News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका 'ए' सँग दोस्रो अभ्यास टी-२० खेलमा ७३ रनले पराजित भएको छ।
- श्रीलंका 'ए' ले २२३ रनको लक्ष्य दिएकोमा नेपालले १४९ रन मात्र बनाउन सक्यो।
- नेपालले आगामी फेब्रुअरी ८ मा टी-२० विश्वकपमा इंग्ल्यान्डसँग पहिलो खेल खेल्नेछ।
८ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग भएको दोस्रो अभ्यास टी-२० खेलमा पनि हार बेहोरेको छ ।
बिहीबार कोल्ट्स मैदानमा भएको खेलमा नेपाल ७३ रनले पराजित भएको हो । श्रीलंका ‘ए’ ले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि करण केसीले सर्वाधिक अविजित ४१ रन बनाए । लोकेश बमले २५ तथा कप्तान रोहित पौडेलले १८ रन बनाए । गुल्शन झाले १७ अनि सोमपाल कामीले १६ रन बनाए ।
श्रीलंका ‘ए’ का लागि नुवान थुसाराले ३ विकेट लिए । चमिका करुणारत्ने र दुशान हेमन्थाले २-२ तथा ट्राभिन म्याथ्यु र दुलाज समुदिथाले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंका ‘ए’ ले २० ओभरमा ५ विकेट गुमाएर २२२ रन बनाएको थियो । लाहिरु उडाराले ९३ रन बनाए भने लासिथ क्रसपूलले ५३ रन बनाए । सहान अराकिगे ५५ रनमा अविजित रहे ।
नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १३ रन दिएर २ विकेट लिए भने नन्दन यादवले ४ ओभरमा ७२ रन खर्चेर २ विकेट लिए । करण केसीले १ विकेट लिए ।
अभ्यासका लागि श्रीलंकामा रहेको नेपाली टोली पहिलो खेलमा पनि पराजित भएको थियो । नेपाल र श्रीलंका ‘ए’ बीचको तेस्रो खेल शनिबार हुनेछ ।
त्यसपछि टोली भारत जानेछ । भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल हुने तालिका छ ।
टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।
तस्वीर : क्यान
प्रतिक्रिया 4