्त्र दिवसको अवसर पारेर सन् १९९७ को चर्चित फिल्म ‘बोर्डर’ को सिक्वेल ‘बोर्डर २’ रिलिज भएको छ ।

अहिलेको समयमा युद्धमा आधारित फिल्मको क्रेज कति बढिरहेको छ भन्ने कुरा यसैबाट थाहा हुन्छ कि झन्डै तीन दशकपछि ‘बोर्डर’ को दोस्रो भाग बनेको छ । यसपटकको खास कुरा के छ भने, पुरानो ‘बोर्डर’ मा आर्मी र एयरफोर्स मात्र देखिएका थिए भने ‘बोर्डर २’ मा आर्मी, नेवी र एयरफोर्स (जल, थल र आकाश) तीनवटै सेना मिलेर दुश्मनलाई जवाफ दिइरहेको देखाइएको छ । यस्तै, आउँदो अप्रिलमा सलमान खानको फिल्म ’ब्याटल अफ गलवान’ पनि रिलिज हुने तयारीमा छ ।

वास्तविक घटनामा आधारित भनिएको फिल्म ‘ब्याटल अफ गलवान’ मा सलमान खानले लद्दाखमा चिनियाँ सेनासँग मुकाबला गर्ने कर्नेल सन्तोष बाबुको भूमिका निर्वाह गरेका छन् । सन् २०२० जुनमा गलवान उपत्यकामा चिनियाँ सेनासँग भारतीय सेनाको झडप भएको थियो ।

यसबाहेक, दक्षिण भारतीय सुपरस्टार प्रभास पनि आफ्नो आगामी फिल्म ‘फौजी’ मा स्वतन्त्रताभन्दा पहिलेको सैनिकको अवतारमा देखिनेछन् । निर्देशक भन्सालीले पनि आफ्नो युद्धमा आधारित फिल्म ‘लभ एण्ड वार’ यसै वर्ष रिलिज गर्ने तयारी गरेका छन् । पहिले यो फिल्म अर्को वर्ष आउने भनिएको थियो, तर अब यसै वर्ष रिलिज हुने पक्का भएको छ ।

ओटीटी प्लेटफर्ममा पनि कारगिल युद्धमा आधारित वेब-सिरिज ‘अपरेसन सफेद सागर’ यसै वर्ष आउँदैछ । सन् १९९९ को कारगिल युद्धका बेला पाकिस्तानी घुसपैठीलाई लखेट्न भारतीय वायुसेनाले ‘अपरेसन सफेद सागर’ चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?