+
+
बहसमा कांग्रेस महाधिवेशन :

अब चाहिने कांग्रेस

मनिष झा मनिष झा
२०७८ मंसिर २६ गते २०:३५

नेपाली कांग्रेसको चौधौं महाधिवेशनको उद्घाटन समारोहमा राप्रपाका नवनिर्वाचित अध्यक्ष ५६ वर्षीय राजेन्द्र लिङ्देनले भने कि पहिले पहिले ‘नेता आए’ भन्ने नागरिकले अब हामी सबै नेताहरूलाई ‘चोर आए’ भन्न थालेका छन् । उनको त्यो अभिव्यक्तिको जवाफ र स्पष्टीकरणमा उपस्थित प्रमुख दलका नेताहरूले ‘चोरको खुट्टा काट’ भने झैं महसूस गरेर बुरूक्क बुरूक्क उफ्रिए, अपमानित महसूस गरे र जवाफ फर्काए । तर त्यहीं उपस्थित धेरैजना भने लिङ्देनको समर्थनमा देखिए । खोज पत्रकारिता केन्द्रका प्रमुख सम्पादक किरण नेपालको ट्विट आयो- ‘यदि त्यो मञ्चमा लिङ्देन नभएको भए, सबैले के बोल्थे होला ?’

म पनि त्यही सोच्दै थिएँ, के देउवा र ओलीले आफ्नो दलभित्रको लोकतान्त्रिक अभ्यासबारे बोल्ने ल्याकत राख्थे ? के माधव नेपालले स्थिर सरकारको लागि दलभित्रको आन्तरिक व्यवस्थापन बारे बोल्थे वा प्रचण्डले पटक पटक गर्भपात गराएर गर्भधारण गर्न खोजेको क्रान्तिको अभियानको कुरा गर्थे ? वा भनौं उपेन्द्र यादव र महन्थ ठकुरले फेरि मधेशको चिन्ता नै पहिलो प्राथमिकता हो भन्ने अभिनय गर्थे ? ठूला मञ्च र खुला मञ्चहरू पहिले झैं सस्तो र सहज छैन अब, किनकि धेरैले धेरै कुरा बुझ्न थालेका छन्, सोच्न थालेका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहले निक्कै नै स्पष्ट रूपमा नेपालमा कांग्रेसको वर्तमानको यथार्थ राजनीतिक चित्रण गरेको छ । अरु दलले झैं प्रायोजित भीड जम्मा नगरेर शान्त तवरले आयोजना गर्न खोज्नु चाहिं एक शालीन सन्देश पनि हो । त्यो कुराले नेपाली कांग्रेस व्यावहारिक परिवर्तनको लागि तयार छ भन्ने सन्देश पनि दिन्छ ।

नेकपा एमालेको १०औं महाधिवेशनका दौरान चितवनको भेलामा प्रधानमन्त्री देउवा बोल्दै गर्दा एमाले कार्यकर्ताबाट भएको हुटिङ र भृकुटीमण्डपमा एमाले अध्यक्षको अभिव्यक्तिमा उपस्थित कांग्रेस प्रतिनिधिहरूले गरेको स्वागतले पनि अर्को सन्देश दिन्छ । कांग्रेसले अझै बहुलवाद नबिर्सेको भान हुन्छ । अब केही अर्को कोणबाट कांग्रेसलाई हेरौं ।

मधेश राजनीतिमा कांग्रेसी अन्योल

नेपाली कांग्रेसको लागि मधेश यस्तो खेत हो, जहाँ उत्पादित धानले कांग्रेसको ढुकुटी भर्न सबैभन्दा धेरै योगदान गर्छ तर कांग्रेसले मलजल गर्ने बेला किसानलाई बिर्सेर कृत्रिम ठेकेदारलाई सम्झिन्छ । अनि दोष भने त्यो माटोलाई दिन्छ जबकि दोष माटोमा हैन, त्यहाँको मोहीको मोहमा छ ।

वि.सं. २००६ देखि नै कांग्रेस रणनीतिक रूपमा तराईमा असफल भएको पाइन्छ । चाहे त्यो बीपी कोइरालाले महेन्द्रनारायण निधिसँग गरेको सम्झौतामा होस् वा पाँच दशकपछि उनको छोराको आचरणमा गरिने शंकामा होस् । देउवा सँग-सँगै पाँच दशक राजनीतिक यात्रामा हिंडेका विमलेन्द्र निधिमा आकलन गरिने देशभक्तिको कमिमा होस् ।

केही सप्ताह पहिले सुजित महतले नयाँ पत्रिका को लागि लिएको अन्तर्वार्तामा पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका उपसभापतिले भारतले सीमित दायरामा रहेर हामीसँग सम्बन्ध राख्नुपर्छ र हाम्रो सबै प्रक्रियामा सम्मिलित हुन नखोजे हुन्छ भनेर स्पष्ट अभिव्यक्ति दिएर राजनीतिक जोखिम उठाए, तर पनि बूढानीलकण्ठले विमलेन्द्र निधिको देशभक्तिमा पटकपटक शंका गर्ने गरेको सुनिन्छ । त्यसो भए देउवा र निधिको यात्रा केवल १३औं अधिवेशनको स्वार्थकेन्द्रित मात्र थियो ? खैर । जवाफको लागि केही समय बाँकी छ, कुर्न सकिन्छ ।

२०४६ सालको राजनीतिक परिवर्तन पश्चात् मधेशमा जहिले पनि नेतात्रयको कुरा हुन्थ्यो तर काठमाडौंले नेता त दुई मात्र देखिरह्यो । तर जब-जब निर्वाचन नजिक आउँथ्यो, फेरि मधेशसँग मौसमी प्रेम देखिन थाल्थ्यो । अब यहाँनेर कांग्रेसले पुनर्विचार गर्न आवश्यक छ । किनकि अब त मधेशका जनताले पहाडमा भन्दा बढी स्मार्ट फोन बोक्छन्, बुझ्छन्, सुन्छन् र उनीहरूसँग पहिले भन्दा धेरै राजनीतिक विकल्पहरू छन् । कांग्रेसले पनि त्यो बुझ्नु पर्‍यो ।

कांग्रेसले मधेशलाई केवल भोटको भकारी नसम्झियोस् । मधेश त सहभागी हुने र सहयात्री हुने जमात हो ।

अर्को कुरा, नेपाली कांग्रेसले मधेशमा जातीय समीकरण अनुसार सन्तुलन गर्न सकेको छैन । जसरी दरबारले सधैं आफ्नै नजिकका पात्रलाई मात्र विश्वास गर्थ्यो, त्यसरी नै कांग्रेसले पनि सधैं आफ्नै दूत पठाउने काम गर्‍यो । नेपालगञ्जमा सुशील कोइराला होस् वा धनुषामा सरोज कोइराला तर त्यही माटोका प्रतिनिधिलाई विश्वास गरेर जग झन् बलियो बनाउने प्रयास नै भएन ।

 पुरानो कांग्रेसमा नयाँ संस्कारको खोजी

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने पश्चात् सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा एक किसिमको पोशाक र समय सम्बन्धी अनुशासन पुनर्जीवित भयो । ‘प्रम देउवा कार्यालय आउनुहुन्छ, तोकिएको पोशाक र समयमा उपस्थित हुनुहुन्छ ।’ यस्तो अभ्यास पूर्व प्रम केपी ओलीको कार्यकालमा हराइसकेको थियो । किनकि उहाँको विशेष कार्य सम्पादन बालुवाटारबाट नै हुन्थ्यो । पार्टी भेला, पार्टी बैठक लगायत वनभोज र जात्रा सबै बालुवाटारमै आयोजना गर्ने अभ्यास तत्कालीन प्रम र नेकपा एमाले नेता ओलीले गरे । तर प्रधानमन्त्री भएपश्चात् एकपटक मात्र नेपाली कांग्रेस पार्टीको पदाधिकारी बैठक बालुवाटारमा आयोजना गर्न लागेकोमा पार्टी भित्र र बाहिरको जनमतले देउवालाई खबरदारी गरे र त्यसपश्चात् दलको कुनै पनि नियमित कार्यक्रम सरकारी निवासमा भएन । तर नेकपा एमालेभित्रको कस्टमाइज लोकतन्त्रमा कसैको खबरदारी गर्ने ल्याकत भएन । कांग्रेसले कम्तीमा त्यो संस्कार राखेको छ कि सुधारको लागि आफ्नै नेतालाई पनि खबरदारी गर्छ । मधेशमा पनि यो संस्कार आवश्यक छ । आन्तरिक प्रतिस्पर्धा आवश्यक छ जसमा विमलेन्द्र निधि लगायतले काम गर्नुपर्नेछ ।

कांग्रेसको आसन्न महाधिवेशनमा हालसम्म आगामी दिनको नेतृत्वको लागि मधेशको अनुहार भनेर विमलेन्द्र निधि बाहेक अरु कोही सुनिएको छैन र मधेशबाट आएका महाधिवेशन प्रतिनिधिहरू पनि ‘अरु को हुन त हाम्रो नेता ?’ भन्नेमा पहिलेको महाधिवेशन भन्दा तुलनात्मक रूपमा अन्योलमा देखिन्छन् । त्यो राम्रो कुरा हैन । एक राष्ट्रिय दल, देशको सबैभन्दा पुरानो राजनीतिक दलका प्रतिनिधिहरूले यदि समुदाय र जातको आधारमा नेता खोज्न थाल्छन् र चयन पनि त्यसरी नै हुन्छ भने त्यो अलि घातक कुरा हो ।

राजनीतिक अभियन्ता र विश्लेषक मुमाराम खनालले ट्वीट गरेका छन्, ‘राज्यको परिवेशलाई लोकतान्त्रिक बनाउने, पार्टीको आन्तरिक लोकतन्त्रलाई प्रवर्धन गर्ने र व्यक्तिको स्वतन्त्रतालाई महत्वपूर्ण ठान्ने नेपाली कांग्रेसको आधारभूत चरित्र नेपालको सन्दर्भ तथा सापेक्षतामा ठूलो महत्व र अर्थपूर्ण छ।’ हेर्नुस् त अपेक्षा कति छ र कति छ विश्वास । एक कम्युनिष्ट विचारधाराका राजनीतिज्ञले पनि यति शालीन राजनीतिक विश्वास राखेका छन् । तर आज उम्मेदवारी दर्ताको तयारी गर्दैगर्दा के यो सबै भाव र विश्वास त्यहाँका अग्रजले स्मरण गर्दै होलान् ? यो कुरा कांग्रेसले बुझ्न आवश्यक छ ।

नेपाली कांग्रेस मधेशदेखि केन्द्रसम्म पद्धति भन्दा पनि व्यक्तिमा केन्द्रित संस्कारबाट ग्रसित छ । प्रक्रिया र पद्धति भन्दा पनि एक व्यक्तिमा सबै कुरा केन्द्रित भएर चल्दै गर्दा त्यस अवसरको मूल्य र पुस्ताले गुमाएको अवसरको मूल्याङ्कन गर्न आवश्यक छ । तरुण दल कहिलेसम्म अपूर्ण रहने ? नेविसंघ कहिलेसम्म तदर्थ चल्ने ? प्रेस युनियनको निर्वाचन कहिलेसम्म सार्ने ? यो सबको जवाफ कसले दिने र जिम्मा कसले लिने ?

यो कांग्रेसको ठूलो कमजोरी हो र यो मामिलामा नेकपा एमाले संगठित देखिन्छ । कैयौंको लागि आज जुन कांग्रेस छ त्यही नै उपयुक्त होला, तर यथार्थमा यो त कांग्रेस नै होइन, कांग्रेसलाई पुनर्जागृत गर्न आवश्यक छ ।

मेरा केही मित्रहरू तराईका नेपालीलाई भेट्दा आफ्नो नेपाली बोलीमा मधेशी टोन ल्याएर बोल्न थाल्छन् तर डडेलधुराका नेपाली भेट्दा डोटेली पारा ल्याउँदैनन् । उनीहरूले त्यस्तो गर्छन् किनकि उनीहरूको लागि त्यो नै सजिलो छ । तर दल त्यसरी चल्दैन, सबैतिर समान हुनुपर्छ । आफ्नो सहजता अनुसारको व्यवहारले हुँदैन । कहिलेकाहीं आफैंप्रति नै कठोर हुनुपर्छ ।

हिजो एक जना केन्द्रीय सदस्यका प्रत्यासी महाधिवेशन प्रतिनिधि भेटें । मलाई देखेपछि आफ्नो छोरा पनि उद्यमी रहेको र नवीनतम् काम गर्ने गरेको सुनाउन थाले । एकछिन पछि कांग्रेसमा आफूले मौका नपाएको र युवालाई मौका दिने नगरेको भने । नेपालको राष्ट्रिय युवा नीतिले १६ देखि ४० वर्ष उमेर समूहकालाई युवा भन्छ तर कांग्रेसी ४५ वर्षसम्म युवा रहन चाहन्छन् । कोही कोही त ६० वर्षसम्म पनि आफूलाई युवा नै ठान्छन् । कांग्रेस आफूले बनाएको सिद्धान्त र व्यवहारमै पनि अनुशासित छैन । त्यो पनि आवश्यक छ । हुन त नेपालको राजनीति नै पुनर्संरचना गर्नुपर्ने देखिन्छ तर देशको जेठो दलको हैसियतले गर्दा नेपाली कांग्रेसले आफूबाट शुरु गर्नुपर्ने देखिन्छ । मधेश र देशको अन्य भागलाई सन्तुलित रूपमा समेट्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?