+
+
Shares

पर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु

सफल खतिवडा सफल खतिवडा
२०८२ फागुन ११ गते १०:३६

११ फागुन, पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुर–मुर्ली चौक क्षेत्रमा युवाहरुको दुई समूहबीच विवाद हुँदा आइतबार रातिदेखि तनावग्रस्त बनेको छ ।

सामान्य विषयबाट सुरु भएको विवादले उग्ररूप लिएपछि दुवै पक्षबीच झडप र ढुंगा हानाहान भएपछि स्थानीय प्रशासनले आज बिहानैदेखि महानगरभित्र कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले सामान्य गाडी पार्किङको विषयलाई लिएर युवाहरूबीच विवाद भएको र त्यसले केहीबेर तनावपूर्ण अवस्था सिर्जना गरेको जानकारी दिए । ‘सवारी पार्किङको विषयमा युवाहरूबीच विवाद हुँदा ढुंगामुढा भएको थियो, अहिले अवस्था नियन्त्रणमा छ’, उनले भने ।

स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान ९:४५ बजेदेखि अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यु लागू गरिएको हो ।

जिप्रका पर्साले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगञ्ज महानगरपालिकाको तोकिएको चार किल्ला क्षेत्रभित्र कर्फ्यु आदेश लागू गरिएको जनाएको छ । प्रशासनका अनुसार कर्फ्यु क्षेत्रको सीमा पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरतर्फ गण्डक चौक र दक्षिणतर्फ शंकराचार्य गेटसम्म निर्धारण गरिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको आदेशअनुसार कर्फ्यु अवधिभर कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, धर्ना वा घेराउजस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।सवारी साधन सञ्चालनसमेत निषेध गरिएको छ भने अत्यावश्यक सेवाबाहेक अन्य सबै गतिविधि बन्द रहने जनाइएको छ ।

पछिल्लो समय शान्ति सुरक्षा तथा सार्वजनिक सुव्यवस्था प्रभावित हुन सक्ने सम्भावना देखिएकाले सम्भावित अप्रिय घटना रोक्न र सर्वसाधारणको जीउधनको सुरक्षा सुनिश्चित गर्न कर्फ्यु जारी गर्नुपरेको स्पष्ट पारेको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट ठूलो संख्यामा नेपाल प्रहरी तथा अन्य सुरक्षाकर्मी र नेपाली सेना परिचालन गरिएको थियो । सुरक्षाकर्मी घटनास्थलमा पुगेपछि अवस्था नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार झडपका क्रममा केही युवाहरू सामान्य घाइते भएका छन् । घटनापछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित अप्रिय घटना हुन नदिन प्रहरी टोलीले निरन्तर निगरानी गर्नुको साथै घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइने डिएसपी बस्नेतले बताएका छन् ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय पर्साको सूचना–

लेखक
सफल खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?