
२९ मंसिर, ढाका । नेपालले कृषि एवं अन्य उपभोग्य वस्तुको सहज पहुँचका लागि बंगलादेशसँग आग्रह गरेको छ । नेपाल उद्योग परिसंघले नेपाली वस्तुलाई बंगलादेशी बजारमा सहज पहुँच स्थापित गर्न, गैरकर अवरोध हटाउन र राजस्वमा न्यून दर लगाउन बंगलादेशी उच्च अधिकारी समक्ष आग्रह गरेको हो ।
ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बंगलादेशको जनघनत्व अनुसार ठूलो मात्रमा उपभोग्य वस्तुको आवश्यक पर्ने भएकाले नेपालबाट त्यस्ता वस्तुको आयातमा सहजता एवं सुविधा दिन आग्रह गरे । उनले नेपालका कृषि उत्पादनका लागि बंगलादेश राम्रो बजार भएकाले त्यस्ता वस्तुको विना अवरोध निर्यातको सुविधा दिन पनि बंगलादेशी अधिकारीलाई आग्रह गरे ।
कार्यक्रममा नेपालमा बंगलादेशी पर्यटक भित्राउने सम्भाव्य क्षेत्रबारे पनि छलफल भएको छ । अध्यक्ष अग्रवालले नेपालले काठमाडौं बाहिरका दुई शहर पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाले ढाकाबाट सिधा उडान स्थापित गरी बंगलादेशी पर्यटकलाई सुन्दर सहरहरूको पहुँच विस्तार गर्न सकिनेमा जोड दिए ।
नेपाल र बंगलादेशबीच जनस्तरमासम्बन्ध विस्तारका लागि दुई देशबीचको सडक परिवहन सेवामा पनि जोड दिइएको छ । काठमाडौंबाट ढाकासम्म बस सेवा सञ्चालन गरी नागरिकस्तरमा सम्बन्ध विस्तारमा सहजीकरण गर्नुपर्ने विषयमा समेत छलफल भएको छ । कार्यक्रमममा बंगलादेशका वाणिज्य सचिव तपन कान्ति घोषले दुई देशबीचको व्यापार सम्झौता टुंग्याउन आग्रह गरे ।
परिसंघ र डीसीसीआईबीच समझदारीपत्रमा हस्ताक्षर
नेपाल उद्योग परिसंघ र ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीज (डीसीसीआई)बीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा परिसंघका अध्यक्ष अग्रवाल र डीसीसीआईका अध्यक्ष रिजवान रहमानले हस्ताक्षर गरेका छन् ।
समझदारीपत्रमा दुवै संगठनले एक अर्को देशमा लगानीको वातावरणबारे जानकारी दिने, दुई देशका आर्थिक क्रियाकलापका लागि सहजीकरण गर्ने र दुवै देशका लगानी एवं व्यापारसँग सम्बन्धित सूचना आदान–प्रदान गर्ने उल्लेख छ ।
समझदारीपत्रमा हस्ताक्षरसँगै भएको दुई देशका व्यवसायीको छलफलमा बंगलादेशी उद्योगीले नेपालको जलविद्युत विकासमा चासो देखाएका छन् ।
प्रतिक्रिया 4