+
+

गण्डकी प्रदेश सभापतिमा पौडेल पक्षबाट शुक्रराज शर्मा उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते २१:१०

१६ मंसिर, पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापतिमा संस्थापनइतरबाट कास्कीका नेता शुक्रराज शर्माको नाम टुंगो लागेको छ ।

५ जना आकांक्षी हुँदा उम्मेदवार छनोट गर्न सकस परेको संस्थापनइतर समूह २ दिनको छलफलबाट शर्मालाई प्रदेश सभापतिमा उठाउने निर्णयमा पुगेको हो ।

धेरै जनाको आकांक्षा हुँदा उम्मेदवार छान्नै सकस परेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य जीवन परियार, धनराज गुरुङ र कमला पन्त बुधबार नै पोखरा आएर छलफल गरेका थिए ।

बिहीबार प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रम सकिएपछि पोखराको होटल स्नोल्याण्डमा नेताहरुबीच भएको छलफलमा ४ आकांक्षीले शर्मालाई साथ दिन सहमत भएका हुन् । प्रदेश सभापतिमा संस्थापनइतरबाट पूर्वमन्त्रीसमेत रहेका कास्कीकै शुक्रराज शर्मा र अघिल्लो निर्वाचनमा कास्की क्षेत्र नम्बर २ का उम्मेदवार देवराज चालिसे आकांक्षी थिए ।

वरिष्ठ नेता पौडेलको गृहजिल्लाका रघुनाथ शर्मा र महामन्त्री शशांक कोइरालाको गृह जिल्लाका महेन्द्रध्वज जिसीले पनि सभापतिमा दाबी गरेका थिए ।

पूर्व सांसदसमेत रहेका कास्कीका पाका नेता शुक्रराजलाई समर्थन गरेर चुनावमा जान सबै आकांक्षी सहमत बनेको केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए ।

शर्मा २०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका उम्मेदवार जगत विश्वकर्मासँग पराजित भएका थिए । १७ वर्ष जिल्ला सभापति भएका शर्मा कास्कीका प्रभावशाली नेतामध्ये मानिन्छन् ।

अधिवेशन उद्घाटन समारोहमा केन्द्रीय सदस्य तथा संस्थापन पक्षका गण्डकी प्रदेश सभापतिका उम्मेदवार अर्जुन जोशीलाई मात्र बोल्ने समय दिइएपछि उनै शर्माले सबैभन्दा पहिले चुनाव गराउने जिम्मा पाएका गोपालमान श्रेष्ठसँग आपत्ति जनाएका थिए । त्यसपछि संस्थापनइतरका नेताले बोल्ने मौका पाएका थिए ।

७६ वर्षीय नेता शर्माले पार्टीलाई पद्धतिमा चलाउन आफ्नो उम्मेदवारी रहने बताएका छन् । ‘पहिलो पटक हुन लागेको पार्टीको प्रादेशिक समितिमा म सभापतिको उम्मेदवार हुँ । म यो क्षेत्रको पुरानो कांग्रेस नेता हुँ,’ शर्माले भने, ‘अनुशासन र पद्धतिमा चल्ने कांग्रेस बनाउन, बलियो कांग्रेस बनाउन म लाग्ने छु ।’

सभापति शेरबहादुर देउवा पक्षले भने प्रदेश सभापतिमा पर्वतका अर्जुन जोशीको नाम टुंगो लगाइसकेको छ ।

पौडेल–कोइराला समूहको गढ मानिने गण्डकी प्रदेशमा पछिल्लो समय संस्थापन समूहले प्रभाव जमाउँदै गइरहेको छ । समग्र प्रतिनिधि संस्थापन इतर समूहको वर्चश्व मानिए पनि पौडेलकै गृहजिल्ला तनहुँ, लमजुङ, कास्की, पर्वतलगायतका जिल्लामा संस्थापन पक्षले हस्तक्षेप गरिरहेको छ ।

त्यसैमाथि ३ पटकसम्म संघीय सांसद बनिसकेका केन्द्रीय सदस्य अर्जुन जोशीसँगको उनको प्रतिस्पर्धा उत्तिकै चुनौतीपूर्ण रहेको एक कांग्रेस नेताको विश्लेषण छ ।

पहिलो पटक हुन लागेको कांग्रेस प्रदेश कार्यसमितिमा सभापति एक, उपसभापति २, महामन्त्री २ र १ महिलासहित ३ जना सहमहामन्त्री हुने छन् । प्रदेश सभापतिले निर्वाचित सदस्यहरुबाट नाम प्रस्ताव गरी निर्वाचित कार्यसमितिबाट १ जना कोषाध्यक्ष चुनिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?