+
+

कांग्रेसको नयाँ नेतृत्व चुन्न मतदान शुरू

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते ११:२८
मतदान गर्न जाँदै सभापतिका उम्मेदवार शेरबहादुर देउवा ।

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान शुरू भएको छ । बिहान आठ बजेदेखि शुरू हुने भनिए पनि तीन घण्टाभन्दा ढिला मतदान शुरू भएको हो । साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ ।

मतदानका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा व्यवस्था मिलाइएको छ । ती मतदान केन्द्रहरुमा भोट खसाल्न प्रतिनिधिहरु लामबद्ध भएका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले मत मागिरहेका छन् ।

राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।

प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्रांगणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिएको छ ।

महाधिवेशनबाट सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री निर्वाचित हुनेछन् । केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुनेछन् ।

मतदानका लागि ४ हजार ७४३ जना प्रतिनिधिको नामावली सार्वजनिक भएको छ ।

शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका दुई जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले मनोनयन फिर्ता लिएका छन् । प्रदेश २ बाट दुई केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना भने निर्विरोध भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?