+
+
कांग्रेस महाधिवेशन :

काठमाडौं भित्रिने गाडीको संख्या बढ्यो तर ट्राफिक प्रहरी भन्छ- सडकमा चाप छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १०:०८

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंमा आयोजित १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भने पनि बिभिन्न जिल्लाबाट कांग्रेस कार्यकर्ताहरु काठमाडौं उपत्यका भित्रिने क्रम केही बढेको छ ।

कांग्रेसले पहिलेजस्तो उपत्यका बाहिरबाट कार्यकर्ताहरु नओसारे पनि कार्यकर्ताहरु स्वतःस्फूर्त काठमाडौं उपत्यकामा आएका छन् ।

ट्राफिक प्रहरी प्रवक्ता सञ्जिव शर्मा दासले काठमाडौं उपत्यका भित्रिने सवारी साधनहरुको संख्या केही बढे पनि धेरै चाप भने नभएको बताए । उनले अनलाइनखबरसँग भने, ‘म बिहान सबैतिर घुमें । अहिले पनि भृकुटीमण्डप क्षेत्रमै छु, सडकमा खासै चाप छैन । तर काठमाडौं भित्रिने सवारी साधनको संख्या भने केही बढेको छ ।’ उनका अनुसार बिहीबार काठमाडौं उपत्यकामा ८ हजार २ सय सवारी साधन भित्रिएकोमा आज बिहान ८ हजार ६ सय सवारी साधन भित्रिएको तथ्यांक रहेको प्रवक्ता शर्माले बताए ।

महाधिवेशनका लागि आएका सवारी साधनहरुलाई खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको छ । उदघाटन समारोह सुरु हुनुभन्दा केही समय अगाडि भने प्रदर्शनीमार्ग र त्यस वरपर मानिसहरुको चाप बढ्ने अनुमान छ । चाप बढेमा पद्मोदय मोडबाट पैदलयात्रीलाई मात्र प्रवेश दिने गरी तयारी गरिएको ट्राफिक प्रहरी प्रवक्ता दासले बताए । कांग्रेसले महाधिवेशनमा जुलुश ननिकाल्ने भएकाले सडक क्षेत्र खासै अस्तव्यस्त नहुने ट्राफिक प्रहरीको अनुमान छ ।

प्रत्येक चार वर्षमा हुनुपर्ने नेपाली कांग्रेसको महाधिवेशन पाँच वर्ष नौ महिनापछि आजदेखि सुरु हुँदै छ । महाधिवेशनको उदघाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?