+
+

ह्वावेले नेपालमा शुरुआत गर्‍यो सीड्स फर द फ्यूचर कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १४:४३

काठमाडौं । ह्वावेले नेपालमा पहिलो पटक सीड्स फर द फ्यूचर कार्यक्रमको शुरुआत गरेको छ ।
ह्वावेले काठमाडौंमा मंसिर १३ गते एक कार्यक्रमको आयोजना गरी कार्यक्रमको शुरुआत गरेको हो । आईसीटी विषयअन्तर्गत स्नातक तहका विद्यार्थीहरूका लागि ह्वावेले नेपालमा यो कार्यक्रम ल्याएको हो ।

सीड्स फर द फ्यूचर पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो । त्यसपछि १३० देश र क्षेत्रबाट ९ हजारभन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिइसकेका छन् ।

अक्टोबर ६ र नोभेम्बर ७ बीच ह्वावेले आफ्नो आवेदन पोर्टल सिड्सनेपाल डटकममा नेपालभरबाट १३६ आवेदन प्राप्त गरेको थियो जुन सबै स्नातक विद्यार्थीहरूको लागि खुला थियो ।

प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि प्रतिष्ठित आईसीटी प्रोफेसरहरू मिलेर बनेको फ्यूचर सेलेक्सन कमिटीले २० स्नातक विद्यार्थीहरू छनोट गरेको कम्पनीले जनाएको छ । जसमा काठमाडौं उपत्यका बाहिरका ४ जना छन् । जसले ८-दिने अनलाइन प्रशिक्षणमा भाग लिने छन् । घान्द्रुकमा रहेको ह्वावेद्वारा निर्मित ४जी बेस स्टेशन भ्रमण गर्नेछन् र उद्योग विशेषज्ञहरुको कक्षामा उपस्थित हुन पाउने छन् । उनीहरूले टेक४गुड विश्वव्यापी प्रतिस्पर्धामा भाग लिने मौका पनि पाउने छन् । उनीहरूले सामाजिक वा वातावरणीय समस्याहरू समाधान गर्न प्रविधिको फाइदा उठाउन र २० हजार अमेरिकी डलरसम्मको पुरस्कार जित्न सक्ने ह्वावेले जनाएको छ ।

शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादवले उद्घाटन समरोहलाई सम्बोधन गर्दै ग्रामीण तथा दुर्गम क्षेत्रका सबै नेपालीको डिजिटल कनेक्टिभिटीमा पहुँच हुनुपर्नेमा जोड दिइन् । शिक्षा क्षेत्रका लागि डिजिटल कनेक्टिभिटी अपरिहार्य भएको उनले भनाइ थियो ।

कार्यक्रममा ह्वावे एसिया प्यासिफिकका उपाध्यक्ष जे चेनले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा जे चेनले आगामी ५ वर्षमा ह्वावेले एसिया प्रशान्त क्षेत्रमा मात्रै ५ लाख आईसीटी प्रतिभा विकास गर्न थप ५ करोड अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सीड्स फर द फ्यूचर नेपाल यस क्षेत्रभरि डिजिटल प्रतिभा उत्पादनमा लगानी गर्ने ह्वावेको बृहत् रणनीतिको हिस्सा भएको उनको भनाइ थियो ।

त्रिवि इन्स्टिच्युट अफ इन्जिनियरिङका डीन प्रो. डा. शशिधर राम जोशीले छनोट प्रक्रियाबारे विस्तृत जानकारी दिएका थिए । आवेदन समूहबाट अन्तिम २० जना विद्यार्थीलाई छनोट गर्न चुनौतीपूर्ण भएको उनले आफ्नो अनुभव सुनाए । उनले सीड्स फर द फ्यूचर र टेक४गुड विश्वव्यापी प्रतिस्पर्धा सुरु गरेकोमा ह्वावेप्रति कृतज्ञता व्यक्त गरे । छनोट समितिमा रहेकी प्रो. तिमिला यामी थापाले ह्वावेले महिलालाई समेत प्रतिभा विकास कार्यक्रममा सहभागी गराएकोमा निकै खुशी व्यक्त गरिन् ।

२० फाइनलिस्ट विद्यार्थी प्रतिनिधिहरू मध्ये युनिका बज्राचार्यले नोभेम्बर २९ मा भएको सीड्स फर द फ्यूचर कार्यक्रमको पहिलो कक्षाको आफ्नो अनुभव सेयर गरिन् ।

ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम झाङले फाइनलमा परेकाहरुलाई बधाई दिँदै कार्यक्रममा निरन्तर सहयोग गरेकोमा छनोट समितिलाई धन्यवाद दिए । उनले नेपालमा आगामी ५ वर्षमा १० हजार आईसीटी प्रतिभा विकास गर्ने ह्वावेको प्रतिबद्धता दोहोर्‍याउने र सीड्स फर द फ्यूचरको अर्को संस्करणमा थप महिला सहभागिताको अपेक्षा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?