+
+

‘जोवन’देखि ‘ए जिन्दगी’सम्म, यस्ता छन् साताका १० गीत

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १३:२१

१७ मंसिर, काठमाडौं । पछिल्लो साता चार दर्जन बढी गीतका म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएका छन् । प्रमोद खरेल, मेलिना राईदेखि विष्णु माझी, वसन्त थापा, शान्तिश्री परियारसम्मको स्वर रहेका गीत यस साता युट्युबमा आए । त्यस्तै, सीताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’देखि पल शाह, समीक्षा अधिकारी, आकाश श्रेष्ठ, पूजा शर्मा, आर्यन सिग्देलसम्मको अभिनय रहेका गीतका भिडियो युट्युबमा सार्वजनिक भए । यद्यपि, अधिकांश गीतहरुलाई युट्युबमा भ्युजको भने खडेरी देखियो । गत शुक्रबारदेखि बिहीबारसम्म सार्वजनिकमध्ये १० गीतको यहाँ चर्चा गरिएको छ ।

धुर्मुस-सुन्तली’ अभिनित ‘मायाले जीवन सजाऊ’

हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को १३ औैं विवाह वर्षगाँठको अवसर पारेर मंगलबार ‘मायाले जीवन सजाऊ’ बोलको गीत सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको शब्द, संगीत तथा एरेन्ज रहेको यो गीतमा सीतारामका सहोदर भाइ कुमार कट्टेल र गायिका अस्मिता अधिकारीको स्वर छ ।

गीतको भिडियोमा ‘धुर्मुस–सुन्तली’ रोमान्टिक मुद्रामा प्रस्तुत छन् । एकअर्काबीचको माया र साथले आफूहरु यहाँसम्म आइपुगेको भाव गीतमा व्यक्त गरिएको छ । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियो आकर्षक बनाउने प्रयास गरिएको छ । मानकृष्ण महर्जनको छायाँकन रहेको यस गीतको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन् । भिडियोलाई तीन दिनमा (शुक्रबार दिउँसोसम्म) युट्युबमा ४ लाख बढी पटक हेरिएको छ ।

पल र समीक्षाको अभिनयमा ‘जोवन’

अभिनेता पल शाह र समीक्षा अधिकारीले केही म्युजिक भिडियोमा सँगै अभिनय गरेका छन् । यी दुईको अभिनय रहेको नयाँ म्युजिक भिडियो हो, जोवन । यो लोकदोहोरी गीतमा वसन्त थापा र समीक्षा अधिकारीको स्वर छ । नकुल ढकालको शब्द, वसन्त थापाको संगीत रहेको गीतमा आशिष अविरलको एरेन्ज छ । यो गीतको भिडियोलाई सार्वजनिक भएको एक दिनमै युट्युबमा २ लाख बढी पटक हेरिएको छ ।

संगीतकार एवं गायक वसन्तले लोकलयमा आधारित गीतलाई नयाँ शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको बताएका छन् । दीपकमान सिंहको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा अजय रेग्मीको छायाँकन र पदम सुवेदीको सम्पादन छ ।


एलिनाको स्वरमा ‘ए जिन्दगी’

गत शनिबार गायिका एलिना चौहानको स्वर रहेको ‘ए जिन्दगी’बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । जिम्बे राईको शब्द, ऋषि खड्काको संगीत, विशाल निरौलाको एरेन्जमा एलिनाले स्वर दिएकी हुन् ।

विक्रम चौहानको कथा एवं निर्देशनमा यसको भिडियो तयार पारिएको हो । भिडियोमा अञ्जली अधिकारी, जिम्बे राई, रमेश अधिकारी र कृष्ण ढुंगानाको अभिनय छ । काल्पनिक प्रेमकथालाई भिडियोमा प्रस्तुत गरिएको छ । प्रकाश खड्काको छायाँकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडियोले युट्युबमा शुक्रबार दिउँसोसम्म ५ लाख ३० हजार बढी भ्युज पाएको छ ।

सात दिन लगाएर खिचिएको ‘राजारानी’

यसअघि ‘चौकादाउ’बोलको गीत ल्याएको टिमले गत शुक्रबार सार्वजनिक गरेको लोकदोहोरी गीत हो, राजारानी । शान्तिश्री परियार र बाबुकृष्ण परियारको स्वर रहेको गीतको भिडियोमा सुनिल क्षेत्री र गीता ढुंगानाको अभिनय छ । विजय चन्द दर्पणको शब्द, बाबुकृष्ण परियारको संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन् ।

सुनिलकै कोरियोग्राफी तथा निर्देशनमा बनेको भिडियोलाई सात दिन लगाएर खिचिएको हो । म्युजिक भिडियोमा सात दिन लगाएर खिचिएको सम्भवतः यो नै पहिलो हो । चितवनको जलवीरे झरना, कर्णाली चिसापानी, कर्णाली पुल, दाङ, जनकपुर लगायतका स्थानमा दीपक गिरीले भिडियोको छायाँकन गरेका हुन् । भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन् । एक सातामा भिडियोले युट्युबमा ३ लाख ७५ हजार बढी भ्युज पाएको छ ।

मेक्सम र चन्दाको स्वरमा ‘करिमैको दोष’

‘करिमैको दोष’बोलको लोकदोहोरी गीत सोमबार सार्वजनिक गरिएको हो । नरेश खातीको शब्द तथा संगीत, विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतमा मेक्सम खाती र चन्दा अर्यालले स्वर दिएका छन् । नरेश खातीको निर्देशनमा तयार भिडियोमा मेक्सम खाती, चन्दा अर्याल, नरेश खाती, सन्तोषी खत्री लगायतको अभिनय छ । करन चैसिरको छायाँकन रहेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । युट्युबमा यसको भिडियोलाई ४ लाख ६५ हजारभन्दा बढी पटक हेरिएको छ ।

प्रमोदको स्वरमा ‘मर्‍यो भन्दिनु’

प्रमोद खरेलको स्वर रहेको ‘मर्‍यो भन्दिनु’ बोलको गीत अघिल्लो शुक्रबार सार्वजनिक गरिएको छ । रोशन सिंहको शब्द एवं संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् ।

विक्रम चौहानको कथा तथा निर्देशनमा गीतको भिडियो निर्माण भएको छ । भिडियोमा अभि लामा, सरु थापा, राज बानियाँ लगायतको अभिनय छ । अजय रेग्मी एण्ड टिमको छायाँकन रहेको भिडियोलाई मिलन विश्वकर्माले कलर एवं सम्पादन गरेका हुन् । यस भिडियोलाई शुक्रबारसम्म २ लाख ८० हजार बढी पटक हेरिएको छ ।

विष्णु माझीको स्वरमा ‘ए धोकेबाज’

विष्णु माझी र मोहन खड्काको स्वरमा बुधबार ‘ए धोकेबाज’ बोलको गीत सार्वजनिक गरिएको हो । मायाप्रेम अनि धोकाको कथा अभिव्यक्त गरिएको गीतलाई विमल अधिकारीले लेखेका हुन् । गीतमा मोहन खड्काको संगीत, विनोद बाजुरालीको एरेन्ज छ । कपिल लामाको निर्देशन रहेको भिडियोमा विमल अधिकारी, डिम्पल खरेल र काजी सुन्दासको अभिनय छ । दुर्गा पौडेलको छायाँकन रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन छ । शुक्रबारसम्म यस गीतको भिडियोले २ लाख २० हजार भ्युज पाएको छ ।

आर्यन सिग्देल र करुणा श्रेष्ठको अभिनयमा ‘दौंतरी’

अभिनेता आर्यन सिग्देल पछिल्लो समय म्युजिक भिडियोमा समेत देखिन थालेका छन् । उनी अभिनित ‘दौंतरी’को म्युजिक भिडियो बिहीबार सार्वजनिक गरिएको छ । यो भिडियोमा आर्यन र अभिनेत्री करुणा श्रेष्ठको अभिनय छ ।

सारिका घिमिरेको शब्द, योगेशकाजी शाहको संगीत तथा एरेन्ज रहेको गीतमा मेघ पौडेल र मञ्जु लामा गुरुङले स्वर दिएका छन् । क्रान्ति केसीको निर्देशन तथा सम्पादन रहेको गीतको भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका छन् । शुक्रबार दिउँसोसम्म गीतको भिडियोले युट्युबमा ५५ हजार बढी भ्युज पाएको छ ।

मेलिनाको ‘सागर कसले बनायो’

गायिका मेलिना राईले बुधबार ‘सागर कसले बनायो’ बोलको गीत सार्वजनिक गरेकी हुन् । यो गीतमा मेलिनाले अभिनय समेत आफैंले गरेकी छन् । राम रेपचुङ राईको शब्द, विनोद खम्बुको संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । मेलिनाको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोलाई शुक्रबार दिउँसोसम्म १ लाख २० हजार भ्युज मिलेको छ । शान थापाको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन छ ।

मेलिना राई र प्रविन बेडवालको स्वरमा ‘कहाँ जाने हो कहाँ ?’

मेलिना राई र प्रविन बेडवालको स्वर रहेको गीत ‘कहाँ जाने हो कहाँ ?’ आइतबार सार्वजनिक गरिएको हो । यो गीतको म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मालाई फिचरिङ गरिएको छ । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, महाराज थापाको एरेन्ज छ । माइकल चन्दको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन र शिलन लम्सालको सम्पादन छ । यो गीतको भिडियोमा मायाप्रेमको कथा अभिव्यक्त गर्न खोजिएको छ । भिडियोले शुक्रबार दिउँसोसम्म १ लाख ७० हजार बढी भ्युज पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?