+
+

बिजुलपुरा–बर्दिवास खण्डमा जग्गाको मुआब्जा निर्धारण

भारत सरकारले निर्माण गर्ने जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत बिजुलपुरा–बर्दिवास खण्डमा जग्गाको मुआब्जा निर्धारण सकिएको छ ।

रासस रासस
२०७८ मंसिर २९ गते २०:३४

२९ मंसिर, काठमाडौं । भारत सरकारले निर्माण गर्ने जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत बिजुलपुरा–बर्दिवास खण्डमा जग्गाको मुआब्जा निर्धारण सकिएको छ ।

भारत सरकारले धनुषा जिल्लाको कुर्थाबाट महोत्तरीको बिजुलपुरासम्म रेलमार्ग निर्माण गरिरहँदा त्योभन्दा अगाडिको खण्डमा पनि निर्माणस्थल खाली गरिएको हो । पहिले बिजुलपुरादेखि बर्दिवास खण्डमा जग्गा प्राप्तिको समस्या रहेको रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले बताए ।

अहिले जग्गाको मूल्य निर्धारण भइसकेको थियो । बर्दिवास स्टेसनको जग्गा प्राप्ति गरिएको उनले बताए । उनले भने, ‘जग्गाको मुआब्जा निर्धारण भएको छ, अब जग्गा छुट्ट्याउनुपर्छ ।’ विभागले जग्गा छुट्ट्याइरहँदा भारतीय पक्षले ट्र्याक बनाउने तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको मुआब्जा निर्धारणसम्बन्धी समितिले जग्गाको मुआब्जा निर्धारण गरेको हो ।

सरकारले भारत सरकारसँग एक दशक पहिले गरेको सम्झौताअनुसार सो रेलमार्ग निर्माण अघि बढेको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म रेलमार्ग निर्माण दुई वर्ष पहिले नै सम्पन्न भएको थियो । सरकारले गत वर्ष नै सो मार्गमा चलाउनका लागि रेल सेट खरिद गरेको थियो ।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्ग बिजुलपुरा हुँदै बर्दिवाससम्म विस्तार हुनेछ । कुर्थाबाट बिजुलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर जयनगर–बिजुलपुरा ५२ किलोमिटर रहेको छ ।

जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो । त्यसको एक÷डेढ वर्ष पछिबाट काम सुरु भएको थियो । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण सुरु भएको थियो । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन स्थानमा निर्माणको काम सुरु हुन सकेको छैन ।

भारत सरकारसँगको सम्झौतानुसार नै विराटनगरबाट बथनाहासम्म निर्माण अघि बढेको भए पनि सम्पन्न भइसकेको छैन । सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रहेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?