+
+

वन्यजन्तुको जोखिम विराटनगर विमानस्थलमा धेरै, काठमाडौंमा चरा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १६:१०
नेपालगञ्ज विमानस्थलमा कात्तिक १६ गते बिहान बँदेलसँग ठोक्किएको सीता एयरको जहाज ।

२४ मंसिर, काठमाडौं । नेपालमा हवाई उडानको संख्यामा भएको वृद्धिसँगै चरा र वन्यजन्तुसँग एयरक्राफ्ट ठोक्किने समस्यामा समेत वृद्धि भएको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल एभिएसन सेफ्टी टीमले तयार पारेको तथ्यांक अनुसार सन् २०२१ मा मात्र चराका कारण ४३ र वन्यजन्तुका कारण १२ वटा साना–ठूला घटना भएका छन् । जसमध्ये चरा र एयरक्राफ्टबीच काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा बढी संघर्ष भएको देखिन्छ । तर, वन्यजन्तुको जोखिम भने विराटनगर विमानस्थलमा बढी हुने गरेको पाइएको छ ।

तथ्यांक अनुसार चराको जोखिम सामना गरिएका ४३ वटा घटनामध्ये काठमाडौंमा मात्र १८ वटा छन् । वन्जयन्तुका कारण जहाजले बढी अवरोध भोगेको विराटनगर विमानस्थलमा सन् २०२१ मा मात्र ४ वटा यस्ता घटना भएका छन् ।

आयोनको तथ्यांक अनुसार काठमाडौं र पोखरामा चराको गतिविधि बढी भएपनि यहाँ वन्यजन्तुका कारण जोखिम बेहोर्नु परेको छैन ।

नेपालगञ्जमा चरा र वन्यजन्तु दुवैको जोखिम

तथ्यांक अनुसार नेपालगञ्ज विमानस्थलमा चरा र वन्यजन्तु दुवैको जोखिम बराबरी देखिएको छ । यो विमानस्थलमा कुल चार वटा यस्ता घटना भएको रिर्पोटिङ छ ।

विराटनगर विमानस्थलमा यो वर्ष वन्यजन्तुसँग सम्बन्धित दुई वटा घटना भएका छन् । संघको रेकर्ड अनुसार सन् २०२१ मा मात्र देशभरका १४ वटा विमानस्थलमा चरा र वन्यजन्तुसँग सम्बन्धित घटना भएका छन् ।

काठमाडौं, पोखरा, विराटनगर, नेपालगञ्जसहित लुक्ला, भरतपुर, जनकपुर, भैरहवा, बाजुरा, सुर्खेत, चन्द्रगढी, धनगढी, राजविराज र सिमरा वन्यजन्तु तथा चराको गतिविधिबाट प्रभावित बनेका विमानस्थल हुन् ।

त्यसो त सन् २०१८ देखि २०२१ को तथ्यांक केलाउँदा समेत यस्तै प्रवृत्ति देखिन्छ । वन्यजन्तुका कारण यो चार वर्षको अवधिमा विराटनगरमा कुल १० वटा घट्ना भएका छन् । नेपालगञ्जमा ६ र काठमाडौं र भैरहवामा ५/५ वटा घटना भएका छन् ।

अवतरणका क्रममा वन्यजन्तुसँग जम्काभेट

यो वर्ष भएका घटनाको विश्लेषण गर्दा जहाज अवतरण गर्दा वन्जन्तुको बढी सामना गर्नु परेको छ । यस्तो घटना कुल ७ वटा भएका छन् ।

धावनमार्गबाट उडान गर्ने क्रममा ३ वटा घटना भएका छन् । अप्रोचको बेला २ पटक वन्यजन्तुको सामना गर्नु परेको छ । चराका कारण भने टेकअफ, ल्याण्डि र अप्रोच तीन वटै बेला जोखिमको सामना गर्नु परेको छ ।

चरा र वन्यजन्तुसँग ठोक्किँदा जहाजमा कस्तो क्षति ?

सन् २०२१ को १० महिनामा भएका घट्नामा मात्र वायुसेवा सञ्चालकहरुले ठूलो क्षति बेहाुर्न परेको छ ।

यो वर्ष चरासँग ठोक्किएको यति एयरलाइन्सको जहाजको अगाडिको भागमा क्षति पुगेको थियो । यस वर्ष यति कै अर्को जहाजको दायाँतर्फको इन्जिनमा क्षति पुगेको रिर्पोट छ ।

सीता एयरको जहाज चरासँग ठोक्किँदा पखेटामा क्षति पुगेको छ । सीताकै अर्को जहाज वन्यजन्तुसँग ठोक्किँदा ल्याण्डिङ गियरमा असर पुगेको छ । बुद्ध एयरको जहाज वन्यवन्तुसँग ठोक्किँदा नोज ह्वील डोरमा क्षति पुगेको छ ।

वन्यजन्तु र चराका कारण हुने यस्तो घटनामा व्यवसायीले ठूलो क्षति बेहोर्नु परिरहेको वायुसेवा सञ्चालक संघका अध्यक्ष क्या. रामेश्वर थापा बताउँछन् । यस्तो बेला प्राधिकरणले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

व्यवसायीको माग अनुसार प्राधिकरणले क्षतिपूर्तिका लागि काम गर्ने प्रतिवद्धता भने व्यक्त गरेको छ । प्राधिकरणका महाप्रवन्धक राजकुमार क्षेत्रीले यसका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?