+
+

कृष्ण सिटौलाले सभापतिमा उम्मेदवारी देलान् ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते २१:०२

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा तेस्रो धारको नेतृत्व दाबी गर्दै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सभापतिमा उम्मेदवारी नदिने सम्भावना बढेको निकटवर्तीहरुले बताएका छन् ।

कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार भोलि शनिबार उम्मेदवार मनोनयन दर्ता हुँदैछ । १३ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका सिटौलालाई १४ औं महाधिवेशनमा पनि सभापतिको उम्मेदवारका रुपमा हेरिएको थियो ।

तर सिटौलाले महामन्त्रीमा प्रदीप पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरीलाई अघि सारेका छन् । महाधिवेशन उद्घाटन समारोह सकिएपछि आफ्नो समूहको बैठक राखेका उनले आफ्नो उम्मेदवारीबारे बोलेका छैनन् । यद्यपि संस्थापन र रामचन्द्र पौडेल समूहसँग सम्वादमा रहेका उनी सभापतिमा नलड्ने सम्भावना बढेको एक नेताले बताए । ‘उहाँ (सिटौला) सभापतिको उम्मेदवार नबन्ने सम्भावना धेरै छ,’ सिटौलानिकट एक नेताले भने, ‘उहाँ युवाहरुलाई पार्टी नेतृत्वमा ल्याउनुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ ।’

महाधिवेशनको उद्घाटन कार्यक्रमा पनि पूर्वमहामन्त्री सिटौलाले पार्टी नेतृत्वमा युवाहरुलाई आफूले अगाडि बढाउन चाहेको भन्दै प्रदीप पौडेलको नाम लिएका थिए ।

संस्थापन समूहसँग नजिक 

सिटौला समूहले तल्लो कमिटीहरुमा सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहसँग सहकार्य गरेको छ । केन्द्रमा पनि त्यो सम्भावना कायमै रहेको यो समूहका नेताहरु बताउँछन् । तर संस्थापन समूहमा महामन्त्रीका आकांक्षी धेरै छन् ।

गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, नेता एनपी साउद महामन्त्रीका आकांक्षी छन् । जबकी सिटौला समूहले प्रदीपलाई महामन्त्रीमा अघि सारेको छ ।

सिटौला समूहबाट केन्द्रीय सदस्य शिव हुमागाईं खसआर्यतर्फ र उमाकान्त चौधरी थारुतर्फ सहमहामन्त्री पदका आकांक्षी छन् । चौधरी उम्मेदवार बन्ने लगभग पक्का जस्तै छ, तर हुमागाईंको उम्मेदवारीबारे अझै टुंगो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?