
२३ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले भेडाहा खोलामा बाढी नियन्त्रणका लागि ४१ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । बुधबार बसेको नगर कार्यपालिकाको बैठकले भेडाहा खोला नियन्त्रणका लागि लाग्ने लागत अनुमान गरेको हो ।
भेडाहा खोला नियन्त्रणका लागि राष्ट्रिय योजना आयोगले समपुरक अनुदान स्वरुप २५ करोड रुपैयाँ दिएको छ । वीरगञ्ज–२७, २८, २९, ३० र ३१ मा पर्ने भेडाहा खोलामा आउने बाढीले वर्षेनी जमिन कटान गर्ने गरेको छ ।
बैठकले सामुदायिक सिकाइ केन्द्रका परिचालकहरुको पारिश्रमिक १५ हजारमध्ये ७ हजार महानगरले उपलब्ध गराउने, वीरगञ्ज घण्टाघर स्थित सिटी शौचालय ठेक्का लगाउने, मेयर कप २०७७ समितिका पदाधिकारीहरुको पारिश्रमिक दिने, वडा नं १९ र २१ मा वर्थिङ सेन्टर सञ्चालन गर्ने लगायत निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेले जानकारी दिए ।
त्यसैगरी वीरगञ्जलाई साक्षर घोषणा गर्ने, सामुदायिक माविमा खेल प्रशिक्षक वा फोकल पर्सन राख्ने निर्णयसमेत भएको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले बताए ।
‘साक्षर नगर घोषणा गर्न लायकको अवस्थामा त पुगिसकेका छौं, तर पुनः एकपटक सर्वेक्षण गरेर वास्तविक स्थिति पत्ता लगाउने र चैत मसान्तभित्र घोषणा गर्नेगरी तयारी गरेका छौं’ उनले भने, ‘साक्षरता घोषणाका लागि संघले ७ लाख रुपैयाँ दिएको छ । साझेदारी कार्यक्रम भएकोले महानगरले पनि उतिकै रकम थप्नुपर्छ । निरक्षर धेरै भेटिएका वडामा साक्षरता कक्षा नै सञ्चालन गर्छौ ।’
प्रतिक्रिया 4