६ वैशाख, वीरगञ्ज । लामो समयदेखि रोकिएको वीरगञ्जको मुख्य सडक विस्तारको काम आज बिहानैदेखि सुरु भएको छ । बिहानै ५ बजेदेखि सडक विस्तारको काम सुरु गरिएको हो ।
सडक डिभिजन कार्यालय हेटौंडाका अनुसार त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक २५–२५ मिटर दायाँ–बायाँ विस्तार गर्न थालिएको छ ।
सडक विस्तारलाई प्रभावकारी बनाउन एकैसाथ पाँच स्थानबाट काम सुरु गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
सडक विस्तारका लागि डोजर र एक्साभेटरसहित ९ वटा उपकरणलगायत प्रयोग गरिएको छ । सुरक्षाकर्मीहरुको तैनाथी पनि बढाइएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद दाहालका अनुसार सडकको मध्य भागबाट २५ मिटर क्षेत्रभित्र पर्ने घर, टहरा तथा अन्य संरचना हटाउने काम थालिएको छ । यसका लागि वीरगञ्ज महानगरपालिका, प्रहरी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरिएको छ ।
सर्वोच्च अदालतले २०८१ फागुन २८ गते उक्त सडक विस्तारसम्बन्धी मुद्दामा सरकारको पक्षमा फैसला गर्दै विपक्षीको रिट खारेज गरेपछि सडक विस्तारको काम अघि बढाउने बाटो खुलेको हो । यसअघि करिब एक हजार २०० घरधनीले मुआब्जा र वैकल्पिक सडकको माग गर्दै रिट दायर गरेका थिए, जसका कारण झन्डै १३ वर्षदेखि सडक विस्तार अन्योलमा परेको थियो ।
अब अदालतको निर्णयपछि प्रशासनले संरचना हटाउँदै चरणबद्ध रूपमा सडक विस्तार अघि बढाएको छ ।

प्रतिक्रिया 4