+
+
Shares

मुम्बईमा निकिता चण्डकको मौन उडान

आज निकिता चन्दकले बलिउडमा नेपाली कलाकारका लागि नयाँ मानका तयार गरेकी छिन् ।

विष्णुकान्त घिमिरे विष्णुकान्त घिमिरे
२०८२ माघ ७ गते २०:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निकिता चण्डकले सन् २०१७ मा मिस नेपाल वर्ल्डको उपाधि जितेपछि अभिनय यात्रा सुरु गरिन् ।
  • निकिताले बलिउडमा नेपाली कलाकारका लागि नयाँ मानका तयार गरिन्।

मुम्बई कहिल्यै पनि बाहिरबाट आउनेहरूका लागि सजिलो शहर रहेन । पुस्तौँदेखि यस शहरले अवसरको सपना देखाउँदै सीमापारिका कलाकारहरूलाई आकर्षित गर्‍यो, तर त्यही सपना पूरा गर्न वर्षौँको संघर्ष र अनिश्चितताबाट गुज्रन बाध्य बनायो ।

नेपाली कलाकारहरूका लागि यो चुनौती झन् कठिन रहँदै आएको छ । तर पछिल्ला वर्षहरूमा, निरन्तर कामप्रतिको निष्ठाका कारण एउटा नामले बिस्तारै चर्चा पाउन थालेको छ- निकिता चण्डक । सन् २०१७ मा मिस नेपाल वर्ल्डको उपाधि जितेपछि निकिता चण्डक सार्वजनिक चिनारीमा आइन् । सौन्दर्य प्रतियोगितामा प्राप्त क्राउन हातमा परेसँगै धेरै जना ओझेलमा पर्छन् तर उनी परिनन् ।

उनले उक्त उपलब्धिलाई अन्तिम गन्तव्य नठानी, अभिनय यात्राको प्रवेशद्वारका रूपमा लिइन् । अभिनय कुनै साइड प्रोजेक्ट होइन, मेरो लक्ष्य हो, मेरो काम हो भन्नेमा उनी स्पष्ट थिइन् । उनको फिल्म यात्रा नेपालमै ‘साङ्लो’ चलचित्रबाट सुरु भयो, जहाँ उनले विराज भट्टसँग मुख्य भूमिका निर्वाह गरिन् । यस फिल्मले उनलाई नेपाली व्यवसायिक सिनेमामा स्थापित गर्‍यो । तर ‘राजागञ्ज’ (अन्तर्राष्ट्रिय रूपमा ‘पूजा सर’) मा प्रहरी निरीक्षक ममता गुप्ताको भूमिकाले उनको करिअरमा निर्णायक मोड ल्यायो ।

उक्त चलचित्रमा देखिएको पोख्त अभिनयको माध्यमबाट उनले घरेलु दर्शक मात्र होइन, अन्तर्राष्ट्रिय वृत्तको समेत ध्यान खिचिन् । भेनेसी अन्तर्राष्ट्रिय फिल्म महोत्सवको ८१औँ संस्करणमा फिल्मको प्रिमियर भएपछि निकितालाई विभिन्न गहन भूमिका निर्वाह गर्न सक्ने अभिनेत्रीका रूपमा चिनिन थालियो । त्यसपछि ‘रवायना’ फिल्मको आइटम गीतमा उनको उपस्थितिले दर्शकलाई चकित पार्‍यो ।

त्यसले गर्दा करिअरको प्रारम्भिक चरणमै आफ्नो अभिनय र महेनतले गर्दा उनी व्यवसायिक रूपमा पनि अघि बढ्दै गइन् । यही क्रमसँगै मुम्बई पुगिन्, जहाँ हरेक दिन हजारौँ कलाकार अडिसन दिन्छन् र थोरैले मात्र निरन्तर काम पाउँछन् । यसअघि पनि नेपाली कलाकारहरूले यो यात्रा नगरेका होइनन् । तर, कोही सफल भए कोही संघर्ष गरिरहे ।

भोला राज सापकोटाले ‘बर्फी’ मा अभिनय गरे, सुनिल थापाले ‘मेरी कोम’ र ‘द फ्यामिली म्यान’ जस्ता प्रोजेक्टमा काम गरे भने उषा पौडेलले ‘माता की चौकी’ र ‘तुझ संग प्रीत लगाई सजना’ जस्ता टेलिभिजन सिरियलमार्फत स्थिर करिअर बनाए ।

पछिल्ला वर्षमा शिल्पा मास्के, अदिती बुढाथोकी र मुना गौचन विज्ञापन र म्युजिक भिडियोमा सक्रिय रहँदै आएका छन्, यद्यपि ठूला ब्रेक पाउन लामो प्रतीक्षा गर्नुपरेको छ । भारतीय चलचित्रमा प्रवेशले मात्र निकिताको यात्रामा फरकपन ल्याउँदैन । उनको क्षमता र कामको भूमिका रहन्छ । उनले सधैं आफ्नो दायरा फराकिलो बनाइन् ।

त्यसले गर्दा भारतमा उनको पहिलो ठूलो ब्रेक ‘द शेमलेस’ फिल्मबाट आयो, जहाँ उनले शालिनीको भूमिका निर्वाह गरिन् । सन् २०२४ को कान्स फिल्म फेस्टिभलमा फिल्मको प्रदर्शन हुनु उनको करिअरको महत्वपूर्ण मोड बन्यो । यसले उनलाई कान्ससँग जोडिने थोरै नेपाली कलाकारको सूचीमा राख्यो । त्यसपछि उनले टीटी कपडा ब्रान्डको विज्ञापनमा अभिनेता राजकुमार रावसँग अभिनय गरिन्, जसले विज्ञापन र कास्टिङ वृत्तमा उनको पहिचान थप बढ्दै गयो ।

त्यसयता उनी लिनेन क्लबजस्ता ब्रान्डका अभियानमा देखिइन्, विभिन्न भारतीय विज्ञापनहरूमा अभिनय गरिन्, आईसीसी महिला क्रिकेट विश्वकपको प्रचार अभियानमा सहभागी भइन् र ‘मोरे साजन’ भारतीय म्युजिक भिडियोमा अभिनय गरिन्, जसले दर्शकको उल्लेखनीय ध्यान खिच्यो । उनको करिअरको सबैभन्दा महत्वपूर्ण उपलब्धिमध्ये एक भनेको निर्देशक सञ्जय लीला भन्सालीको प्रोजेक्टमा संलग्न हुनु हो । भन्साली चलिचित्र निर्माणमा मात्र निपूर्ण नभई, कलाकारको छनोटमा पनि उत्तिकै विषेश ध्यान दिने निर्देशक हुन् ।

भन्सालीले आफ्नो कामका लागि निकितालाई चयन गर्नु आफैंमा एक सफलता हो । जसले गर्दा निकितालाई भारतीय चलचित्र उद्योगमा एक्सपोजर मिल्यो । उनलाई बलिउडका खास प्रोजेक्टमा काम गर्न सक्ने अभिनेत्रीका रूपमा चिनिने मौका मिल्यो । मुम्बईमा कुनैपनि नेपाली अभिनेत्रीले निरन्तर काम गर्न थालेपछि नेपाली मूलकी भारतीय अभिनेत्री मनिषा कोइरालासँग तुलना हुनु स्वाभाविक नै हो ।

मनिषाले काम गरेको समय र निकिताले काम गर्न थालेको समय फरक भए पनि सफल हुनका लागि काममा कुशलता र मेहनत अत्यावश्यक हुन्छ । रातारात कोही पनि स्टार बन्दैन । जसले पनि निरन्तर मिहिनेत र परिश्रम गर्नु नै पर्छ । आज निकिता चन्दकले बलिउडमा नेपाली कलाकारका लागि नयाँ मानका तयार गरेकी छिन् ।

आफ्नो कामलाई निरन्तरता दिनुपर्छ र सफल हुनका लागि निरन्तर मेहनत गर्नुपर्छ भन्ने कुराको पुष्टि गरेकी छिन् । कुनै पनि कुरा र क्षमतालाई सजिलै लिने र सजिलै छोड्ने कुरालाई समान्य मान्ने मुम्बई जस्तो ठाउँमा उनले आफूलाई स्थापित गराएकी छिन् । यो भनेको निरन्तर अघि बढिरहने संकेत हो । दीर्घकालीन स्टारडमसम्म पुग्छ कि पुग्दैन, त्यो भविष्यले देखाउनेछ । तर उनको मौन उडानले भारतीय सिनेमामा नेपालीका लागि पक्कै पनि एउटा अर्थपूर्ण पाइला अघि बढेको छ ।

लेखक
विष्णुकान्त घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?