
२३ मंसिर, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विश्व नयाँ शीतयुद्धतर्फ अग्रसर भइरहेको तर आफ्नो मुलुक कुनै पनि राजनीतिक ध्रुवमा नलाग्ने प्रस्ट पारेका छन् ।
प्रधानमन्त्री खानले इस्लामावादमा आयोजित ‘शान्तिपूर्ण र समृद्ध दक्षिण एसिया’ विषयक इस्लामावाद कन्क्लेभ (२०२१) लाई सम्बोधन गर्दै पाकिस्तान कुनै पनि ध्रुवमा नलाग्ने बताएका हुन् । पाकिस्तानले पक्षविपक्षमा उभिनुको साटो अमेरिका र चीनबीच जारी मतभेद कम गर्न चाहेको पनि उनको भनाइ थियो ।
‘अवस्था नयाँ शीतयुद्धतर्फ अग्रसर देखिन्छ र ध्रुवहरू बनिरहेका छन्’, खानले भने, ‘पाकिस्तानले यस्ता ध्रुव गठन रोक्ने प्रयास गर्नुपर्छ किनभने हामीहरू कुनै पनि ध्रुवको अंग बन्नु हुन्न ।’
यसअघि अमेरिका र रुसी महासंघबीचको शीतयुद्धबाट विश्वले धेरै क्षति व्यहोरेका कारण संभावित नयाँ शीतयुद्धमा पाकिस्तान फँस्न नहुने पनि खानले प्रस्ट पारेका छन् ।
पाकिस्तानले साउदी अरब र इरानबीचको विवाद कम गर्ने कार्यमा भूमिका खेलेको भन्दै अमेरिका र चीनको हकमा समेत त्यस्तै भूमिका खेल्न चाहेको पनि खानले बताए ।
पाकिस्तानले अमेरिकामा हुन लागेको ‘डेमोक्रेसी समिट’मा सहभागी नहुने बताएको एक दिनपछि खानले यस्तो टिप्पणी गरेको डन डटकमले जनाएको छ ।
त्यस्तै, खानले आफ्नो सम्बोधनका क्रममा दक्षिण एसियाको क्षेत्रीय अवस्थाबारे समेत बोलेका थिए ।
दक्षिण दक्षिण एसियालाई ‘बन्धक’ बनाइरहेको मुख्य समस्या कश्मीर मुद्दा भएको र भारतसँग शान्तिका लागि बढाउँदा कुनै उत्तर नपाएको पनि उनले बताए ।
भारत र पाकिस्तान दुबै जलवायु परिवर्तनको जोखिममा रहेको भन्दै मिलेर यसप्रति ध्यान दिनुपर्ने पनि खानले बताए ।
‘हाम्रो भविष्य जोडिएको छ । हामी दुवैले मिलेर जवलायुमाथि केन्द्रित हुनुपर्छ’, खानले भने, ‘तर विश्व नेताहरूमा यो गम्भीरता देखिरहेको छैन किनभने जलवायु परिवर्तन रोक्ने कदमसँग उनीहरूको आर्थिक स्वार्थ टकराउने गर्छ ।’ डनडटकमबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4