+
+
Shares
सुर्खेत :

हट्यो तीन दशक लामो जाम

जेनजी विद्रोहपपछि पार्टीको कार्यबाहक सभापति नै रहेका खड्काको नाम एकल उठाउनुमा सम्भावित निर्णयलाई ध्यान दिइएको बुझ्न गाह्रो पर्दैन । किनकि खड्काले उम्मेदवार नबन्ने निर्णय नलिदासम्म अरूले टिकट पाउने सम्भावना थिएन ।

यज्ञ खत्री यज्ञ खत्री
२०८२ माघ ८ गते १३:५६

८ माघ, सुर्खेत । प्रतिनिधि सभाको चुनावका लागि नेपाली कांग्रेसका तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई उम्मेदवार बनाउन सुर्खेत–१, बाट एकल सिफारिस गरिएको थियो ।

जेनजी विद्रोहपपछि पार्टीको कार्यबाहक सभापति नै रहेका खड्काको नाम एकल उठाउनुमा सम्भावित निर्णयलाई ध्यान दिइएको बुझ्न गाह्रो पर्दैन । किनकि खड्काले उम्मेदवार नबन्ने निर्णय नलिदासम्म अरूले टिकट पाउने सम्भावना थिएन ।

सुर्खेत–१ र खड्काको पृष्ठभूमि नै त्यस्तो छ । २०६४ सालको पहिलो संविधानसभा चुनावमा समानुपातिक तर्फ बसे बाहेक २०४८ साल यताका सबै चुनावमा उनी उम्मेदवार बनेका छन् ।

२०७४ सालको चुनाव बाहेक सधैं जितेका छन् । त्यसैले यसपटक पनि उनको नाम एकल सिफारिस हुनु अस्वभाविक थिएन । अझ समानुपातिक तर्फको बन्दसूची तयार भइसकेको र त्यहाँ खड्काको नाम नहुनुले यो क्षेत्रबाट उम्मेदवार बन्ने लगभग पक्का ठानिएको थियो ।

तर कांग्रेसको राजनीति सरल रेखामा बगेन । गगन थापालाई सभापति बनाउने निर्णय गरेको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दियो । विशेष महाधिवेशनको विपक्षमा पार्टीभित्र खड्काले नै नेतृत्व गरेका थिए ।

आयोगको निर्णयविरुद्ध उनी सर्वोच्च अदालत गएका छन् । यसरी कांग्रेसको राजनीतिमा धक्का बेहोरेका खड्कालाई चुनाव लड्न नैतिक समस्या भयो । र, खड्काले चुनाव नलड्ने निर्णय लिए ।

चुनाव नलड्ने खड्काको निर्णयसँगै सुर्खेतको राजनीतिमा तीन दशक लामो जाम तोडिएको छ । खड्कासँगै कांग्रेसका अर्का नेता हृदयराम थानीले पनि चुनाव लड्न चाहेनन् । जबकि यी दुई नेता तीन दशकदेखि सुर्खेतका सदाबहार उम्मेदवार थिए ।

खड्काले चुनाव नलड्ने भएपछि उनका सहोदर भाइ बिष्णुले टिकट पाएका छन् । सुर्खेत कांग्रेसमा उपसभापति रहेका बिष्णु पहिलोपटक चुनाव लड्दैछन् ।

विष्णुसँगै चुनावी मैदानमा रहेका नेकपा एमालेका उम्मेदवार भने पुरानै छन् । एमालेले ध्रुवकुमार शाहीलाई तेस्रोपटक उम्मेदवार बनाएको छ । वाम गठबन्धन हुँदा २०७४ सालको चुनावमा पूर्णबहादुरलाई हराएर ध्रुव चर्चामा आएका थिए । तर पाँच वर्षे कार्यकालमा जम्मा दुई पटक मात्र सदनमा बोलेका ध्रुवले गतिलो छाप छोड्न सकेनन् ।

नेपाली कम्युनिष्ट पार्टीले साविक माओवादीका जिल्ला संयोजक जितबहादुर रानालाई मैदानमा उतारेको छ । सशस्त्र युद्धका लडाकु रानाको यो पहिलो उम्मेदवारी हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने कांग्रेसकै पूर्व नेता टेकबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसमा हुँदा पूर्णबहादुर रहेका सिंह जिल्ला उपसभापति समेत बनेका थिए । तर एक महिना अघि रास्वपा छिरेर उनी उम्मेदवार बनेका छन् । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले जेनजी अगुवा रवीकिरण हमाललाई उम्मेदवार बनाएको छ ।

यो क्षेत्रबाट उज्यालो नेपाल पार्टीबाट ठम्मरबहादुर विष्ट, नेमकिपाबाट गजबहादुर खप्तडी मगर, नेकपा माओवादीबाट हिरु शाही, राजमोबाट मोहन थापा, श्रम संस्कृति पार्टीबाट बिरबहादुर राना, आम जनता पार्टीबाट समेश कुमार सेन्चुरी, जसपा नेपालबाट धनसिंह सार्की र मितेरी नेपालबाट प्रकाश बुढामगर उम्मेदवार छन् ।

सबै नयाँ

सुर्खेत–२ बाट ६ पटक उम्मेदवार बनिसकेका कांग्रेस नेता थानीले चुनाव नलडेसँगै यो क्षेत्रमा यसपटक सबै उम्मेदवार नयाँ बनेका छन् । २०५६, २०७० र २०७९ सालको चुनाव जितेका थानीले २०५१, २०६४ र २०७४ मा पराजय बेहोरेका थिए ।

र, थानीका सदाबहार प्रतिस्पर्धी थिए– एमाले नेता यामलाल कँडेल । हाल कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले २०५१ देखि चुनाब लड्दै आएका छन् । यद्यपि २०७४ र २०७९ को चुनावमा भने प्रदेश सभामा उम्मेदवार बने । कांग्रेसको विशेष महाधिवेशनपछि कँडेलले चुनाव नलड्ने निर्णय गरे ।

थानीले ठाउँ खाली गरिदिएपछि सुर्खेत–२ मा कांग्रेसबाट नारायण कोइराला उम्मेदवार बनेका छन् । विशेष महाधिवेशनको पक्षमा खुलेर लागेका कोइराला पहिलो पटक चुनाव लड्दैछन् । उनी पूर्व क्षेत्रीय उपसभापति हुन् ।

एमालेले कुलमणि देवकोटलाई उम्मेदवार बनाएको छ । एमाले जिल्ला अध्यक्ष देवकोटा पनि पहिलोपटक चुनाव लड्दैछन् । लामो समय उनी सुर्खेत उपत्यका खानेपानी संस्थाको अध्यक्ष रहेका समेत थिए ।

नेकपाबाट झकबहादुर मल्ल ‘सुदीप’ चुनावी मैदानमा होमिएका छन् । सशस्त्र युद्धका बेला जनमुक्ति सेनाका लडाकु मल्ल सुर्खेत जेल ब्रेकर हुन् ।

रास्वपाबाट रमेश सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । रास्वपा जिल्ला सभापति सापकोटा पनि कांग्रेस पृष्ठभूमिकै नेता हुन् । कांग्रेसको वीरेन्द्रनगर नगर समिति सचिवबाट राजीनामा दिएर रास्वपामा लागेका हुन् । यातायात व्यवसायी समेत रहेका सापकोटा पनि पूर्णबहादुर निकट थिए ।

यो क्षेत्रबाट तीन स्वतन्त्र सहित १७ जनाको उम्मेदवारी परेको छ । र सबैजसो उममेदवार नयाँ छन् । उज्यालो नेपाल पार्टीका गम्भीर सिंह भुल र गतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार पवन कुमार थापा उम्मेदवार छन् ।

यस्तै राप्रपाबाट कविराम पुरी, राष्ट्रिय जनमोर्चाबाट पूर्णबहादुर शाही, नेमकिपाबाट तुल्छी खड्का, जसपा नेपालबाट दीप बहादुर नेपाली, नेपाल जनसेवा पार्टीबाट हृदेन्द्र अधिकारी, श्रम संस्कृति पार्टीबाट राजेन्द्र अधिकारी लगायत उम्मेदवार छन् । रमेश परियार, उदीराम चुनारा र कृष्ण खत्रीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?