
२८ मंसिर, बार्सिलोना । नेपाली जनप्रगतिशील मञ्च स्पेनको अध्यक्षमा विशाल ढुंगाना निर्विरोध निर्वाचित भएका छन्।
मञ्चको आइतबार बार्सिलोनामा सम्पन्न तेस्रो अधिवेशनबाट ढुंगाना सर्वसम्मत अध्यक्ष चुनिएका हुन्म । मञ्चका पूर्वसचिव समेत रहेका ढुंगाना विगत एक दशकदेखि स्पेनमा बस्दै आएका छन्। उनी एनआरएनए स्पेनका पूर्वकोषाध्यक्ष तथा सल्लाहकारसमेत हुन्।
नवनिर्वाचित अध्यक्ष ढुंगानाले मञ्चले गर्दै आएका गतिविधिहरूलाई निरन्तरता दिने बताएका छन् । उनले स्पेनस्थिति संघसंस्थाहरूसँग हातेमालो गर्ने बताउँदै यहाँ रहेका नेपालीहरूको समस्या समाधानमा जोड दिने प्रतिवद्धता व्यक्त गरे। ‘विनापेपर भएका साथीहरूलाई कागाजी प्रक्रियामा जान सहज हुने हुने किसिमका लागि कार्यक्रम ल्याउने सोचेका छौं। हामी छिट्टै यो बारे जानकारी दिनेछौं’ ढुंगानाले भने।
नयाँ निर्वाचित कार्यसमितीको उपाध्यक्षमा अशोक किरण न्यौपाने र राम दाहाल, महासचिवमा सूर्यप्रसाद सापकोटा (धिरज) सचिवमा दुर्गाप्रसाद गैरे, रामु सापकोटा र केशवराज कंडेल र कोषाध्यक्षमा गोबिन्द अधिकारी रहेका छन्।
कार्यसमिति सदस्यहरूमा रीता शर्मा, आईत तामाङ्, टिकामाया गुरुङ, लक्ष्मण तामाङ्, खेम कुमार भण्डारी, दिलिप भण्डारी, सुरेश गिरी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक श्याम प्रसाद खनालद्वारा जारी सूचनामा उल्लेख छ। १९ सदस्यीय कार्यसमिति रहने भएकाले बाँकी ४ सदस्य पछि मनोनयन गरिने मञ्चले जनाएको छ।
भर्चुअल रुपमा सम्पन्न मञ्चको तेस्रो अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले आँफूहरू पार्टी निर्माणको नयाँ अभियानमा जुटेको बताए। नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रहेका शर्माले पूर्व प्रधानमन्त्री केपी ओलीको प्रतिगमनकारी प्रवृत्तिले मुलुकले गति लिन नसकेको आरोप लगाए।
‘नयाँ संविधानलाई कार्यावन्यन गर्ने चरणमा पुगेको थियौं। तर केपी ओलीको प्रतिगमनकारी प्रवृत्तिसँगै त्यो सम्भव भएन। र फेरि हामी आफ्नै पार्टी निर्माणको नयाँ अभियानमा जुटेका छौं,’ अर्थमन्त्री शर्माले भने।
उनले नेपालको राजनीति उतारचढावको बीचबाट अघि बढिरहेको भन्दै पार्टी निर्माणको अभियानमा जुट्न प्रवासमा रहेका नेपालीहरूलाई अनुरोध गरे।
कार्यक्रममा नेकपा माओवादी निकट प्रवास संगठनका प्रतिनिधिहरू,स्पेनस्थिति संघसंस्थाका प्रतिनिधिहरूलगायतको उपस्थिति रहेको थियो। मञ्चका निर्वतमान अध्यक्ष अर्जुन आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव अशोक किरण न्यौपानेले गरेका थिए।
प्रतिक्रिया 4