+
+

पाँच दिनमा तीन गैंडा मरे

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते ११:१६
गत मंसिर २७ गते भरतपुर–१६ मा मृत फेला परेको गैंडा । तस्वीर : दीपक पोखरेल ।

७ पुस, चितवन । चितवनमा पाँच दिनको अवधिमा तीनवटा वयस्क गैंडा मरेका छन् । तर त्यसको विवरण चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छैन ।

निकुञ्जका अधिकारीले आफ्नो पालामा कम गैंडा मरेको भनेर जस लिन मृत्युको विवरण लुकाउने प्रयत्न गरेको हुनसक्ने कतिपयको अनुमान छ ।

गएको मंसिर २७ गते भरतपुर महानगरपालिका वडा नं. १६ मा एक गैंडा मृत फेला परेको थियो । सिद्धीगणेश सामुदायिक वनबाट नजिकै रहेको विजयनगरको गणेश मन्दिर जाने बाटो छेउको जैघाँस भएको खेतमा मृत अवस्थामा भेटिएको गैंडाको मृत्युको कारण अझै खुल्न सकेको छैन ।

विषालु मानिने जैघाँस खाएर गैंडा मरेको हुनसक्ने निकुञ्जको अनुमान छ । त्यसको दुई दिनपछि फेरि निकुञ्जको कोर क्षेत्रमा दुईवटा गैंडा मरेका छन् ।

यही पुस १ गते नै निकुञ्जको टाइगर टप्स क्षेत्रमा पर्ने भिम्ली भन्ने ठाउँको बगरमा २६/२७ वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको छ । स्रोतका अनुसार त्यसको भोलिपल्ट पनि निकुञ्जको नवलपरासी अमलटारी क्षेत्रको आइल्याण्ड क्षेत्रमा अन्दाजी २४/२५ वर्षको पोथी गैंडा मृत फेला परेको छ ।

निकुञ्जले सार्वजनिक गरेन विवरण

यी दुवै गैंडा मरेको झण्डै एक साता हुँदासमेत चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले गैंडा मरेको जानकारी अहिलेसम्म गराएको छैन । गैंडा मरेको विषयमा पटक-पटक जानकारी लिन खोज्दा चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले ठोस जवाफ दिएनन् । उनले गैंडा मृत भेटिएको बताए पनि त्यसको विवरण ठ्याक्कै नभएको बताए ।

दुवै गैंडा घोलमा भासिएर मरेको निकुञ्ज स्रोतले जनाएको छ । पुस १ र २ गते मरेका दुवै गैंडाको खाग र खुर भने सुरक्षित छन् । मंसिर २७ गते मरेको गैंडाको पनि खाग र खुर सुरक्षित छ । निकुञ्ज क्षेत्रभन्दा बाहिर वनको क्षेत्रमा गैंडा मरेकाले डिभिजन वन कार्यालयले नै घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले गैंडा मरेको जानकारी निकुञ्ज विभागमा गराइएको बताए । ‘हामीले बेलाबेलामा मात्रै गैंडा मरेको जानकारी सार्वजनिक गर्छौं, विभागमा रिपोर्टिङ भैरहेकै छ, बाहिर भने सार्वजनिक नगरिएको हो, आवश्यकता अनुसार हुन्छ’ प्रमुख संरक्षण अधिकृत आचार्यले भने, ‘हरेक केसमा जानकारी नगराइएको हो ।’

माडीमा असोज ११ गते भाला रोपेर मारिएको गैंडा । तस्वीरः निकुञ्ज

‘विवरण सार्वजनिक नगरिनु गलत’

निकुञ्जले यसअघि गैंडा वा अन्य संरक्षित वन्यजन्तु मर्दा वा मारिदा त्यसलाई सार्वजनिक गर्ने गरेको थियो । चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत कमलजंग कुँवरले गैंडा मरेको विवरण सार्वजनिक नगरिनु गलत भएको बताए । ‘दुर्लभ एक सिङे गैंडाका राष्ट्रिय अन्तर्राष्ट्रिय चासोको विषय हुन्छ, निकुञ्ज भित्र गैंडा मर्ने तर थाहा नदिने भन्ने हुँदैन, निकुञ्जले मात्रै गैंडाको संरक्षण गर्न सक्दैन, आम समुदायको भूमिका यसमा रहन्छ’ कुँवरले भने, ‘गैंडा मरेको कुरा लुकाएर संरक्षण गर्छु भनेर सोच्नु गलत हो ।’ गैंडा संसारकै आइकन जनावर भएकाले यसले बच्चा पाएको, मरेको, संख्यामा सबैको चासो हुने पूर्वसंरक्षण अधिकृत कुँवरले बताए ।

निकुञ्जका एक पूर्वसंरक्षण अधिकृतले गैंडा मरेको तथ्यांक सार्वजनिक नगरेर आफ्नो पालामा कम गैंडा मरेको भनेर जस लिन यस्तो प्रयत्न गरिएको हुनसक्ने बताउँछन् ।

चालु आर्थिक वर्षमा मात्रै निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा १७ गैंडा मृत फेला परिसकेका छन् । गैंडाको सुरक्षामा निकुञ्ज प्रशासनको ध्यान कम पुगेको हो कि भन्ने देखिन थालेको छ । यही वर्षको असोज ११ गते निकुञ्जको माडी रिउ क्षेत्रमा सुरक्षा पोष्टको ५ सय मिटर क्षेत्रमा नै एक भाले गैंडा भाला रोपेर मारेको अवस्थामा फेला परेको थियो । सो घटनाको अनुसन्धान र कारण पत्ता लगाउन पनि निकुञ्ज प्रशासनले ध्यान दिएको पाइएको छैन । निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले आफू आउनुभन्दा अगाडिको घटना भएको र त्यसको ठोस अवस्था थाहा नभएको बताए ।

एक सिंगे गैंडाको सबैभन्दा ठूलो बासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष गरिएको गैैंडा गणनामा गैंडाको संख्या ६९४ रहेको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?