+
+
Shares

घर खानतलासीदेखि पीएसम्मलाई केरकार गरेपछि समातिए मेयर सिंह

प्रहरीले मेयर सिंहको घर समेत खानतलासी गरेको थियो । त्यसपछि बल्ल एक सातापछि प्रहरीले मेयर सिंहलाई नियन्त्रणमा लिन सफल भएको हो । ‘हामीले घर खानतलासी गर्नेदेखि पीएलाई समेत केरकार भएपछि बल्ल मेयरलाई पक्राउ गर्न सफल भएका हौं’, ती प्रहरी अधिकारीले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १०:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह नागरिकतासम्बन्धी लिखत कसुरमा मंगलबार बिहान ठोरीस्थित रिसोर्टबाट पक्राउ परेका छन् ।
  • जिल्ला अदालत पर्साले १२ जेठमा सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनी फरार रहँदै आएका थिए ।
  • उनीमाथि २०७५ सालमा नक्कली बाबु बनेर एक युवतीलाई नागरिकता बनाइदिएको आरोप लागेको छ ।

१९ जेठ, काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह मंगलबार बिहान पर्साकै ठोरीस्थित रिसोर्टबाट पक्राउ परे ।

पर्साको विशेष टोलीले बिहान ६:७ बजे मेयर सिंहलाई ठोरी गाउँपालिका–३ ठोरी रिसोर्टबाट पक्राउ गर्न सफल भएको हो । मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाका अनुसार उनी पक्राउ पुर्जी जारी भएसँगै फरार भएका थिए ।

रिसोर्टबाट समातिएका सिंहमाथि अब लिखतसम्बन्धी कसुरमा पर्सा प्रहरीबाटै अनुसन्धान हुने बताइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी राजु कार्कीका अनुसार ५६ वर्षीय सिंहमाथि नागरिकतासम्बन्धी लिखत कसुरमा अनुसन्धान हुनेछ ।

१२ जेठमा पर्सा जिल्ला अदालतले सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको सूचना सार्वजनिक हुनासाथ मेयर सिंह भने मोबाइल अफ गरेर सम्पर्कबिहीन भएका थिए ।

भोलिपल्ट बुधबार भने उनी आफैं अदालत उपस्थित भएको विषय पनि सार्वजनिक भएको थियो । तर, अदालतले उनीमाथिको मुद्दाको कारबाही तत्काल नहुने जानकारी गराएको बताइएको छ । त्यसपछि भने उनी फरार भएका थिए ।

यो विषयमा भने प्रहरीले अदालतले गल्ती गरेको अनौपचारिक रुपमा बताएको छ । ‘अदालतले नै पक्राउ पुर्जी जारी गरेको व्यक्तिले अदालतमा आएको अवस्थामा ती व्यक्ति प्रहरीलाई जिम्मा लगाउनुपर्ने वा त्यसको जानकारी अदालतले प्रहरीलाई गर्नुपर्ने हो । तर, हामीले मेयर सिंहबारट अदालतले केही जानकारी गराएन । उनी अदालत उपस्थित भएपछि फरार भएछन्’, एक प्रहरी अधिकारीले अनलाइनखबरसँग भने ।

पक्राउ पुर्जी जारी भएका व्यक्ति अदालतबाट फरार भएको सार्वजनिक भएपछि यता पर्सा प्रहरीमाथि भने दबाब सिर्जना भएको थियो ।

त्यसपछि पर्सा प्रहरीले मेयर सिंहलाई पक्राउ गर्न भनेर डीएसपी हरि बस्नेतको कमाण्डमा टोली नै गठन गरेको थियो । तर, करिब एक सातासम्म मेयर सिंह फरार नै रहे । सोमबार मात्रै प्रहरीले मेयर सिंहका पीएसँग सोधपुछ गरेको थियो ।

यसअघि प्रहरीले मेयर सिंहको घर समेत खानतलासी गरेको थियो । त्यसपछि बल्ल एक सातापछि प्रहरीले मेयर सिंहलाई नियन्त्रणमा लिन सफल भएको हो । ‘हामीले घर खानतलासी गर्नेदेखि पीएलाई समेत केरकार भएपछि बल्ल मेयरलाई पक्राउ गर्न सफल भएका हौं’, ती प्रहरी अधिकारीले भने ।

के हो मेयरमाथिको आरोप ?

मेयर सिंहमाथि जिल्ला प्रहरी कार्यालय पर्सामा २०८० को फागुनमै किटानी जाहेरी परेको थियो । त्यतिबेला प्रहरीले उक्त जाहेरी करिब १५ दिनसम्म होल्ड गरेर राखेको थियो । पछि चौतर्फी दबाब आएपछि बल्ल जाहेरी दर्ता भएको थियो ।

सिंह जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेर १० जेठ २०७९ मा मेयरमा निर्वाचित भएका थिए । २०८० कै पुसको अन्तिमतिर मेयर सिंहले आफू नक्कली बाबु बनेर एक जना युवतीलाई नागरिकता बनाइदिएको सार्वजनिक भएको थियो ।

त्यसबेला जिल्ला प्रशासन कार्यालय, पर्साले छानबिन गर्दा ढड्डाबाट अनुसूची नै गायब भेटिएको थियो । प्रशासनले १३ साउन २०७५ मा उनलाई नागरिकता जारी गरेको विवरणहरु सार्वजनिक भएका थिए ।

यसबारे छानबिन गर्न गृह मन्त्रालयले समिति समेत बनाएको थियो । त्यसक्रममा उनले नागरिकता लिने युवती अर्की श्रीमतीबाट जन्मिएकी ‘आफ्नै छोरी’ भएको बताएका थिए । पछि दोस्रो श्रीमती भनिएकी महिलाले अदालतमा अंश र डिभोर्सको मुद्दा समेत दिएको अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?