+
+

दक्षिण कोरियामा कोरोना संक्रमितको दैनिक संख्या हालसम्मकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १३:३३

२२ मंसिर, काठमाडौं । पछिल्लो समय दक्षिण कोरियामा कोभिड-१९ का दैनिक संक्रमित निरन्तर बढिरहेका छन् ।

पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा महामारी सुरु भएयता पहिलो पटक दैनिक संक्रमितको संख्या ७ हजार नाघेको छ । पहिलो पटक दैनिक संक्रमितको संख्या ७ हजार नाघेको दक्षिण कोरियाका प्रधानमन्त्री किम बू किउमले बताएका हुन् ।

किउमले कोभिड प्रतिकार्य बैठकमा घरमै बसेर उपचार गरिरहेका कोभिड बिरामीको उपचारका लागि थप स्वास्थ्यकर्मी परिचालन गरिने पनि बताएका छन् । गम्भीर बिरामी बनेका लागि हस्पताल लगिने व्यवस्था हुन लागेको पनि उनको भनाइ थियो ।

उनले ३५ प्रतिशत संक्रमण ६० माथिका मानिसमा देखिएको र गम्भीर संक्रमणमध्ये ८४ प्रतिशत यही उमेर समूहका मानिस रहेको भन्दै वृद्ध-वृद्धालाई बुस्टर डोज लगाउन पनि आग्रह गरेका छन् ।

दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले मंगलबार ७ हजार १७५ जना नयाँ संक्रमित थपिएको र ६३ जनाको मृत्यु भएको जनाएको छ। यही नोभेम्बरको सुरुमा प्रतिबन्धात्मक नियम हटाउँदै ‘कोभिड-१९सँगै बाँच्ने’ रणनीति लागू भएपछि दक्षिण कोरियामा संक्रमितको संख्या ह्वात्तै बढेको हो।

नयाँ संक्रमितमध्ये अधिकांश राजधानी सिओलका छन् । तर यसै हप्तादेखि थोरै संख्यामा मात्रै जमघट गर्न पाइने र खोप अनिवार्य लगाउनुपर्ने भन्दै नियममा पुन: कडाइ गरिएको छ ।

दक्षिण कोरियामा हालै पत्ता लागेको ओमिक्रोन भेरियन्टका संक्रमित पनि फेला परेको छ । पछिल्लो विवरण अनुसार त्यहाँ १२ जनामा उक्त भेरियन्ट पुष्टि भइसकेको छ ।

हालसम्म दक्षिण कोरियामा कोभिड-१९ बाट कुल ४ लाख ८९ हजार ४८४ मानिस संक्रमित भएका छन् । यसमध्ये ४ लाख १३ हजार हजार ७२० जना कोरोनामुक्त भएका छन्। त्यस्तै, वर्ल्डोमिटरका अनुसार त्यहाँ हालसम्म ४ हजार २० जना संक्रमितको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?