
२३ मंसिर, काठमाडौं । चलचित्र ‘जिन्दगी रक्स र फाटेको जुत्ता’ निर्देशन गरेर आफ्नो निर्देशकीय क्षमता देखाएका निकेश खड्काको तेश्रोे चलचित्र ‘चपली हाइट ३’ पुस २ गते रिलिज हुँदैछ ।
निर्देशक दीपेन्द्र के खनालले अघिल्ला दुई सिरिजलाई बलियो रुपमा प्रस्तुत गरिसकेकाले निकेशलाई यो चलचित्रको नामको ब्राण्डलाई जोगाउनुपर्ने चुनौती पनि उत्तिकै छ । ‘चपली हाइट’ र ‘चपली हाइट २’ सफल चलचित्रका रुपमा दर्ज भइसकेका छन् ।
निकेश अघिल्ला दुई सिरिजको दबाबमा आफू रहेको स्वीकार्छन् । ‘मलाई यो चलचित्रको नामको ब्राण्ड जोगाउने चुनौती छ । यसका लागि मैले मिहिनेत पनि गरेको छु । यो चलचित्रको नाम मैले पाउनु नै म भाग्यमानी सावित हुनु हो,’ उनले भने, ‘मैले चलचित्रको अघिल्लो सिरिजको क्रेजलाई अझै माथि पुर्याउने सोचका साथ काम गरेको छु जस्तो लाग्छ ।’ निर्माता अर्जुन कुमारले आफूलाई विश्वास गरेपछि नै दबाब लिएर हिँडेको उनले बताए ।
‘चपली हाइट ३’ ले एक हत्या र त्यसपछि उत्पन्न हुने परिस्थितिको कथा भन्ने निकेशले बताए । त्यसो त, निकेश नेपाली म्युजिक भिडियो निर्देशनमा स्थापित नाम हो । उनले थुप्रै म्युजिक भिडियोमा राम्रो निर्देशकीय क्षमता देखाइसकेका छन् ।
‘चपल हाइट ३’मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको मुख्य भूमिका छ ।
प्रतिक्रिया 4