News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउडमा स्टार–केन्द्रित पारिश्रमिकले उद्योगलाई आर्थिक र सृजनात्मक संकटमा धकेलिरहेको छ, जसले फिल्मको गुणस्तर र दर्शक संख्या घटाएको छ।
- सुपरस्टारको ठूलो पारिश्रमिकले बजेटको ठूलो हिस्सा खर्च हुँदा फिल्मले आफ्नो लागत उठाउन नसक्ने अवस्था सिर्जना भएको छ, जस्तै 'खेल खेल में' ले ६० करोड पारिश्रमिकमा खर्च गर्यो।
- नेपाली फिल्म उद्योगले पनि प्रोफिट शेयरिङ मोडल अपनाएर पारिश्रमिक जोखिम बाँड्नुपर्ने र कन्टेन्ट केन्द्रित फिल्म निर्माणमा जोड दिनुपर्ने सुझाव दिइएको छ।
दुई वर्षअघि बलिउडमा हिन्दी फिल्म ‘खेल खेल में’ प्रदर्शन भयो । अक्षय कुमार मुख्य भूमिकामा रहेको यस फिल्मको कुल बजेट १०० करोड भारतीय रुपैयाँ थियो। तर, त्यसमध्ये ६० करोड रुपैयाँ अक्षय कुमारको पारिश्रमिकमै खर्च भयो । अर्थात्, फिल्मको कुल लगानीको ६० प्रतिशत एकै स्टारमा खर्चियो ।
नतिजा के आयो त ? फिल्मको कुल कमाइ ५७ करोड रुपैयाँमै सीमित रह्यो। सरल भाषामा भन्नुपर्दा, उक्त फिल्मले आफ्नो हिरोको पारिश्रमिकसमेत उठाउन सकेन ।
यदि रिसर्च, बलियो स्क्रिप्ट विकास, प्रोडक्सन भ्यालु र योजनाबद्ध मार्केटिङमा सन्तुलित लगानी गरिएको भए र अक्षय कुमारको सट्टा ठिकठाक अभिनय क्षमता तथा सम्भावना बोकेको कलाकार लिएर फिल्म बनाइएको भए- के यो फिल्म फ्लपको सूचीमा पर्थ्यो ? सम्भवतः पर्थेन ।
बिजनेस स्ट्यान्डर्डका अनुसार बलिउड मात्र होइन, साउथ भारतीय फिल्म उद्योगमा पनि १०० देखि २०० करोड रुपैयाँसम्म पारिश्रमिक लिने कलाकारहरूको सूची लामो छ । स्टार–केन्द्रित यो प्रवृत्ति अब अपवाद होइन, उद्योगको मुख्यधार बनिसकेको छ ।
न्युज १८ को रिपोर्टअनुसार अभिनेत्री कृति सेननले ‘आदि पुरुष’ का लागि ३ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिइन् । तर यही फिल्मका लागि अभिनेता प्रभासले १५० करोड रुपैयाँ बुझे । एउटै फिल्म, एउटै मेहनत, तर पारिश्रमिकमा आकाश–पातालको अन्तर—यो केवल लैंगिक विभेदको उदाहरण मात्र होइन, भारतीय फिल्म उद्योगभित्र गहिरिँदै गएको असन्तुलनको प्रतिबिम्ब हो ।
यही असन्तुलनको अर्को ज्वलन्त उदाहरण हो- ‘छोटे मियाँ बड़े मियाँ’ । करिब ३५० करोड रुपैयाँ बजेट रहेको यो फिल्ममा खर्चिएको रकमले सजिलै १० वटा सशक्त, मध्यम बजेटका फिल्म निर्माण गर्न सकिन्थ्यो । तर, त्यो सम्भावना स्टार–पारिश्रमिकको भारले दबाबमा पर्यो ।
यसै सन्दर्भमा ट्रेड एनालिस्ट कोमल नाहटाले त्यसबेला कडा टिप्पणी गरेका थिए । द इन्डियन एक्सप्रेसमा प्रकाशित रिपोर्टअनुसार उनले भनेका थिए- ‘आज बलिउडमा कोही पनि उद्योगको दीर्घकालीन भलोका लागि सोचिरहेको देखिँदैन । स्टारहरू आफ्नै बैंक ब्यालेन्स बढाउनमै केन्द्रित छन्। निर्माताहरू कुनै पनि हालतमा फिल्म चलोस् भन्ने दबाबमा छन् । यसैबीच, उद्योग भने क्रमशः खाडलतर्फ धकेलिँदै छ। त्यसप्रति गम्भीर चिन्ता लिनेहरू अत्यन्तै कम छन् । यो अवस्था साँच्चै दुःखद र चिन्ताजनक छ ।’
बलिउड फिल्महरूमा अब न त नयाँ कल्पनाशक्ति बाँकी छ, न त कहिल्यै दर्शक तान्ने पुरानो ‘मसाला’को स्वाद । यही कारणले बलिउडको सृजनात्मक दरिद्रता र दोहोरिएको ढाँचाप्रति चिन्ता दिनानुदिन बढ्दै गएको छ ।
बिहारका फिल्म प्रदर्शक (एक्जिबिटर) विशेक चौहानले ‘बड़े मियाँ छोटे मियाँ’ हलमा आइपुग्दा नै यसलाई पुरानो ढाँचाको हलिउड फिल्मजस्तो अनुभूति भएको बताएका थिए । द इन्डियन एक्सप्रेसमा प्रकाशित रिपोर्टअनुसार चौहानको भनाइ थियो- ‘बड़े मियाँ छोटे मियाँजस्ता फिल्महरू हलिउडले करिब दस वर्षअघि नै बनाउन छोडिसकेको ढाँचा हुन् ।’
उनको यो टिप्पणी कुनै एक फिल्मप्रतिको असन्तुष्टि मात्र होइन, बलिउडको वर्तमान दिशामाथिको गम्भीर प्रश्न हो । भित्रभित्रै बलिउडमा यस्तै विषयमा आत्ममूल्यांकन र चिन्तन सुरु भइसकेको छ । दर्शक किन टाढिँदै छन् ? करोडौं बजेट किन फिर्ता आउँदैन ? र, करोडौं रकम एउटै सेलिब्रेटीमा खन्याएर पनि फिल्म किन चल्दैन ?
अब स्पष्ट भइसकेको छ— दर्शक तान्न केवल ठूलो बजेट वा चर्चित स्टारको नाम मात्र पर्याप्त हुँदैन । आजको दर्शकले खोजिरहेको छ: सशक्त कथा, स्मरणीय संगीत, भावनात्मक गहिराइ र मनोरञ्जनको सन्तुलन । अर्थात्, फिल्ममा ‘टोटल प्याकेज’ अनिवार्य छ ।
यही कारणले ‘पठान’, ‘जवान’, ‘गदर २’ र ‘सैयरा’ जस्ता फिल्महरूले राम्रो व्यापार गरे । ती फिल्महरूमा स्टार मात्र थिएनन्, कन्टेन्ट, भावना, संगीत र दर्शकसँग जोडिने ऊर्जा पनि थियो । दर्शकले अब अनुहार होइन, अनुभूति खोजिरहेका छन्। बलिउडले यो यथार्थ चाँडै नबुझे, संकट अझ गहिरिँदै जाने चेतावनी पाइरहेको छ ।
यही संरचनागत कमजोरीकै परिणामस्वरूप ‘फाइटर’, ‘वार २’, ‘सिकन्दर’, ‘बाघी ४’ र ‘धडक २’ जस्ता बहुप्रतीक्षित फिल्महरूले पनि बक्स अफिसमा अपेक्षाअनुसारको नतिजा दिन सकेनन् । ठूलो बजेट, चर्चित स्टार र आक्रामक प्रचार हुँदाहुँदै पनि यी फिल्महरूबाट उद्योगले करोडौं रुपैयाँ गुमाउनुपर्यो। यसले स्पष्ट देखाउँछ कि, बलिउडमा अब हाइपले मात्र फिल्म चल्दैन ।
यसको ठीक उल्टो उदाहरण हुन् विधु विनोद चोपडाद्वारा निर्देशित ‘१२ फेल ’। यो फिल्म करिब २० करोड रुपैयाँमा निर्माण भएको थियो । यो २५ हप्ताभन्दा बढी समय हलमा टिक्यो र करिब ७० करोड रुपैयाँको व्यापार गर्न सफल भयो। यो फिल्म कुनै जबर्जस्ती मार्केटिङ, स्टार–हाइप वा पब्लिसिटी स्टन्टको भरमा चलेको होइन । बलियो कथा, इमानदार प्रस्तुति र दर्शकको स्वाभाविक समर्थन (वर्ड अफ माउथ) यसको मुख्य कारण थियो ।
केही वर्षअघि मात्र रिलिज भएको ‘लापत्ता लेडिज’ले बलिउडको स्थापित सोचलाई जरा–जरा हल्लाइदियो। केवल ५ करोड रुपैयाँको सानो बजेटमा तयार भएको यो फिल्मले २५ करोड रुपैयाँभन्दा बढी व्यापार गर्यो । नेटफ्लिक्समा प्रिमियर भएपछि पहिलो एक महिनामै १३.८ मिलियन दर्शकले हेरे। रोचक कुरा के भने, यो फिल्मले ४० गुणा बढी बजेटमा बनेको स्टार–भरिएको फिल्म ‘एनिमल’लाई समेत दर्शक संख्यामा पछि पारिदियो ।
यी दुवै फिल्ममा कुनै नाम चलेका सुपरस्टार थिएनन् । न चम्किला नाम, न करोडौंको पारिश्रमिक। तर कथा, प्रस्तुति र संवेदनाले दर्शक जित्यो ।
आजको युगमा नेटफ्लिक्स, अमेजन प्राइम, एमएक्स प्लेयरजस्ता ओटिटी प्लेटफर्महरूले दर्शकलाई अनगिन्ती विकल्प दिएका छन् । यस्तो अवस्थामा दर्शक अब स्टारको नाम हेरेर होइन, कन्टेन्टको गुणस्तर हेरेर समय खर्च गर्छन् ।
माथिका सबै उदाहरणले एउटै सन्देश दिन्छन्— नेपाली फिल्म उद्योगमा पनि ‘हिरो’को बढ्दो पारिश्रमिकबारे गम्भीर पुनर्विचार हुनैपर्छ । अनुहार केन्द्रित सोच घटाएर कन्टेन्ट केन्द्रित सिनेमातर्फ फर्कन दबाब सिर्जना गर्नु आजको आवश्यकता हो ।
नेपाली फिल्मलाई लिएर हामी प्रायः भावनात्मक नारामा अल्झिन्छौं— नेपाली फिल्म जोगिनुपर्छ, उद्योग बचाउनुपर्छ। तर कठोर सत्य के हो भने, हामी आफैंले खराब प्रवृत्तिलाई मलजल गरिरहेका छौं। ‘स्टार’ बनाउने नाममा अनावश्यक रूपमा अत्यधिक पारिश्रमिक दिएर हामी आफ्नै खुट्टामा बन्चरो हानिरहेका छौं ।
पछिल्लो समय हलिउड र बलिउडका केही टप सेलिब्रेटीहरूले जोखिम घटाउने नयाँ बाटो रोजेका छन्— प्रोफिट शेयरिङ वा ब्याक–इन्ड डिल । यसमा कलाकारले सुरुवातमा ठूलो पारिश्रमिक नलिई फिल्मको नाफाबाट निश्चित प्रतिशत लिन्छन् ।
टम क्रुज, आमिर खान, शाहरुख खानजस्ता स्टारहरूले यो मोडल सफलतापूर्वक अपनाएका छन्। यसले निर्माता–कलाकार दुवैलाई एउटै डुंगामा राख्छ, जोखिम बाँड्छ र कन्टेन्ट–केन्द्रित बनाउँछ ।
नेपाली फिल्म उद्योगमा पनि यो मोडल अपनाउन सके फिल्मको गुणस्तर बढ्ने, निर्माता बच्ने, दर्शकले राम्रो फिल्म पाउने र उद्योग दीर्घकालीन रूपमा टिक्न सक्ने सम्भावना देखिन्छ।
प्रतिक्रिया 4