+
+

प्रियंका-दीपिकाको ‘हेल्लो जिन्दगी’ चैत ११ मा रिलिज हुने, फस्टलुक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १७:०५

८ पुस, काठमाडौं । कोरोना संक्रमण घटेर सिनेमा हल चलायमान हुन थालेपछि एकपछि अर्को नेपाली चलचित्रले प्रदर्शन मिति घोषणा गरिरहेका छन् । एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको चलचित्र ‘हेल्लो जिन्दगी’को बिहीबार फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।

यो चलचित्र चैत ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने निर्देशक बोहराले जानकारी दिए । चलचित्रमा विक्रम डी जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, विल्सनविक्रम राई, विक्रान्त बस्नेत लगायतको शीर्ष भूमिका छ । यसैगरी एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्त लगायतको पनि ‘हेल्लो जिन्दगी’मा अभिनय छ ।

वीरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रलाई हिराल जोशी र विक्रम डी जोशीले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा सिर्जना जोशी महर्जन रहेकी छन् । सूर्य र विक्रमको कथा रहेको चलचित्रको पटकथा र संवादमा निर्देशक बोहरालाई अभिमन्यू निरवीले साथ दिएका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन छ । सत्य घटनामा आधारित सामाजिक कथा समेटिएको ‘हेल्लो जिन्दगी’को बेलायत र नेपालमा छायांकन गरिएको हो ।

निर्देशक बोहराकै शब्द रहेको चलचित्रका गीतमा राजनराज सिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल, प्रताप दास, प्रविशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालले यस चलचित्रका गीतमा स्वर दिएका छन् ।

बेलायतमा बस्दै आएका निर्माता तथा कलाकार विक्रम डी जोशीले ‘हेल्लो जिन्दगी’ले नेपाली चलचित्रको श्रीवृद्धिमा नौलो आयाम थप्ने विश्वास लिएको बताए ।

लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय निर्देशक बोहराले यसअघि ‘कान्छा’, ‘अग्नि परीक्षा’, ‘ठूली’, ‘भैरे’, ‘श्री’ जस्ता चलचित्र निर्देशन गरेका छन् । ‘श्री’ बिहीबार मात्रै युट्युबमा सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?