+
+

अमेरिकामा ‘ज्योमो गाङ फिल्म अवार्ड’ हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १५:५०

१९ मंसिर, काठमाडौं । ‘ज्योमो गाङ फिल्म अवार्ड’को दोस्रो संस्करण अमेरिकाको क्यालिफोर्नियामा आगामी वर्षको वैशाख १ गते हुने भएको छ । आयोजक हुकुम मल्टिमिडिया प्रालिले आइतबार बौद्धस्थित याङग्रिमा हिल सिटी होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै अवार्ड बारेमा जानकारी दिएको हो ।

नेपालमा निर्माण भएका आदिवासी जनजाति र मातृभाषामा निर्माण भएका चलचित्रको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले अवार्डको आयोजना गर्न लागिएको हो ।  चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, सम्पादक, नवअभिनेता, नवअभिनेत्री, छायांकार, खलपात्र, कथा, ब्याकग्राउड म्युजिक, द्वन्द्व निर्देशक र नव निर्देशक गरेर विभिन्न १३ विधामा अवार्ड प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रममा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, अभिनेत्री सरिता लामिछाने, निर्देशक ऋषि लामिछाने लगायतले अवार्डको सफलताको शुभकामना दिएका थिए । आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले अवार्डले श्रष्टा र सृजनाको रक्षा गर्ने बताए ।

हुकुम मल्टिमिडियाले अवार्डको पहिलो संस्करण २०७६ माघ ८ गते थाइल्याण्डको पटैयामा आयोजना गरेको थियो । विस्तारै चलचित्र क्षेत्र पहिलेकै गतिमा फर्किने अवस्थामा पुगेकाले अवार्डको आयोजना गर्न लागिएको हुकुम मल्टिमिडियाका अध्यक्ष धनबहादुर बम्जन (डीबी)ले बताए । ‘आदिवासी जनजाति मातृभाषी फिल्म स्वदेशमा मात्र होइन विदेशमा पनि पुर्‍याउनु हाम्रो उद्देश्य पनि हो । अवार्डले चलचित्र र चलचित्रकर्मीको प्रचारप्रसार समेत हुनेछ,’ उनले भने ।

आयोजक मल्टिमिडियाले अवार्डमा सहभागी फिल्मका लागि आवेदन समेत खुला गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?