+
+

पौडेल समूहको नयाँ प्रस्ताव : सभापतिमा सहमति नभए पदाधिकारी र केन्द्रीय सदस्यको एउटै टिम बनाऔं

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १२:४०

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहबाट सभापतिको साझा उम्मेदवार छनोटको सम्भावना टर्दै गएको नेताहरुले बताएका छन् ।

सहमतिको प्रयासमा नेताहरुको दौडधुप चलिरहेको छ । सहमतिको प्रयास असफल भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल मौन बसेका छन् । उनी आफ्नो समूहका नेताहरुले गरेको छलफलमा समेत सक्रिय रुपमा सहभागी भएका छैनन् ।

यद्यपि उपसभापति, महामन्त्री र सहमहामन्त्रीका आकांक्षीहरुले भने सहमतिको प्रयास छाडेका छैनन् । बिहीबार दिउँसो महामन्त्री डा. शशांक कोइरालालाई भेटेर पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका उनीहरुले साँझ सभापतिका दुई आकांक्षी प्रकाशमान सिंह र डा. शेखर कोइरालालाई छुट्टाछुट्टै भेटेका थिए । उनीहरुले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै साझा उम्मेदवारका रुपमा अघि सारेर भएपनि अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए ।

सभापतिमा साझा उम्मेदवार बनाउने सम्भावना टर्दै गएपछि नेताहरुले नयाँ विकल्पमा छलफल थालेका छन् ।

एक केन्द्रीय सदस्यका अनुसार पौडेलको नाममा सहमति जुट्छ भने आफूले पनि स्वीकार गर्न सभापतिका आकांक्षी डा. कोइराला सकारात्मक देखिएका छन् । सिंह सभापतिको उम्मेदवार बन्दा आफूलाई पनि रोक्न नमिल्ने शेखरको तर्क छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले भने पौडेललाई साझा उम्मेदवार मान्न आफू तयार नभएको बताए । पौडेललाई आफूले १३औं महाधिवेशनमै सभापतिमा छाडेकाले यो पटक आफ्नो नाममा सहमति हुनुपर्ने उनको अडान छ । सहमति हुँदैन भने पनि आफूले सभापतिमा उम्मेदवारी दिने उनले बताएका छन् ।

‘सभापति नभए अरु साझा उम्मेदवार बनाऔं’

सभापतिमा साझा उम्मेदवार बनाउने सम्भावना टर्दै गएपछि नेताहरुले नयाँ विकल्पमा छलफल थालेका छन् । शुक्रबार बिहान अनुपम फुडल्याण्डमा छलफल गरेका केन्द्रीय सदस्यहरुले भनेका छन्, यदि सभापतिमा सहमति जुट्दैन भने पदाधिकारी र केन्द्रीय सदस्यमा भने साझा उम्मेवार खोजौं ।

यो अवस्थामा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि साथ दिनुपर्ने उनीहरुले बताएका छन् । एक केन्द्रीय सदस्य भन्छन्, ‘हामी साँझ ५ बजे सबै नेताहरुसहित बस्छौं । यदि सभापतिमा सहमति जुट्दैन भने पदाधिकारी र सदस्यहरुको एउटै टिम बनाउँछौं । त्यो बेलामा रामचन्द्र दाइले पनि साथ दिनुपर्छ ।’

अर्का एक केन्द्रीय सदस्यका अनुसार त्यस्तो टिम बनेको अवस्थामा उनीहरु सभापतिका दुबै उम्मेदवार (सिंह र कोइराला)सँग नजोडिने अवस्था पनि आउन सक्छ । यद्यपि सभापतिका आकांक्षी शेखरले भने आफूलाई समर्थन गर्नुपर्ने बताएका छन् । सहमति हुन्छ भने रामचन्द्र पौडेललाई छाड्न आफू तयार भएको भन्दै उनले भनेका छन्, ‘सहमति हुँदैन भने तपाईंहरुले मलाई सघाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?